चिकित्सक संघको चुनावमा पनि ‘नो नट अगेन’, यस्ता छन् प्रगतिशील समावेशी प्यानलका एजेण्डा – Nepal Press

चिकित्सक संघको चुनावमा पनि ‘नो नट अगेन’, यस्ता छन् प्रगतिशील समावेशी प्यानलका एजेण्डा

काठमाडौं । मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा लोकप्रिय बनेको ‘नो नट अगेन’ अभियान यसपटक माघ ६ बाट शुरु हुने नेपाल चिकित्सक संघको निर्वाचनमा पनि देखिएको छ ।

चिकित्सक संघ स्थापना कालदेखि नै एउटै समूह र सम्भ्रान्त घरानीया वर्गको नेतृत्व कायम रहँदै आएकोमा यसपटक ‘नो नट अगेन’ अभियान चलेको हो । संघमा अहिलेसम्म कांग्रेस समर्थक डाक्टरहरूको एकल नेतृत्व रहँदै आएको छ ।

यसपटक वामपन्थी चिकित्सकहरूको पेशागत प्यानलले नो नट अगेन भन्दै नयाँपन र पेशागत सुधारका लागि परिवर्तनको पक्षमा मतदान गर्न देशभरका चिकित्सकलाई आह्वान गरेको छ । वामपन्थी र समावेशी पेशागत प्यानलको नेतृत्व डा।सन्तोष पौडेलले गरेका छन् ।

त्यस्तै कांग्रेस समर्थकहरूकै स्वतन्त्र प्यानलले पनि परिवर्तनको पक्ष र संस्थाको नेतृत्वलाई व्यक्तिगत फाइदामा प्रयोग गर्ने प्रवृत्तिविरुद्ध विद्रोहको आह्वान गरेको छ । लोकतन्त्रवादी स्वतन्त्र प्यानलको नेतृत्व डा. शिवजी विक्रम सिलवालले गरेका छन् भने कांग्रेसको परम्परागत समूहको नेतृत्व डा अनिल कार्कीले गरेका छन् ।

चिकित्सक संघको नयाँ नेतृत्वका लागि देशभरका १२ हजार दर्तावाल चिकित्सक मतदाता रहेकोमा करिब ८ हजार मत खस्ने अनुमान छ । काठमाडौं उपत्यका बाहिर माघ ६ र ७ गते मतदान हुँदैछ । काठमाडौं उपत्यकामा भने माघ १९,२० र २१ मा मतदान हुनेछ ।

संघको निर्वाचनमा यसअघि कांग्रेस र गैरकांग्रेस चिकित्सकका दुई प्यानलबीच प्रतिस्पर्धा हुँदा प्रायः सधैं कांग्रेसको प्यानलले जित्दै आएको छ । यसपटक भने कांग्रेसभित्रै विभाजन आएको छ । कांग्रेस निकट सिवालको नेतृत्वमा स्वतन्त्र प्यानल समेत खडा भएकाले यसपटक डा. सन्तोष पौडेल नेतृत्वको प्रगतिशील समावेशी प्यानल बलियो देखिएको छ ।

प्रगतिशील प्यानलको अभियान– नो नट अगेन

वीर अस्पताल ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक डाक्टर सन्तोष पौडेल नेतृत्वको प्रगतिशील समावेशी प्यानलले यसपटक परिवर्तनको पक्षमा मत दिनभन्दै नो नट अगेन अभियान चलाएको छ । चिकित्सक संघ एउटा गिरोह र घरानीया वर्गको हितमा मात्र रहेको भन्दै चिकित्सकहरूको पेशागत सुरक्षा र मर्यादा कायम गर्न परिवर्तनको पक्षमा मत दिन पौडेलले आग्रह गरेका छन् ।

‘सबै डाक्टरलाई रोजगारी,१० वर्षमा घरगाडी’ भन्ने नाराका साथ चुनावी अभियानमा उत्रिएको सो समूहले दश वर्षसम्म देशभित्र निरन्तर सेवा दिने चिकित्सकलाई राज्यले एक पटकलई घर र गाडी कर्जामा विशेष सहुलियत प्रदान गर्न सम्भव रहेकाले आफूहरूले जितेको सो पहल गर्ने पौडेलले बताए ।

डा।पौडेलसहित उनको प्यानलमा सबै युवा चिकित्सकहरू रहेका कारण यसपटक नो नट अगेन अभियान भित्रभित्रै सल्किएको छ । सो समूहले चिकित्सा सेवा ऐन ल्याउने र योग्यता अनुसार पद सिर्जना गर्ने विषयलाई प्राथमिकता दिएको छ ।

साथै सो समूहले साथै सबै मेडिकल कलेजका रेसिडेन्टको भत्ता उपलब्ध गराउनुपर्ने योजना अघि सार्दै सरकारी मेडिकल कलेजको भन्दा कम नहुने सुनिश्चितता गरी भत्ता उपलब्ध गराउने र बिदाको दिनमा काम गर्ने र नाइट ड्युटी गर्ने डाक्टरको सो दिनको छुट्टै भत्ताको व्यवस्था गरिनुपर्ने उल्लेख गरेको छ । चिकित्सा शिक्षाको सुधार र रोजगारीको अवसर सिर्जना गर्ने, संघमा संगठनात्मक सुधार ल्याउने र ई९पुस्तकालयको व्यवस्था गर्नेलगायत ७ वटा बुँदा पेशागत समूहले राखेको छ ।

डा. पौडेल अध्यक्ष रहेको प्यानलबाट डा. रक्षा श्रेष्ठ महासचिवको उम्मेदवार छिन् ।उनी यसअघि चिकित्सक संघको कोषाध्यक्ष भइसकेकी छन् ।

त्यस्तै उपाध्यक्षहरुमा मधेसबाट महेश महासेठ, वागमतीबाट सञ्जय कुमार ठाकुर, गण्डकीबाट विकास गौचन, सुदूरपश्चिमबाट निरज अर्याल उम्मेदवार छन् । कार्यकारिणी सदस्यका लागि अभियान गौतम, पदम नेपाली, रमेश श्रेष्ठ, रामकृष्ण आचार्य, स्मृति महत र डा. सुरेन्द्र यादव उम्मेदवार छन् ।


प्रतिक्रिया

One thought on “चिकित्सक संघको चुनावमा पनि ‘नो नट अगेन’, यस्ता छन् प्रगतिशील समावेशी प्यानलका एजेण्डा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर