विमान दुर्घटनामा मृत्यु भएका विदेशी र सनाखत नभएका शवहरु काठमाडौं ल्याइने


काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका मध्ये विदेशी र पहिचान नभएका शवहरुमात्रै काठमाडौं ल्याइने भएको छ ।
पोखरामा आफन्त भएकाहरुको शव पहिचान गरि त्यही नै बुझाउने र अन्य शवहरु मात्रै काठमाडौं ल्याइने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । शव परिक्षणका लागि पोखराबाट काठमाडौं शव ल्याउँदा समय लाग्ने भएकाले शिक्षण अस्पतालका दुई फरेन्सिक विशेषज्ञलाई पोखरामा नै पठाइएको ठाकुरले बताए । दुर्घटनापछि भ्याइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर फेला परिसकेको र छानविन कमिटीलाई उपलव्ध गराउने उनले बताए ।
उनले सोमबार पनि बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी लगाएतका उद्धारकर्ता खटिएको जानकारी दिए । दुर्घटनापछि हालसम्म फेला परेका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखी आवश्यक परिक्षण भइरहेको छ ।