उड्ययन सुरक्षामा चुनौती : सरकारको समाधान सार्वजनिक बिदा ! – Nepal Press

उड्ययन सुरक्षामा चुनौती : सरकारको समाधान सार्वजनिक बिदा !

तीन पूर्वमुख्यसचिवको नजरमा सरकारको निर्णय

काठमाडौं । सरकारले पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गदै सोमबार एक दिन देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । तर सरकारको सो निर्णयलाई सामाजिक सञ्जालमा धेरैले चिसो प्रतिक्रिया दिइरहेका छन् ।

विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर बिदा दिने निर्णय गरेको हो । हवाइ दुर्घटना हुँदा बिदा दिने निर्णय सरकारले गरेको यो पहिलोपटक भने होइन । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुँदा उनीसहित ७ जनाको दुःखद निधनप्रति दुःख र शोक व्यक्त गर्दै सरकारले २०७५ साल फागुन १६ गते राष्ट्रिय शोक घोषणा गरी सार्वजनिक बिदा दिएको थियो ।

यसअघि बिदा दिने विषयमा खासै टिकाटिप्पणी नभए पनि यसपटक प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय शोकको घोषणा गरेर सार्वजनिक विदा दिने निर्णयको सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी भइरहेको छ । कतिपयले त उक्त बिदा फिर्ता लिनुपर्ने मागसमेत गरिरहेका छन् ।

दुर्घटनामा सार्वजनिक बिदा दिने सरकारको निर्णयबारे पूर्वप्रशासकहरू पनि सन्तुष्ट छैनन् । के भन्छन् त नेपाल सरकारका पूर्वमुख्यसचिवहरु ? प्रस्तुत छ उनीहरूको भनाइ जस्ताको तस्तैः

तिर्थमान शाक्य

बिदा दिने वा नदिने भन्ने सरकारको कुरा हो । नेपालमा यो सरकार वा अरु कुनै सरकारले पनि शोक मनाउनका लागि बिदा दिने प्रचलन पहिलेदेखि नै छ । यसलाई राम्रो भन्ने कि नराम्रो भन्ने प्रचलनका रुपमा नै विकास भयो । यसबाट के नोक्सान हुन्छ भन्ने कुराको हिसाब किताब भएन ।

एक दिनको बिदाले देशलाई कति घाटा पुर्याउँछ भन्ने कुरा कसैले ख्याल गरेन । उदाहरणका लागि कुनै अदालतको मुद्दाको पेशी एक दिनका कारणले कति दिन पछि सर्छ ? त्यतातिर कसैले ध्यान दिएको छैन । यद्यपि सरकारले दुर्घटनाप्रति गम्भीरता देखाएको भन्ने हो । अरु केहि नगरे पनि बिदा दिने भन्ने प्रचलन बस्यो । यसरी एक दिन सार्वजिक बिदा दिनुभन्दा दुःखद निधन भएका व्यक्तिको परिवारको घरमा गएर श्रदाञ्जली सभा, वा कुनै अरु कार्य गर्दा अझ राम्रो हुन सक्थ्यो होला । सबैले समवेदना स्वरुप एक साँझ वा एक मिनेट भए पनि एक दिन मैनबत्ती बालौं भनेर सरकारले आव्हान गरेर पनि शोक मनाउन सकिन्थ्यो ।

कुनै अरु नयाँ काम पनि गरेर शोक मनाउन सकिन्थ्यो । एकै मिनेट भए पनि दिवंगत आत्माको चिर शान्तिको कामना र परिवारजनमा समवेदनाका दिन सकिन्थ्यो ।

लिलामणि पौडेल

राष्ट्रको लागि योगदान गरेको ठुलो मान्छेको निधन हुँदा संसारभर नै सार्वजनिक बिदा दिने प्रचलन छ । तर, जहाज दुर्घटनाबाट ज्यान गएपछि बिदा दिने निर्णय गर्नु म उपयुक्त ठान्दिनँ । बरु दुर्घटनाको कारण पत्ता लगाउने र भविष्यमा यस्तो नहोस् भनेर पहल गर्ने निर्णय गर्नुपर्छ ।

बिदा दिनुको साटो सरकारले दिवंगत परिवारका सदस्यलाई राहत तथा क्षतिपूर्ति दिनुपर्छ । जनतालाई सास्ति र कर्मचारीलाई आराम दिनु राम्रो होइन । जस्तै, पुष ३० गते शनिबार भएका कारण सार्वजनिक बिदा भयो । माघ १ गते आइतबार माघी पर्वको बिदा भयो । माघ २ गते सोमबार दुर्घटनाका कारण बिदा भयो । यसले राज्यलाई ठुलो हानी नोक्सानी पो पुर्याउँछ । नागरिकलाई सास्ति दिने त छँदैछ ।

नेपालमा हवाइ दुर्घटना कम भए पनि सडक दुर्घटना त महिनैपिच्छे भइरहेका छन् । सबै दुर्घटनामा बिदा दिने हो भने सार्वजनिक बिदा कार्यालय भन्दा बढी बिदा नै हुने भयो । जस्तो म मुख्यसचिव भएको बेलामा २०७२ सालको नेपालमा भूकम्प गयो । करिब ९ हजार मान्छेको ज्यान गयो । त्यतिबेला हामीले बिदा दिएनौं । बरु घरमा बसेका मान्छेलाई र कर्मचारीलाई, बिदामा बसेकोलाई पनि कार्यालयमा बोलाएर काम गरायौं ।’

राजेन्द्रकिशोर क्षेत्री

दुःखद घटनामा विदा दिनु कुनै आपत्तिको विषय होइन । ठुलो दुर्घटना हुदाँ ७२ जनासम्मको निधन हुनु भनेको त सामान्य दुर्घटना होइन नि । यो सामाजिक सञ्जालमा टिप्पणी गर्नुपर्ने विषय पनि होइन । यो त देशकै लागि दुखद घटना भएकाले सरकारले विदा दिनु के आपत्तीको विषय भयो र ? स्वभाविक नै हा नि ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *