प्रदेश मातहतका कार्यालयमा भ्रष्टाचार हुन दिन्न: मुख्यमन्त्री यादव – Nepal Press

प्रदेश मातहतका कार्यालयमा भ्रष्टाचार हुन दिन्न: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश मातहतका कार्यालयमा भ्रष्टाचार हुन नदिने प्रतिबद्धता जनाएका छन् ‌।पदभार ग्रहणपछि उनले भ्रष्टाचार नियन्त्रण नै आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।

उनले भने, ‘मुलुकमा क्यान्सर भन्दा पनि ठूलो रोग भ्रष्टाचार हो । मुलुक त मेरो जिम्मा छैन् । प्रदेशको जिम्मा त आजदेखि भयो । त्यसैले प्रदेश मातहतका कुनै पनि कार्यालयमा भ्रष्टाचार हुन दिन्नौं ।’

उनले समाचारको आधारमा पनि कारबाही गर्ने भन्दै सफा तथा फेयर समाचार लेख्न संचारकर्मीसँग आग्रह गरे । विगतमा मुख्यमन्त्री कार्यालयले नै भ्रष्टाचार गरेको अख्तियारले पुष्टि गरिसक्यो नी भन्ने  संचारकर्मीकाे जिज्ञासामा मुख्यमन्त्री यादवले भने, ‘विगतको मलाई थाहा छैन। आजदेखि म पदभार ग्रहण गरे । अब म पनि हेर्छु ।’

भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले बनाएको जनलोकपाल आयोग निस्कृय रहेको विषयमा उनले प्रशासन नै मातहतमा नरहेकाले केही गर्न नसकेको र अब त्यसलाई पनि हेर्नैपर्ने बताए ।

मुख्यमन्त्री यादवले एक साताभित्रै विश्वासको मत लिने र मन्त्रीपरिषद् विस्तार गर्ने बताए । उनले कांग्रेस, लोसपा र नेकपा एसलाई पनि समर्थन गर्न अनुरोध गरेकाले तत्काल तीन मन्त्रीको मन्त्रालय नतोकिएको बताए ।

उनले समर्थन गरेपछि सरकारमा पनि तीनै दललाई आउन आग्रह गर्ने बताए । उनका अनुसार लोसपा भने सरकारमा आउन तयार भइसकेको छ । कांग्रेस र नेकपा एससँग छलफल चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर