रेखा शर्माको दोस्रो सिंहदरबार यात्रा, हातमा प्रभावशाली मन्त्रालयको बागडोर – Nepal Press

रेखा शर्माको दोस्रो सिंहदरबार यात्रा, हातमा प्रभावशाली मन्त्रालयको बागडोर

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेकी छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी मन्त्रीमध्ये पहिलो वरियतामा छिन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । निर्वाचित भएदेखि नै उनी मन्त्री बन्ने निश्चित भएको समाचार आइरहेका थिए । नभन्दै प्रचण्डले उनलाई सञ्चार तथा सूचना प्रविधि जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

रेखा अहिलेसम्मकै दोस्रो महिला सञ्चारमन्त्री हुन् । सम्भवतः उनले सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाउनेछिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेको व्यक्ति सरकारको प्रवक्ता हुने भएकाले उनले प्रवक्ताको जिम्मेवारी पाउनेछिन् ।

यसअघि केपी ओलीको पालामा नैनकला थापालाई सञ्चारमन्त्री बनाइएको थियो । तर, सर्वोच्चको आदेशपछि उनको कार्यकाल १३ दिनमै समाप्त भयो । नैनकलालाई सरकारको प्रवक्ता तोकिएको भए पनि उनले खासै काम गर्न पाइनन् ।

शर्माले पार्टीको केन्द्रीय सदस्य हुँदै स्थायी समिति सदस्य र एकपटक सामान्य प्रशासनमन्त्री बनेर आफ्नो क्षमतालाई प्रमाणित गरिसकेकी छन् । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद बनेकी रेखा २०७४ सालमा पुनः समानुपातिकबाटै प्रतिनिधिसभा सदस्य भएकी थिइन् ।

यसपालिको निर्वाचनमा उनले निकै कडा प्रतिस्पर्धाका बीच एमाले महासचिव पोख्रेललाई १९७ मतान्तरले पराजित गरिन् ।

रेखाको राजनीतिक रेखा

२०२६ साल असोज ९ गते दाङ जिल्लाको घोराहीस्थित रझेनामा जन्मिएकी रेखाले २०४३ सालदेखि अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेकी हुन् । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्तीर्ण गरेकी रेखा २०५१ सालमा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष भएकी थिइन् ।

२०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष बनेकी उनी २०५० सालमा अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य र २०५३ देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भइन् । २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य बनेकी उनले काठमाडौं उपत्यका उप-व्युरोको प्रमुखसमेत भएर काम गरिन् ।

२०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेकी रेखाले त्यसैवेला डा.बाबुराम भट्टराईको नेतृत्वमा शीर्ष नेता सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन् ।

त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले उनलाई माओवादी संसदीय दलको प्रमुख सचेतकसमेत बनाए । संविधान निर्माणको क्रममा स्थानीय तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको शर्माको दाबी छ । दोस्रो संविधानसभा सदस्य रहँदा नै उनी २०७२ सालमा पहिलो पटक सामान्य प्रशासनमन्त्री बनेर सिंहदरबार प्रवेश गरिन् ।

२०७४ सालमा प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित भइसकेपछि उनले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएर प्रभावकारी भूमिका निर्वाह गरिन् । समितिमा रहँदा कानून निर्माणको क्रममा नियमित संसदीय समितिमा जाने र सक्रिय भूमिका निर्वाह गर्ने माओवादीका थोरै सांसदमध्ये उनी पर्छिन् ।

२०५८ सालमा श्रीमानसँगै प्रहरी हिरासतमा

काठमाडौं उपत्यकामा माओवादीको विशेष क्षेत्रीय व्युरो मातहत रहेका दुईवटा उपव्युरोमध्ये केन्द्रीय राजनीतिक परिचालन उपव्युरोका इन्चार्ज रेखाका श्रीमान कृष्णध्वज खड्का थिए । संगठन तथा संघर्ष उपव्युरोकी इञ्चार्ज रेखा रहँदा काठमाडौंमा पक्राउ परिन् । १० वर्षे जनयुद्ध उत्कर्षमा पुगिरहेका वेला २०५८ साल चैतमा उनी श्रीमान कृष्णध्वजसँगै काठमाडौंको चाबहिलबाट पक्राउ परेकी थिइन् । जतिवेला उनीहरु दुबै जना अहिले नेकपा एमाले प्रवेश गरेका तत्कालीन माओवादी नेता रामबहादुर थापा बादलको निर्देशनमा काम गर्थे ।

उनीहरु दुबै जनालाई पार्टीको योजना बनाइरहेको वेला नेपाली सेनाको टोलीले पक्राउ गरेको थियो । सेनाले पक्राउ गरेर दुबै जनालाई ललितपुरको राजदल गणमा राख्यो । रेखा र कृष्णध्वजले त्यहाँ चरम यातना खेप्नुपर्‍यो । शरीरका विभिन्न भागमा चक्कुले चिर्नेदेखि विभिन्न यातना खेप्नुपरेको उनको भनाइ छ ।

नाक बन्द गरेर मुखमा पानीको फोहोरा हाल्दा अत्यधिक पीडाले बेहोस भएको घटना उनको स्मृतिमा अहिले पनि आइरहन्छ । श्रीमान र श्रीमती दुबै जनाले एक वर्षसम्म नर्कतुल्य हिरासत जीवन भोगेका थिए । त्यतिवेला दिइएका यातनाका दाग शरीरमा अहिले पनि रहेको रेखाको भनाइ छ ।

२०५९ साल चैत ३१ गते सरकार र माओवादीबीच वार्ता शुरु भएपछि रेखा र कृष्णध्वज सँगै रिहा भएका थिए । त्यसपछि पार्टीको नियमित काममा उनीहरु जोडिए । जेलबाट छुटेपछि उनीहरु दुबै जनाको राजनीतिक यात्रा त्यति सहज भएन । माओवादीले आत्मसमर्पण गरेर जेलबाट छुटेको आशंका गर्दै उनीहरुलाई पार्टीबाट निस्काशनसमेत गर्‍यो । तर, छानबिनपछि उनीहरुले सफाइ पाए ।

नारायणकाजी श्रेष्ठ नेतृत्वको तत्कालीन एकता केन्द्र माओवादीमा मिसिएका वेला उनीहरु दुवै पार्टीको केन्द्रीय समितिमा तानिए । एमाओवादी विभाजित भएर २०६९ सालमा मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी गठन भएपछि उनीहरु केही समय त्यतैतिर लागे । पछि फेरि माओवादीमै फर्किए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर