कोरस डान्सर ढल्दा ‘प्रसाद २’ टीमले बेवास्ता गरेको आरोप, यसो भन्छन् विपीन कार्की – Nepal Press

कोरस डान्सर ढल्दा ‘प्रसाद २’ टीमले बेवास्ता गरेको आरोप, यसो भन्छन् विपीन कार्की

काठमाडौं । पोखराकी सामाजिक कार्यकर्ता तथा शिक्षिका गिभिना मगरले आज सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै चलचित्र ‘प्रसाद २’ को युनिटमाथि गम्भीर आरोप लगाएकी छन् । सो चलचित्रको सुटिङका दौरान बेहोस भएर लडेकी एक कोरस डान्सरको नाजुक स्थिति हुँदा पनि टीमका कसैले सहयोग नगरेको उनको भनाइ छ ।

‘प्रसाद २’ का कलाकारहरु केकी अधिकारी, विपीन कार्की, अर्पण थापा र निर्देशक-निर्माताको रवैयामाथि प्रश्न उठाउँदै मगरले सो भिडियो पोष्ट गरेकी हुन् । उनका अनुसार ‘प्रसाद २’ को टीमको लापरबाहीका कारण कोरसमा नाच्ने सपना नाम गरेकी एक ब्याक डान्सर अहिले गण्डकी अस्पतालमा भर्ना भएकी छन् । समयमा अस्पताल नलगिएका कारण उनको एक खुट्टा र एक हात नचल्ने भएको उनको दाबी छ ।

टीमको एक सदस्यलाई आपत् पर्दा मद्दत गर्न नसकेको भन्दै उनले चलचित्रको सम्पूर्ण टीममाथि नै औंला उठाएकी छन् ।
‘छोरी मान्छे भएर छोरी मान्छेको मर्म र समस्या नबुझेको देख्दा दुःख लागेको छ’, उनले अभिनेत्री केकी अधिकारीको नामै लिएर भनेकी छन् ।

भिडिओ

@givina18Sapana bahini lai gareko bewasta , icu ma varna 🥲 manabta harayeko manxeharuko vid , sahayog jutaudai 🙏🏼

♬ original sound – Givina18

उनको सो भिडियोमा आएका अधिकतम कमेन्टहरुमा केकीको आलोचना गरिएको छ । कतिपयले ‘प्रसाद २’ नै बहिष्कार गर्नुपर्ने कुरा उठाइरहेका छन् ।

गिभिनाको सो भिडियोमा कोरस डान्सरलाई भिडियो छायाँकनको दौरान खाना समय नदिएको दाबी गरिएको छ ।

उनले भनेकी छन्, ‘त्यो दिन हामीलाई खाना समयमा भएन । कति भोक लाग्यो भन्दा पनि उहाँहरुले वास्ता गर्नुभएन । बिहानको खाजापछि एकैचोटि ३ बजे चिया बिस्कुट दिनुभयो । त्यति खाएर हामी दिनभरि नाच्यौं । बिहानको खाना पनि बेलुका ५ बजे दिनुभयो । हामीलाई रेस्ट पनि भएन ।’

गिभिनाले लगाएको आरोपबारे हामीले चलचित्रका निर्देशक–निर्मातासँग कुराकानी गर्न खोज्यौं । तर, उनीहरुको फोन रिसिभ भएन । अभिनेत्री केकी अधिकारीको पनि फोन रिसिभ नभएपछि हामीले अभिनेता विपीन कार्कीसँग सम्पर्क गर्‍यौं । उनले गिभिनाको आरोप अस्वीकार गरेका छन् ।

यस्तो छ विपीनको भनाइः

यो ४-५ दिन अगाडि ल्वाङ गाउँमा भएको घटना हो । उहाँ सेटमा लड्नुभएको होइन । त्यो दिन हाम्रो चलचित्र छायाँकनको अन्तिम दिन थियो । अन्तिम दिन प्रायः जता पनि बस्ने, खाने अनि रमाइलो गर्ने माहोल हुन्छ । साँझमा उहाँहरु पनि सबै काम सकिएपछि त्यसरी नै बसेर रमाइलो नाचगान गर्दै हुनुहुन्थ्यो ।

उहाँ नाचगान गर्दागर्दै ढल्नुभएको हो । मैले प्रत्यक्ष रुपमा उहाँ ढलेको देखेको पनि हैन । यो घटना घट्दा म त्यहाँ उपस्थित नै थिइनँ । मेरो पर्सनल काम भएकाले गर्दा म सुट सकिनेबित्तिकै त्यहाँबाट निस्किएँ । घटना घटेको भोलिपल्ट बिहानैपख मलाई खबर आएको थियो । मैले बुझेसम्म उहाँ ढलेपछि हाम्रो प्रोडक्सन टीमले नै उहाँलाई अस्पताल पुर्‍याउनुभएको हो । उहाँलाई गोरमुख भन्ने ठाउँको अस्पताल लगेर स्लाइन चढाएपछि उहाँ अलि निको हुनुभयो ।

खासमा के भएको हो भन्ने कुरा त्यहाँ पत्ता नलागेपछि उहाँहरुले त्यो बहिनीलाई गण्डकी अस्पताल लैजान सुझाव दिनुभएको थियो । त्यो समयसम्म पनि हाम्रो प्रोडक्सन टीम त्यहीँ हुनुहुन्थ्यो । त्यसपछि के भयो भन्नेबारे म अनभिज्ञ छु । एक्कासि यस्तो-उस्तो, केही गरेन, मानवता छैन भन्ने कुराहरु आयो । म आफैं चकित छु । यो सरासर फेक हो ।

उहाँ ढलेपछि अरु कोरसका साथीहरुले उहाँलाई चिसो पानीले नुहाइदिनुभएछ । भोलिपल्ट के भएको हो भन्दा ‘खाना ढिलो भएर हो’ भन्नुहुन्थ्यो । सायद यो घटना घट्दा सुर्दशन थापा दाइ पनि त्यहाँ हुनुहुन्थ्यो । किनकि यो गीतको सुट भएको वेलाको कुरा हो । गीतको सुटमा प्रायः दाइ बस्नुहुन्न । तर, घटना घटिसकेपछि भने हामी सबैजना एकसाथ बसेर यसबारे बुझेका चाहिँ थियौं ।

उहाँ हाम्रो कोरसको बहिनी हुनुहुन्थ्यो । पोखराबाट उहाँहरुलाई बोलाइएको थियो । डान्सर भाइबहिनीलाई बोलाउँदा हाम्रो गुरुहरुले बोलाउनुहुन्छ । त्यसैले हाम्रो यसतर्फ त्यति ध्यान नै जाँदैन । त्यहीमाथि हामी विभिन्न ठाउँमा पुगेर सुट गरिराख्ने मान्छे, ठाउँअनुसार सयौं मान्छे भेट्नुपर्छ । कोरसमा झन् कति हुन्छन् । साँच्चै भन्ने हो भने मलाई अहिले पनि राम्ररी त्यो बहिनीको अनुहार याद छैन । यो खबर सुनेपछि मैले आफैँ को रहेछ भनेर खोजेर एउटा तस्विर हेरेको थिएँ । मलाई उहाँको नाम पनि थाहा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर