अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि ३ चिकित्सकको नाम मन्त्रिपरिषद्मा सिफारिस – Nepal Press

अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि ३ चिकित्सकको नाम मन्त्रिपरिषद्मा सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव अर्थात १२औं तहमा बढुवाका लागि ३ जना चिकित्सकको नाम मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको २ पदका लागि बढुवा समितिले सिफारिस गरेको ३ जनाको नाम मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

मन्त्रालयको १२औँ तहको चार अतिरिक्त सचिवको दरबन्दी रहेकोमा २ पद रिक्त भएपछि पुष ७ गते बढुवा समितिको बैठकले रिक्त पदपूर्तिका लागि मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयले प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकार विघटन भएपछि उक्त प्रस्ताव मन्त्रालयमा नै रोकिएको थियो ।

पुस ११ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि बढुवा समितिले विभागिय मन्त्री नतोकिएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डबाट पुष २३ गते मन्त्रीस्तरीय निर्णय स्वीकृत गराएपछि उक्त प्रस्ताव स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिष्दमा पठाएको हो । बढुवा समितिले पहिलो नम्बरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.श्रीकृष्ण श्रेष्ठ, दोस्रोमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.विकास देवकोटा र तेस्रोमा प्रदेश अस्पताल भद्रपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.टंक बराकोटीको नाम सिफारिस गरेको छ ।

सम्भव त अब सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले ३ जनामध्येबाट २ जनालाई अतिरिक्त स्वास्थ्य सचिव अर्थात १२औं तहमा बढुवा गर्नेछ । २०७८ मंसिर २ गते १२औं तहमा बढुवा भएका डा.श्यामसुन्दर यादव र डा.गुणराज लोहनीको अनिवार्य अवकास भएपछि २ वटा दरबन्दी रिक्त भएको हो । डा.यादवले गत भदौ १ गते र लोहनीले गत कार्तिक २ गते अवकास पाएका थिए ।

हाल डा.संगिता मिश्रा र डा.दीपेन्द्ररमण सिंह अतिरिक्त स्वास्थ्य सचिव अर्थात १२औं तहमा मन्त्रालयमा कार्यरत छन् । १२औं तहमा स्वास्थ्य मन्त्रालयमा २, स्वास्थ्य सेवा विभागको महानिर्देशक १ कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृत एक जना रहने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर