उपसभामुख निर्वाचनका लागि आज मनोनयन


काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ ।
संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
मतदान भोलि (शनिबार) दिउँसो १ बजेबाट सुरू हुने प्रतिनिधिसभा बैठकमा तय गरिएको छ ।
सत्तागठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको छ । रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेले आज ९ बजे संसदीय दलको बैठक बस्ने र पार्टीको उपसभामुख उम्मेदवारबारे निर्णय गर्ने जानकारी दिएका छन् ।
रास्वपाबाट उपसभामुख उम्मेदवारमा सोविता गौतमको चर्चा छ ।
डा. चन्दा कार्की, सुमना श्रेष्ठ, इन्दिरा रानामगरलगायत आकांक्षी देखिएपनि गौतम प्रत्यक्ष निर्वाचित भएकाले उनको सम्भावना बढी भएको बताइएको छ ।
सभामुखमा भने एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।