पार्टी कार्यकर्तालाई लिङदेनले भने: मन्त्रालयभित्र भीड नलाग्नुस्, सरुवा-बढुवाको चिट नबोक्नुस् – Nepal Press

पार्टी कार्यकर्तालाई लिङदेनले भने: मन्त्रालयभित्र भीड नलाग्नुस्, सरुवा-बढुवाको चिट नबोक्नुस्

‘भ्रष्टाचारीको सामाजिक जीवन ध्वस्त हुने गरी कारबाही गर्छु’

काठमाडौं । उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो कार्यकालमा कुनै पनि प्रकारको भ्रष्टाचार नगर्ने र हुन नदिने प्रतिबद्धता जनाएका छन् । कसैले भ्रष्टाचार गरेको प्रमाणित भएमा उसको सामाजिक जीवन नै ध्वस्त हुने गरी कारबाही गर्ने उनले चेतावनी दिए ।

राप्रपा सचिवालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै लिङदेन खरो रुपमा पेश भएका थिए । पार्टीका नेता–कार्यकर्तालाई आफ्नो मन्त्रालयमा भीड लिएर नआउन उनले निर्देशन दिए । साथै कुनै कर्मचारीको सरुवा–बढुवाको चिट बोकेर पनि आफूकहाँ नधाउन उनको आग्रह थियो ।

‘मबाट कुनै पनि लेनदेनका कुराहरु हुँदैनन् । कसैले लेनदेन गरेको प्रमाणित भयो भने पनि म सहन्न’, उनले भने ।

कार्यकर्तालाई लिङ्देनले गरेको सम्बोधन यस्तो थियोः

हामी एउटा विशेष परिस्थितिमा सरकारमा सामेल भएका छौं । हाम्रो सहभागितालाई लिएर थुप्रै प्रश्न पनि उठेका छन् । हामी स्वयम् पनि सरकारमा प्रत्यक्ष सहभागी हुँदा ठीक हुन्छ कि बाहिरै बसेर समर्थन गर्दा ठीक हुन्छ भन्नेमा थियौं । दुईथरि कुराहरु आइरहेका थिए । मैदानमा बसेर काम गर्ने तथा विपक्षीसँग प्रतिस्पर्धामा होमिने भन्नेमा साथीहरुले सरकारमा जानुपर्ने पक्षमा वकालत गर्नुभयो । राप्रपाले कसैलाई निवेदन हालेर सरकारमा जानु हुँदैन । तर, हाम्रो हैसियत भएको अवस्थामा किन नजाने भन्ने उहाँहरुको कुरा थियो ।

हामी मिलेरमात्रै सरकार बन्न सक्ने अवस्था भनेको हाम्रो पनि हैसियत बन्यो भन्ने हो । सम्मानजनक वातावरण बन्यो भने सरकारमै गएर काम गर्नुपर्छ भन्ने विचार बलियो ढंगले आयो । सबैभन्दा बलियो तर्क के भने हामीले सम्मानजनक वातावरण पाउँदा पनि नजाने हो भने कहिले जाने त ? कि कहिल्यै सरकारमा नजाने भनेर घोषणा गर्ने हो ? सरकारमा नजाने हो भने जनताको काम कसरी गर्ने ? त्यसैले बरु गएर काम गरेर देखाउँ भन्ने भयो । मौका पायौं भने काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने मौका हो भन्ने साथीहरुको बलियो दबाब थियो ।

हामीले भ्रष्टाचार र सुशासनको कुरा उठाउँदा विगतमा खिल्ली उडाउँथे । पार्टीकै साथीहरुले पत्याउँदैन थिए । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो’ भन्ने कुरा गर्दा कतिले अत्यन्त महत्वका साथ लिनुभयो भने कति हाम्रै साथीहरुले केवल नाराको रुपमा लिनुभयो । विपक्षीले हँसीमजाकका रुपमा पनि लिए । धेरै मान्छेहरुले यिनीहरुले पाएकै छैन, पाएपछि थाहा हुन्छ खान्छ कि खाँदैन भनेर भने । मेरो मनमा पनि के आयो भने यो अग्निपरीक्षामा होमिनुपर्छ र खरो उत्रिनुपर्छ । अबको राप्रपाले ‘भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत खानु हो’ भन्ने प्रमाणित गर्नुपर्छ भनेर सरकारमा जाने निर्णय लियौं ।

अहिले हामी सरकारमा सहभागी भएका छौं । विपक्षीले केही प्रश्न उठाउने चेष्टा गरेका छन् । हाम्रै शुभेच्छुकमा केही आशंका छन् । म सबै साथीहरुलाई र आम देशवासीलाई विश्वास दिलाउन चाहन्छु कि यो अग्निपरीक्षामा हामी खरो उत्रिनेछौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु हो भन्ने प्रमाणित गरेर देखाउनेछौं ।

मैले मन्त्रालयको ब्रिफिङमा पनि भनेको छु, भ्रष्टाचारलाई शत्रु ठानेर काम गर्नुस् । म कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलाप गर्नेछैन र अरु कसैले गरेको थाहा पाएँ भने सहन्न । भ्रष्टाचार गर्नेलाई कारबाही गर्नेमात्र होइन, सामाजिक जीवन ध्वस्त हुने गरी कारबाही गर्छु । त्यो कुरा मैले हाम्रो मन्त्रिपरिषदमा जाने साथीहरुलाई पनि भनेको छु । प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुलाई पनि भनेको छु ।

कुनै पनि लेनादेना चाहे घोषित वा अघोषित किन नहोस् म सहन्न । हल्लाको भरमा, पत्रिकाले लखेको भरमा, कसैले भनेको भरमा होइन, भ्रष्टाचार प्रमाणित भयो भने एकक्षण पनि सोच्नेवाला छैन । कुनै पनि प्रकारको दबाब सामना गर्न तयार छु । म ठीक रहन्छु र अरु साथीलाई पनि ठीक राख्छु । सरकारमा सहभागी भएर राप्रपा फरक छ भन्ने प्रमाणित गर्नेछौं ।

भर्खर यात्रा प्रारम्भ भएको छ । हो कि होइन कि जस्ता मोडहरु आउनेछन् । शुभेच्छुकलाई धैर्य रहन आग्रह गर्छु । राप्रपा जस्तो पार्टीमा लिङदेनले अध्यक्ष हुन्छु भन्दा धेरै मान्छेलाई पत्यार लागेको थिएन । चुनावमा यति परिणाम ल्याउँछु भन्दा पत्यार थिएन । सम्मानजनक परिणाम प्राप्त गरिसकेपछि पनि अहिलेको संसदीय संरचनामा यस्तो निर्णायक पार्टी हुन्छौं भन्ने हामीभित्र साह्रै थोरै मान्छेको कल्पनामा थियो । अब आगामी यात्रा पनि सफलतापूर्वक पार गर्छौं ।

सरकारमा जाँदा पार्टीप्रतिको जिम्मेवारी पनि बिर्सिनुहुँदैन । केही दिनभित्र सबै कुरा मिलाउँछौं । सरकारमा नगएका पदाधिकारीले पार्टीको जिम्मेवारीलाई ध्यान दिनुपर्छ । सबैसँग यहीबाट अपिल गर्छु । कार्यकर्ता तथा साथीहरुले पार्टीको गौरव बढाउने र देशको अवस्थामा परिवर्तन गर्ने काममा बाहेक सरुवा-बढुवा तथा नियुक्तिको धेरै अपेक्षा नराख्नुस् । मन्त्रालयमा धेरै भेटघाटको कुरा हाम्रो प्राथमिकताको विषय हुँदैन । दिनभरि कार्यकर्ता भेटेर बस्ने हो भने कसरी काम गरेर देखाउने ? केही दिन अध्ययन गर्नुपर्नेछ । भित्रको सञ्जाल र संरचनामा छिर्नुपर्नेछ । चाँडोभन्दा चाँडो सकारात्मक निर्णय लिनुछ ।

विशेष काम र अवस्थामा समय लिएरबाहेक एकैपटक भीड लिएर नआइदिनुस् । नेता-कार्यकर्ताहरु आउँदा नभेटौं पनि मिलेन । भेट्दा अन्य महत्वपूर्ण कुराहरु छुट्छन् । अब तपाईंहरु सत्तारुढ पार्टीको हुनुभयो । सरुवा-बढुवा भनेर अनेक मान्छे आउँछन् । तर, यो तपाईंहरुको काम होइन । सरुवा-बढुवामा हाम्रो हस्तक्षेप र चासो हुँदैन । हामीलाई काम चाहिन्छ । रिजल्ट चाहिन्छ । सरुवा-बढुवाको चिट अहिले पनि कतिको गोजीमा नै होला । त्यो बोकेर नआउनुहोला । एउटा-एउटा कर्मचारी चेपेर नहिँड्नुस् । मेरो छोराछोरी, कार्यकर्ता कतै न कतै नियुक्ति गरिदिनुपर्‍यो भन्ने जस्तो कुरा नल्याउनुस् । त्यहाँ नियुक्ति गर्न सकिन्न । योबाट हाम्रो नेता-कार्यकर्ता मुक्त हुनुपर्छ ।

हाम्रो राजेन्द्र लिङदेन उपप्रधानमन्त्री भयो, अब विद्युतको डीजी, सिंचाइको डीजी सार्न म सक्छु भनेर गाउँमा नहिँड्नुहोला । बरु कुनै गाउँमा बिजुली पुगेको छैन भने मेरो जिम्मा भो भनेर हिँड्नुस् । कहीं नदी कटानका समस्या छन्, सिंचाइका समस्या छन् भने हाम्रो जिम्मा भो भन्नुस् । राजेन्द्र लिङदेनले जतिवेला भन्यो त्यतिवेला मेरो फोन उठाउँछ, एउटा डीजी त सरुवा गरिहाल्छु नि भनेर काठमाडौं प्लेनमा आउनुभयो भने तपाईं र मेरो भेटै नहोला । यो काम अरु मन्त्रालयबाट पनि हुँदैन ।

हामीले लिएको मन्त्रालयमा कुनै लेनादेना गरेको थाहा पाएमा खबर लिएर आउनुस् । यदि म आफैंले लेनादेना गरेको प्रमाणित कसैले गर्‍यो भने टुँडिखेलमा गएर झुण्डिन तयार छु ।

सचिवालयले स्वागत गर्ने भनेर बोलाउनुभयो । यसो एउटा-एउटा माला लगाइदिने होला भनेको धुमधाम भइगयो । तपाईंहरुको अध्यक्ष यस्तोमा रमाउँदैन । हामीले गरेका वाचाहरु पूरा गरेपछि माला लगाइदिनुस् । अहिले के गरेको छु र ? पैसा पनि खर्च हुन्छ, लुगा पनि मैलो हुन्छ । सामाजिक रुपमा अरुले पनि मन पराउँदैनन् । यो परम्परा तोडौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर