घनश्याम भुसाल आज नेकपा एसमा आउने, तत्काल महासचिव भने नबनाइने – Nepal Press

घनश्याम भुसाल आज नेकपा एसमा आउने, तत्काल महासचिव भने नबनाइने

काठमाडौं । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा आउँदैछन् ।

आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले नेकपा एसमा समाहितको स्वघोषणा कार्यक्रम राखेका छन् ।

भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि सँगै ल्याउने तयारीमा छन् । उनले एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरूलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् ।

भुसाल नेतृत्वको नेपाल अध्ययन केन्द्रमै आवद्ध एमाले नेताहरू पनि उनीसँग नेकपा एसमा सामेल नहुने भएका हुन् । उषाकिरण तिम्सिना, अरविन्द सिंह, टंक कार्की, दीपकप्रकाश भट्टलगायतका नेताहरू घनश्यामसँग नजिक मानिन्छन् ।

अरु उनीनिकट नेताहरु यसअघि नै एमालेमा सांसदको टिकट पाइसकेका छन् ।

भुसालको भने तत्काल कुनै पार्टी नरहेको र एमालेमा फर्किने ठाउँ पनि नभएकाले उनी नेकपा एसमा जानुपरेको निकट नेताहरुले बताएका छन् । माओवादीले आफ्नो कोटाको सीट दिएर उम्मेदवार बनाएका भुसालले पार्टी रोज्ने बेला नेकपा एस रोजेकोमा माओवादी नेताहरुले पनि उनको आलोचना गरेका छन् ।

भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनीत हुने र केही समयपछि महासचिव बन्ने समझदारी बनेको नेकपा एसका नेताहरूले बताएका छन् । भुसालले नेकपा एसको महासचिवको भूमिकामा रहेर वृहत वाम एकता हुँदै साविक नेकपाको अवस्थामा कम्युनिस्ट पार्टीहरूलाई फर्काउन पहल गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर