इसा अवार्डलाई नेपाल बहराइन कूटनीतिको ‘सफ्ट पावर’ किन नबनाउने ? – Nepal Press
टिप्पणी

इसा अवार्डलाई नेपाल बहराइन कूटनीतिको ‘सफ्ट पावर’ किन नबनाउने ?

नेपालका पूर्वकूटनीतिज्ञ प्राध्यापक डाक्टर जयराज आचार्य नेपालको ‘सफ्ट पावर’ भाषा, संस्कृति, मानवीय सम्पदा भएको मान्छन् । केही दिन अगाडि आफ्नै निवासमा नेपाल प्रेसकर्मीसँगको कुराकानीमा आचार्यले यही तर्क दोहोर्‍याए । आचार्यले भने जस्तै नेपाल बहराइन कूटनीतिका लागि नेपालको ‘सफ्ट पावर’ इसा अवार्ड हुनसक्छ ।

नेपालका विश्व प्रतिष्ठित नेत्र चिकित्सक डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाएसँगै बहराइनमा नेपाल चित्रको व्याख्या फेरिएको छ । नेपाल बहराइनको श्रम बजारमा औसत ज्यामी पठाउने देशमात्रै होइन । नेपाल एक दक्ष चिकित्सकहरु भएको देश भन्ने सन्देश इसा अवार्डले दिएको छ । इसा बहराइनका राजा हमाद बिन इसा खालिफाबाटै स्थापना भएको अवार्ड भएकाले यसको विजेता हुनुको शक्ति र सम्मान वेग्लै छ । अवार्ड रेसमा विश्व स्वास्थ्य संगठनसमेत भएकाले झनै यसको गरिमा बढाएको छ ।

राजतन्त्रात्मक मुलुकमा राजाले स्थापना गरेको अवार्ड नेपाली नागरिकले पाउनु भनेको दरबारभित्र नेपालको सानदार पहुँच पुग्ने एक सुन्दर अवसर पनि हो । कूटनीतिमा यस्ता कुराले धेरै अर्थ राख्छ । नेपालका लागि अमेरिकी राजदूत हुँदा भेषबहादुर थापाले राष्ट्रपति रोनाल्ड रेगनकी निजी सहयोगी भेलन भन डामले आफूलाई ‘नेपालको हिमालय चढ्ने इच्छा’ भएको मिडियामा भनेकै आधारमा थापा दम्पतीले उनीसँग निजी सम्बन्ध बनाए । त्यो सम्बन्ध फैलिएर पछि राजा वीरेन्द्रको राजकीय भ्रमणको तहसम्म पुगेको थियो । नेपालको कूटनीतिक अभ्यास पुस्तकमा थापाले यो प्रसंग भनेका छन् ।

राजतन्त्रात्मक मुलुकमा राजाले स्थापना गरेको अवार्ड नेपाली नागरिकले पाउनु भनेको दरबारभित्र नेपालको सानदार पहुँच पुग्ने एक सुन्दर अवसर पनि हो । कूटनीतिमा यस्ता कुराले धेरै अर्थ राख्छ ।

यस्तै युनिसेफ मुख्यालयका उच्च अधिकारीको हैसियतमा थाइल्याण्ड भ्रमणमा गएका वेला कुलचन्द्र गौतमले थाइल्याण्डका राजा भुमिबोलसँग नेपाली भएकैले अतिरिक्त समय पाएका थिए । उनले अतिरिक्त समय पाउने कारण थाई राजाले गरेको मिथिला क्षेत्रको अध्ययन, अनुसन्धान र लेखन थियो । राजा भुमिबोलले नेपालको बारेमा लेखेको पुस्तकको नाम थियो- ‘द स्टोरी अफ महाजनक’ । सुरुमा थाई भाषा र पछि सन् १९९९ मा अंग्रेजीमा प्रकाशन भएको थियो । त्यही पुस्तक कुलचन्द्र गौतमले पढेर राजा भेटेको आफ्नो आत्मकथामा उल्लेख गरेका छन् ।

भेषबहादुर थापाले रोनाल्ड रेगनसम्म पुर्‍याएको बलियो पहुँचदेखि कुलचन्द्र गौतमले नेपाली भएकैले पाएको अतिरिक्त समयको समान कारण नेपालको ‘सफ्ट पावर’ हो ।

यस्तै सफ्ट पावर अब बहराइनसँग थपिएको छ । त्यसको भरपर्दो र व्यवसायिक प्रयोग गर्न नेपाली कूटनीतिज्ञ सक्रिय हुनुपर्छ । बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेका अनुसार बहराइनमा २० हजार हाराहारी नेपालीहरु कार्यरत छन् । अरबी टापु देश बहराइनमा नेपाली दूतावास सन् २०१३ बाटै सञ्चालनमा आएको हो । नेपालले बहराइनमा दूतावास खोले पनि बहराइनको दूतावास नेपालमा खुलेको छैन । दिल्लीबाट बहराइनको दूतावासले नेपाल हेर्ने गर्छ ।

बहराइनले सन् १९७१ मा बेलायतबाट स्वतन्त्रता पाएको हो । त्यसको ६ वर्षलगत्तै सन् १९७७ जनवरी १३ मा नेपाल बहराइन औपचारिक कूटनीतिक सम्बन्ध बनेको हो । कूटनीतिक सम्बन्ध बनेसँगै नेपाल बहराइन कनेक्टिभिटीका मुख्य माध्यम श्रम, व्यापार र पारवहन बने । नेपाल र बहराइनबीच श्रम सम्झौता सन् २००८ अप्रिल २९ मा टुंगो लागेको थियो । सोही दिन नेपाल र बहराइनले हवाई सेवा सञ्चालनको अवधारणापत्रमा हस्ताक्षर पनि गरेका थिए । बहराइनको गल्फ एयरले सन् २००८ देखि सन् २०१३ सम्म उडान गरेको थियो । हप्ताको चौध उडान हुने गल्फ एयरको सेवा व्यवसायिक कारणले २०१३ मार्च २७ बाट बन्द हुन पुगेको थियो ।

श्रमिक निर्यातमा अग्रणी भए पनि नेपाल दोहोरो व्यापारमा बहराइनभन्दा पछि छ । बहराइनस्थित नेपाली दूतावासले सार्वजनिक गरेको सन् २०१३ को तथ्यांकअनुसार नेपालबाट बहराइनमा निर्यात १० लाख ८० हजार ७७६ रुपैयाँ भएकोमा सोही अवधिको आयात भने ७ करोड ५ लाख ७३ हजार ५८५ रुपैयाँ थियो । यसले नेपाल बहराइनसँग पनि खराब व्यापार घाटामा रहेको देखाउँछ ।

एक दशक अगाडि बन्द भएको गल्फ एयरलाई पुनः सञ्चालन गर्न वा नयाँ उडान नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा गर्न सरकारले कदम अगाडि लान सक्ने सम्भावना छ । नेपालका २० हजार हाराहारी श्रमिकलाई अझ स्तरीय सामाजिक सुरक्षा र उच्च दक्ष कामदारहरुलाई खास ग्राह्यता दिलाउन सरकारले कूटनीतिक पहल गर्नसक्छ ।

‘सफ्ट पावर’ सदुपयोगः दोहोरो दूतावास, सीधा उडानदेखि श्रम तथा व्यापारसम्म

नेपालले बहराइनसँगको सफ्ट पावरलाई विभिन्न मोर्चामा सदुपयोग गर्नसक्छ । अहिले नेपालको मात्रै दूतावास बहराइनमा छ । बहराइनको पनि नेपालमा राख्न पहल गरेर दोहोरो दूतावास सञ्चालनमा ल्याउन पहल गर्न सकिन्छ । एक दशक अगाडि बन्द भएको गल्फ एयरलाई पुनः सञ्चालन गर्न वा नयाँ उडान नेपालका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा गर्न सरकारले कदम अगाडि लान सक्ने सम्भावना छ । नेपालका २० हजार हाराहारी श्रमिकलाई अझ स्तरीय सामाजिक सुरक्षा र उच्च दक्ष कामदारहरुलाई खास ग्राह्यता दिलाउन सरकारले कूटनीतिक पहल गर्नसक्छ ।

यस्तै व्यापार घाटालाई सन्तुलनमा ल्याउने पहलदेखि बहराइनको लगानी र पर्यटकहरुसम्म नेपाल तान्न सरकारले कदम चाल्नसक्छ । इसा अवार्ड बहराइनको राजदरबारको बे्रनचाइल्ड भएकाले त्यो सेतुलाई समाएर नेपालले आफ्नो हितानुकूल कूटनीतिक ‘स्टेटक्र्याप्ट’ बनाउन सक्ने बाटो अवार्डसँगै थप अनुकूल भएको छ ।

फोब्र्स को मिडल इस्ट संस्करणको एक सामग्रीअनुसार बहराइन अरबी दुनियाँको चौथो ठूलो अत्यधिक जीडीपी पर क्यापिटा भएको देश हो । जुन साउदी अरेयिबाभन्दा धेरै हो । कतार, यूएई र कुवेतमात्रै बहराइनभन्दा अगाडि भएको फोब्र्सको सामग्रीले उल्लेख गरेको छ ।

यस्तै सन् २०२१ को एक अध्ययनले बहराइन गल्फ क्षेत्रको सबैभन्दा धेरै बस्न लायक देश भएको देखाएको छ । ‘इन्टरनेसन्स् एक्स्प्याट इन्साइडर २०२१ सर्वे’ले यस्तो देखाएको हो । अरबको बलियो अर्थतन्त्रदेखि विदेशीबाट ज्यादै रुचाएको दुवै कोण हेर्दा अरब क्षेत्रमा नेपालले ध्यान दिनुपर्ने क्षेत्र बहराइन भएको देखाउँछ । त्यसतर्फ अगाडि बढ्नलाई इसा अवार्डले जुराएको ‘सफ्ट पावर’लाई शतप्रतिशत सदुपयोग गर्न नेपाली कूटनीतिक वृत्त सबै सामर्थ्यसहित दत्तचित्त भएर लाग्न आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *