कर्णालीका हिमाली जिल्लामा हिमपात (तस्बिरहरू)


सुर्खेत । कर्णालीका हिमाली जिल्लाहरूमा हिमपात सुरू भएको छ । हुम्लामा यो वर्षकै पहिलो पटक हिमपात भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा करिब ५ इन्चजति हिउँ जमेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् ।
परियारका अनुसार सिमकोटको अधिकतम तापक्रम माइनस ३ र न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस छ । अहिले वर्षासँगै हिमपात भइरहेको छ ।
त्यहाँका स्थानीयहरूले दैनिकी कामलाई थाती राखेर घरभित्र सुरक्षित भएर बसेको उनले बताइन् । केही व्यक्तिहरू भने हिउँमा रमाइरहेका छन् ।
हुम्ला सिमिकोट, नाम्खा, खार्पुनाथ, चंखेली गाउँपालिमा निरन्तर हिमपात भइरहेको छ । सिमकोटमा ६ इन्च, नाम्खा गाउँपालिकाको यारिलेकमा १ फिट हिउँ परेको छ भने खार्पुनाथ गाउँपालिको याङ्चुमा ६ इन्च हिउँ परेको छ । त्यस्तै, चंखेली गाउँपालिको मिमीमा सामान्य हिमपात भएको छ । शर्केगाड, ताजाकोट, अदाचुली गाउँपालिमा हल्का वर्षा भैरहेको छ ।
यस्तै, मुगु, जुम्ला र कालिकोटको चुलिमालिका पनि हिमपात भएको स्थानीयले बताएका छन् ।