सुनकोशीमा जटिल रोगको औषधोपचार गर्न मासिक ५ हजार वितरण सुरु – Nepal Press

सुनकोशीमा जटिल रोगको औषधोपचार गर्न मासिक ५ हजार वितरण सुरु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका दीर्घरोगका बिरामीहरुलाई औषधोपचारमा सहयोग गर्ने उद्देश्यले मासिक ५ हजार रुपैयाँ दिन सुरु गरेको छ ।

सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको थियो ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचारबापत खर्च उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ अनुसार ३८ जना बिरामीको खातामा ६ महिनाको ३० हजार रुपैयाँ जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाले उक्त कार्यविधिअनुसार सार्वजनिक सूचनामार्फत सबैलाई निवेदन दिन आह्वान गरेको थियो । सोअनुसार चिकित्सको रोग प्रमाणित हुने कागजपत्रको आधारमा बैंकमा रकम जम्मा गरिदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए ।

गाउँपालिकाभित्र सबैभन्दा बढी क्यान्सर रोगका बिरामीहरुले उक्त सुविधा लिएका छन् । ३९ जना क्यान्सर रोगी, पाँच जना मृगौला प्रत्यारोपण, सात जना डायलाइसिस गराएका र ३ जना मेरुदण्डका पक्षघातका बिरामीहरुलाई उक्त सुविधा प्रदान गरिएको दुलालले जानकारी दिए ।

गाउँपालिकाले त्रैमासिक रुपमा बिरामीहरुको खातामा पैसा जम्मा गरिदिन सुरु गरेको हो । अहिले साउनदेखिकै रकम प्रदान गरिएको र पछि आउने बिरामीहरुलाई उहाँहरुको कागजपत्रको आधारमा रकम प्रदान गर्ने उनले बताए ।

केन्द्रीय सरकारले घोषणा गरेको रकम स्थानीय सरकारले आफ्नै खातामा जम्मा गरिदिएपछि उपचारमा केही भए पनि सहयोग पुगेको लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका सुनकोशी- १ का पुष्पराज भण्डारीले बताए ।

मेरुदण्डको पक्षघातबाट पीडित सुनकोशी- ५ की सरिता थामीले पनि उपचारको लागि मासिक रुपमा ५ हजार स्थानीय सरकारबाट पाउँदा खुशी लागेको बताइन् । ‘उपचारको लागि त मासिक रुपमा धेरै खर्च हुन्छ, गाउँपालिकाले दिएको रकमले केही भए पनि भरथेग भयो’, थामीले भनिन् ।

दीर्घरोगीहरुलाई निःशुल्क औषधि

गाउँपालिकाको चालू आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यविधिअनुसार गाउँपालिका स्थायी ठेगाना भएका र सुगर, प्रेसर, दम र मानसिक रोगका बिरामीहरुलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । गाउँपालिकाले माघ तेस्रो सातादेखि चारै रोगका बिरामीहरुलाई सम्बन्धित वडा, स्वास्थ्य चौकी र महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत बिरामीहरुले नियमित सेवन गर्दै आएको औषधि नै गाउँपालिकाले प्रदान गर्न लागेको अध्यक्ष तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाभित्र यी रोगका बिरामीहरुले नियमित सेवन गरेको औषधिको विवरण प्राप्त भइसकेको र औषधि ल्याउने अन्तिम चरणमा रहेका उनको भनाइ छ । अध्यक्ष तिमल्सिनाले माघभित्र नै सबै बिरामीको घरघरमा औषधि पुर्‍याउन गाउँपालिका लागिपरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर