विमान दुर्घटनाका जीवित अस्पतालमा छैनन् : गण्डकी स्वास्थ्य निर्देशनालय
काठमाडौं । गण्डकी स्वास्थ्य निर्देशनालयले पोखरामा आइतबार भएको विमान दुर्घटनामा परेकामध्ये अस्पताल ल्याइएका सबै मृत रहेको जनाएको छ ।
निर्देशनालयका प्रवक्ता डा. नारायण श्रेष्ठले पोखरा क्षेत्रीय अस्पतालमा ३० जनाको शव रहेको बताए । ‘दुर्घटनामा परेका अरु अस्पतालमा छन् कि भनेर बुझ्दा कहींकतै नरहेको निष्कर्षमा पुगेका छौं’, प्रवक्ता श्रेष्ठले भने ।
मृतकहरुको सनाखत हुन सकेको छैन । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।
श्रेष्ठले दुई जना घाइतेको उपचार भइरहेको भन्ने समाचार निराधार रहेको पनि बताए । ‘यो कुरा आएपछि हामीले पनि बुझ्यौं। बुझ्दै जाँदा उद्धारका क्रममा दुई जना प्रहरी चाहिँ घाइते भएको भन्ने आएको छ’, प्रवक्ता श्रेष्ठले भने ।
सेती खोंचमा खसेको विमानबाट यात्रु निकाल्ने काम भइरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यहाँ खटिएको छ ।