भुसाल भोलि नेकपा एसमा समाहित हुँदै, एमाले छाड्न गरेको प्रस्ताव उनीनिकट अधिकांशले मानेनन् – Nepal Press

भुसाल भोलि नेकपा एसमा समाहित हुँदै, एमाले छाड्न गरेको प्रस्ताव उनीनिकट अधिकांशले मानेनन्

तत्काल नेकपा एसको सचिवालय सदस्य बन्ने निश्चित, केही समयभित्रै महासचिव बनेर वृहत वाम एकतामा लाग्ने

काठमाडौं । एमाले छाडेर माओवादीको समर्थनमा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार पत्रकार सम्मेलनमार्फत नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

शुक्रबार अपरान्ह भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई समेत नेकपा एसमा सामेल गर्ने भएका छन् । भुसालले नेकपा एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरुलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् ।

भुसाल नेतृत्वको नेपाल अध्ययन केन्द्रमै आवद्ध एमाले नेताहरु पनि उनीसँग नेकपा एसमा सामेल नहुने भएका हुन् । उषाकिरण तिम्सिना, अरविन्द सिंह, टंक कार्की, दिपक प्रकाश भट्ट लगायतका नेताहरु घनश्यामसँग नजिक मानिन्छन् ।

अरु उनीनिकट नेताहरु यसअघि नै एमालेमा सांसदको टिकट पाइसकेका छन् । नेकपा एमालेभन्दा नेकपा एस कुनै अर्थमा क्रान्तिकारी पार्टी नभएको र पाँच वर्षभित्रमा एमाले, माओवादी र नेकपा एस एकै ठाउँमा आउनुपर्ने भएकाले आफूहरु नेकपा एसमा नजाने तिम्सिनाले बताइन् ।

भुसालको भने तत्काल कुनै पार्टी नरहेको र एमालेमा फर्किने ठाउँ पनि नभएकाले उनी नेकपा एसमा जानुपरेको निकट नेताहरुले बताएका छन् । माओवादीले आफ्नो कोटाको सीट दिएर उम्मेदवार बनाएका भुसालले पार्टी रोज्ने बेला नेकपा एस रोजेकोमा माओवादी नेताहरुले पनि उनको आलोचना गरेका छन् ।

भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनित हुने र केही समयपछि महासचिव बन्ने समझदारी बनेको नेकपा एसका नेताहरुले बताएका छन् । भुसालले नेकपा एसको महासचिवको भूमिकामा रहेर वृहत वाम एकता हुँदै साविक नेकपाको अवस्थामा कम्युनिस्ट पार्टीहरुलाई फर्काउन पहल गर्ने बताएका छन् ।


प्रतिक्रिया

3 thoughts on “भुसाल भोलि नेकपा एसमा समाहित हुँदै, एमाले छाड्न गरेको प्रस्ताव उनीनिकट अधिकांशले मानेनन्

  1. मंसिर ४ को निर्वाचनमा माओवादीहरुले हालेका मतहरुले भरिएर बाकस आउछन् र म जित्छु भन्थे। अब किन रहेछ एस भन्ने पार्टीमा आउने? यिनका कुरा र व्यवहारमा आकाश पातालको फरक छ। यिनी महासचिव तोकिए भने अर्का बेदुराम भन्ने भुसालको हैसियत के हुन्छ होला? बेदुरामले वडासदस्य जित्न सक्दैनन् भने घनश्यामका गफले चिउरा भिज्दैन। झिनो स्वार्थको लागि कसरी हाम फालेर घनश्याम हिडेका थिए सामाजिक सन्जालमा पार्टी छोडेको कुरा सम्प्रेषण गरेर। यिनमा इमान्दारी कत्ती पनि देखिएन।यिनिहरुलाई नेता मानेर जानेहरुको राजनीतिक भविष्य हुन्न भन्ने कुरा छर्लङ्गै छ।

  2. राम्रो काम ।एमालेका रोगहरू अन्यत्र लाग्दा एमाले सफा हुन्छ । अब एउटा जान बाँकी छ रावल ।अनि अहिले एमाले सफा कन्चन हुन्छ ।

    1. बढार्नु पर्ने कसिंगर हुरीले बढारे हाई सन्चो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर