जब सुर्खेतमा भूकम्प आयो… (भिडिओ) – Nepal Press

जब सुर्खेतमा भूकम्प आयो… (भिडिओ)

सुर्खेत । एउटा बस्तीका केही व्यक्तिहरु घाम तापेर बसिरहेको समयमा भूकम्प आउँछ । सबैको भागाभाग हुन्छ । केही व्यक्तिहरु घरभित्रै हुन्छन् । एक्कासी केही घर भित्रबाट चिच्याएको आवाज आउँछ । ‘बचाउ, बचाउ’ । एउटा घरकी महिला घर बाहिर आँगनमा घाम तापेर बसेकी रहिछन् । त्यही समयमा आएको भूकम्पले उनका घरपरिवार घर भित्रबाट चिच्याएका रहेछन् । केही समयमा भूकम्प रोकिन्छ । ति महिला घरबाहिरबाट रुँदै कराउँदै, गुहार माग्दै भन्छिन् ‘मेरा परिवारलाई बचाइदिनु प्लीज ।’ म बर्बाद भएँ, मेरो परिवार बचाइदिनुस् भन्दै टाउकोमा हात राख्दै रोइकराइ गर्छिन् ।

भिडिओ:

त्यतिकैमा नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी घटनास्थलमा आइपुग्छन् । उक्त घरको ढोका खोल्न नसक्दा प्रहरीले घरको भित्तालाई डिलमेसिनले घरको भित्ता काट्छन् र केही समयमा घर भित्रका मान्छे निकाल्ने कार्य हुन्छ । केही घाइते थिए त केहीकोे मृत्यु भएको थियो । सुरक्षाकर्मीले गम्भीर घाइतेहरुलाई अस्पताल लैजान्छन् । र सामान्य घाइतेलाई आपतकालीनमा आएका रेडक्रसका कर्मचारी र स्वास्थ्यकर्मीहरुले घाइतेलाई स्ट्रेचरमा राखेर उपचार गर्नमा तल्लीन हुन्छन् ।

त्यस्तै, त्यही छिमेकमा रहेको अर्को घरमा आगो लाग्छ । सो घर मालिकले ‘बचाउ मेरोे घर जलेर सखाप भयो बचाउ’ भनेको आवाज सुनिन्छ । टोल छरछिमेका मान्छेहरु आएर आगो नियन्त्रण गर्न लाग्छन् । त्यतिकैमा दमकल आइपुग्छ । आगो केही समयमा नियन्त्रण हुन्छ । तर जनधनको क्षति पनि हुन्छ । घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्सले अस्पताल लैजान्छ । घटनास्थलमा विभिन्न निकायका व्यक्तिहरुको उपस्थिति पनि थियो । पीडितहरुले राहत पनि पाए ।

यद्यपी यो घटना वास्तविक भने होइन । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नाराका साथ २५ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७९ भुकम्प सुरक्षा सम्बन्धी कृत्रिम अभ्यास गरिएको हो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय वीरेन्द्रनगर, सुर्खेतको खुल्ला मञ्चमा मंगलबार यस्तो अभ्यास गरिएको हो । यस्तो अभ्यासले नागरिकलाई भूकम्पका बेलामा गर्नुपर्ने कर्महरुको बारेमा व्यवहारिक ज्ञान दिने एवम् आपतकालीन परिस्थितिमा आफू र अन्यलाई जोगाउन भूमिका खेल्ने विज्ञहरु बताउँछन् ।

कार्यक्रममा सहभागी जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत सूर्यबहादुर थापाले सम्बन्धित निकायको सहभागीता सँगै आमनागरिकको सहभागीता भएको भए कार्यक्रम अझै प्रभावकारी हुने बताए । उनले भने्, ‘देखाइएको डेमो अभ्यासमा उद्दारका साधनहरु नयाँ र नौलो लाग्यो तर जति सहभागी हुनुपर्थ्यो त्यति सहभागीता देखिएन् ।’ सबै स्थानिय तह जनप्रतिनिधि, आमनागरिकहरुलाई सहभागीता गराएर उनीहरुको अगाडि डेमो प्रदर्शन देखाएको भए, राज्य विपद प्रकोपका समयमा उत्तरदायी छ भन्ने थाहा पाउँथे ।

त्यस्तै, अभ्यासमा प्रमुख भूमिका निर्वाह गरेका सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक बिमल डाँगीले सुरक्षा निकाय र सरकारी निकायभन्दा बाहिरका व्यक्तिले विपदका समयमा कसरी सहयोग गर्छन् भनेर पनि डेमो गरेको बताए ।

उनले भने, ‘विपदको समयमा हामीसँग सबै सामाग्री उपलब्ध छ, र आज प्रदर्शनी पनि गर्यौं ।’ सुरक्षा निकायबाहेक अरु सरकारी कार्यालयले पनि विपदका समयमा सहयोग गर्नु पर्ने डाँगीको भनाइ छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०५५ देखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । १९९० माघ २ गते नेपालमा ८.५ रेक्टर स्केलको महाभूकम्प गएको थियो । यसैको सम्झनामा माघ २ गतेलाई भूकम्प सुरुक्षा दिवसको रुपमा मनाउँदै आइएको छ ।

तर यसवर्ष काठमाडौबाट पोखराका लागि उडेको यति एयर विमान दुर्घटना हुँदा सरकारले एकदिन बिदा दिएको थियो । उक्त बिदाको समयलाई सारेर माघ ३ गते यो दिवस मनाइएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर