जब संगीतकारले भनिदिन्थे, ‘नेपालमा गजल चल्दैन !’ – Nepal Press

जब संगीतकारले भनिदिन्थे, ‘नेपालमा गजल चल्दैन !’

काठमाडौं ।
के लत बस्यो मलाई कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ

गएको पुस २८ गते सार्वजनिक भएको यस गजलको रफ्तार हेर्दा युट्युबमा एक मिलियन भ्युजको नजिक देखिन्छ । गजलले पाएको प्रसिद्धी र चर्चालाई हेर्दा एकाध दिनमै यसले उक्त आँकडा छुने नै छ ।

हरिवंश आचार्य, मनोज गजुरेलदेखि ठूला कलाकारसम्मले टिकटक बनाएको यस गजललाई धेरै दर्शक/स्रोताले ‘वाह’ भनिरहेका छन् । नभनुन् पनि कसरी ! ‘गीत सुन्ने जमाना गइसक्यो’ भनेर चटपटे शब्द र संगीतमा रमाइरहेका संगीतकर्मीबीचमा संगीतको साख जोगाउन यो गजल आइपुगेको यथार्थ हो ।

टिकटकतिर भाइरल भएका केही मोडल र रियालिटी शोमार्फत् थोरबहुत दर्शकमा पुगेका गायक/गायिकाका स्वर ! पछिल्लो समय नेपाली गीत संगीतको दुनियाँ यत्तिमै खुम्चिएको संगीतका पारखीहरुले नै खुलेआम भन्ने गरेको जगजाहेर नै छ । यही परिदृश्यमा आइपुगेका दुई पात्र हुन्, तिलकसिंह पेली र डा. प्रदीपकुमार मैनाली !

यी दुई स्रष्टाले संगीतको नशा छुटिसकेका स्रोतालाई पुनः ब्युँताइदिएका छन् । मधुर शब्द, संगीत संयोजन र स्वरलाई बिर्सिसकेका स्रोताहरु पुनः ब्युँझिएका छन् । त्यसैको परिणति हो, करिब तीन दिनको अन्तरालमा पेला र मैनालीको ‘लत लाग्यो’ले २५ हजार भ्युजबाट एक मिलियन नजिकको भ्युअरर्स पाउनु । त्यसैको नतिजा हो, हिजोसम्म कसैले खोजीनीति नगरेका पेला र मैनालीलाई मूलधारका मिडियाले खोजीखोजी फिचर लेख्नु, अन्तर्वार्ता छाप्नु ।

गजलकार मैनाली सुनाउँछन्, ‘टिकटक र युट्युबमा गीतले जति भ्युज बटुलेको छ, त्यो भ्युज होइन, हाम्रो सृजनाले स्रोताको हृदयमा गरेको कोमल स्पर्श हो ।’

साहित्यप्रतिको गहिरो अनुराग मैनालीमा बाल्यकालदेखि नै थियो । त्यसमा पनि कविताका पंक्तिहरुमा विशेष गरेर हराउने गर्थे । आठ कक्षामा पढ्दाताका नै उनले एक कविता प्रतियोगिता जितेर पुरस्कार आफ्नो पोल्टामा पारेका थिए । तथापि औपचारिक अध्ययनले भने मैनालीलाई अर्थशास्त्री बनायो । अर्थशास्त्रमै उनले विद्यावारिधि गरे । पेशाको हिसाबले मैनाली ‘फ्याक्ट, फिगर एण्ड रिजल्ट’मा बढी घोत्लिन्छन् । सृजनाको हिसाबले उनी विम्ब, प्रतीक, लय र मिठासमा झुम्मिन्छन् ।

कवितामार्फत् साहित्य अनुरागी भएका मैनाली विस्तारै मुक्तक र गजलसँग बढी नजिक हुन थाले । सँगै उनले यी विधामार्फत् आफूभित्र गुम्सिएका कुराहरुलाई बाहिर ल्याउन थाले । मनमा उकुसमुकुस भएर अल्झिएका कैयौं कुरा हुन्छन्, त्यसलाई अभिव्यक्त गर्न मैनालीले गजल, मुक्तक र कविताको सहारा लिए ।

मैनाली थप्छन्, ‘मान्छेभित्र कतिथोक हुन्छन्, जसलाई सहजै अभिव्यक्त गर्न सकिँदैन । ती नसकिने कुराहरु मनभित्रै रहिरह्यो भने मान्छेले आफूलाई शान्त राखिरहन सक्दैन । त्यसैले आफूलाई शान्त र हल्का बनाउने माध्यमको रुपमा म गजल, कविता, मुक्तकलाई लिन्छु ।’

लेखनको क्रममा मैनालीलाई लाग्छ, हरेक सृजनाको आ-आफ्नै भाव हुन्छ, ओज हुन्छ । सृजना जीवन्त हुन उक्त सृजनाको शक्ति र भाव बुझिदिने स्रोता भए पुग्छ । र त मैनाली भन्छन्, ‘हजारौंको माझमा पस्कँदैमा सृजना जीवन्त हुन्छ भन्ने छैन ।’

पेला र मैनालीले आफ्नो सृजनालाई पस्कन युट्युब रोजे । तडकभडक गरेनन् । मिडिया बोलाएर प्रचारप्रसार गरेनन् । कुनै अमूक महँगा मोडलहरु खोजेर म्युजिक भिडियो बनाएनन् । स्टुडियोमा लिपसिंकमात्रै गरे पेलाले । बरु ‘लत लाग्यो’ गजल सुमधुर बन्नुमा ज-जसको योगदान थियो, तिनीहरुलाई स्टुडियोमै फिचरिङ गरियो । त्यो पनि मोबाइलबाट खिचेका थिए ।

‘जसको एकै कारण थियो, हाम्रो गजललाई गजलकै रुपमा स्रोताले ग्रहण गरिदिऊन्’, मैनाली भन्छन् । तीन वर्ष अगाडि नै मैनालीले यो गजललाई पूर्णता दिएका थिए । गएको मोती जयन्तीको अवसरमा नाचघरमा सीमित मान्छेबीच गायक कमल विष्टको स्वरमा गाइएको पनि थियो ।

त्यसवेला जतिले सुने, सबैले राम्रो प्रतिक्रिया दिएका थिए । प्रतिक्रियासँगै रेकर्ड नै गराउन सुझाव पनि दिएका थिए । यसपछि मात्रै मैनाली यो गजल रेकर्ड गराउन कन्भिन्स्ड भए ।

मैनालीलाई जहिल्यै लाग्थ्यो, नेपाली गजललाई न्याय दिने साधक छैन । भ्युजको खेती गरेर डलरको पछि लाग्नेहरु छेउछाउ त मैनालीलाई रहनै थिएन । फाट्टफुट्ट गजलहरु आइरहे पनि दोहोरो अर्थ लाग्ने शब्दहरुबाट आजित थिए । मैनालीलाई त जहिल्यै लाग्थ्यो, ‘हृदयबाट गजल सुन्ने स्रोता कमाउन पाए पुग्छ ।’

मैनाली सुनाउँछन्, ‘मैले गजल त लेखें । तर, यो गजललाई न्याय दिन सक्ने र भाव बुझ्न सक्ने मान्छेको कमी महसुस गरेको थिएँ । झनै धेरै संगीतकारले त यो गजल चल्दैन पनि भनिदिए । त्यसले पनि एक खालको निराशा ममा थप्यो । तर, तिलकसिंह पेलाले भने न्याय गर्न सक्छन् भनेर मेरो ब्रह्मले सधैं भनिरहन्थ्यो ।’

करिब दुई वर्षअघि मैनालीले युट्युबमा पेलालाई सुनेका थिए । त्यतिवेलै पेलाको प्रशंसक बनेका थिए उनी । पेलाको गायकीबाट कायल भएका मैनालीले साहित्यकार रवि प्रान्जलमार्फत् पेलाको खोजतलास गरे, भेटघाट गरे ।

भेटघाट बाक्लियो । मैनाली पेलालाई गजल सुनाउँथे । पेला संगीतबद्ध गरेर मैनालीलाई सुनाउँथे । तर, गजल गाइहाल्ने मुडमा पेला थिएनन् । मैनाली भन्छन्, ‘अस्वस्थ्य प्रतिस्पर्धाले भरिएको यो परिप्रेक्ष्यमा म गाउने काम गर्दिनँ भन्नुहुन्थ्यो । मैले पटकपटक अनुरोध गर्दा पनि उहाँले विद्यार्थीले गाउँछन् भनेर पन्छिनु भएको थियो । यद्यपि, मैले उहाँबाहेक अरुलाई यो गजल वाचन नगराउने भनेर अड्डी कसेपछि उहाँले नाइँ भन्न सक्नुभएन ।’

गजलकार मैनालीका दुई गजलसंग्रह प्रकाशित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *