विराटनगरमा फुटपाथ खाली गर्ने अभियान शुरु, सटर बाहिर राखेको सामान नियन्त्रण गर्दै महानगर


विराटनगर । विराटनर महानगरको पालिका भित्र रहेका पसल धनीले सटरभन्दा बाहिर बेच्न राखेको सामान महानगर प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
सटरभन्दा बाहिर सामान राखेर बेच्दा फुटपाथमा हिड्ने यात्रुलाई समस्या परेको भन्दै महानगर प्रहरीले नियन्त्रणमा लिन थालेको हो ।
यस अघि महानगरले सूचना जारी गर्दै आजबाट सटरभन्दा बाहिर सामान राखेर नबेच्न आग्रह गरेको थियो ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तरगत सामान नियन्त्रणमा लिन थालिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।
उनले महानगरपालिकाले सरसफाई, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको र सेही अभियान अन्तरगत फुटपाथमा बेच्न राखेको सामान हटाएको बताए ।
मेयर कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको छ ।
अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । मेयर कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिएका थिए ।
उनले विराटनगरलाई व्यवस्थित बनाउने दायित्व महानगरवासी सबैको भएकाले सहयोग गर्न आग्रहसमेत गरेका थिए ।
अनुगमनमा मेयर कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, ११ नम्बर वडाका अध्यक्षसमेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्कीलगायतको सहभागिता रहेको थियो ।