उपत्यकाका सडकको खाल्डाखुल्डी मातहतका निकायको समन्वयबाट मर्मत गरिने


काठमाडौं । सरकारले उपत्यकाका सबै निकायअन्तर्गतको सडकको डिजिटल म्याप तयार गर्ने र जसका लागि सडक विभागले समन्वय गर्ने भएको छ । आज उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले उपत्यकाका मेयरसहित सरोकारवालाहरुसँगको बैठकपछि यस्तो निर्णय गरिएको हो ।
त्यस्तै, बैठकले सबै निकायले आफू मातहतको सडकहरूको खाल्डाखुल्ढी आपसी समन्वयबाट रिपेयर गर्ने पनि निर्णय गरिएको छ ।
हरेक महिनाको दोश्रो र चौथो शुक्रबार दिउँसो २ बजे उपरोक्त निकाय र खानेपानी विभाग, केयूकेएल, विद्युत प्राधिकरण, नेपाल टेलिकमसहितको नियमित बैठक बस्ने भएको छ ।
त्यसैगरी, समन्वयात्मक र एकीकृत ढंगले काम गर्न दीर्घकालीन रूपमा स्थायी संरचना निर्माण गरेर अघि बढ्ने पनि बैठकले निर्णय गरेको हो ।
काठमाडौं महानगरका मेयर बालेन शाह, ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्त, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष, मन्त्रालयका सहसचिव, उपत्यका स्थित सडक डिभिजन प्रमुखहरु लगायतको सहभागीतामा बैठक बसेका थियो ।