घनश्यामलाई नेकपा एसको आग्रह- एमालेको नवौं महाधिवेशनको निर्णयमा प्रतिबद्ध छौं, छिटो आउनुस् (पत्रसहित) – Nepal Press

घनश्यामलाई नेकपा एसको आग्रह- एमालेको नवौं महाधिवेशनको निर्णयमा प्रतिबद्ध छौं, छिटो आउनुस् (पत्रसहित)

काठमाडौं । नेकपा एसका वाम एकता वार्ता समिति संयोजक बेदुराम भुसालले घनश्याम भुसाललाई पार्टीमा स्वागतका लागि पठाएको पत्रमा नेपालको कम्युनिष्ट आन्दोलन फेरि एकीकृत हुँदा नेकपा एसमा कायम रहेको सैद्धान्तिक विन्दुमा फर्किनुपर्ने भुसालको विश्लेषण मेल खाएको उल्लेख गरेका छन् ।

‘नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण र एकीकरणका लागि प्रस्ताव’ भनी भुसालले लिखितरूपमा प्रस्तुत गर्नु भएका प्रस्तावहरू अध्ययनसहित केन्द्रीय सचिवालय बैठकमा छलफल गरेको पत्रमा लेखिएको छ ।

‘तपाईंले प्रस्तुत गर्नु भएका प्रस्तावहरू पार्टीले अहिले अँगालेको नीति, विचार, सिद्धान्त र दृष्टिकोणसँग मिल्दा छन् र सकारात्मक छन्’, संयोजक वेदुरामले लेखेका छन् ।

इतिहासमा भएका सबै उपलब्धि र कमजोरीहरू साझा विरासत भएको भन्दै नेकपा एसको पत्रमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकताले समाजवादी क्रान्तिका लागि तयार गरेको आधार संसदको विघटन र नेकपाको विभाजनले भत्काएको उल्लेख गरिएको छ ।

एमाले-माओवादी दुवै राजनीतिक, वैचारिक र कार्यदिशाको सवालमा पछाडि फर्के पनि नेकपा एस सैद्धान्तिक, वैचारिक र कार्यक्रमिक रूपमा अहिले पनि नेकपाकै विन्दुमा रहेको दाबी गरिएको छ ।

‘नेपाली क्रान्तिको अबको कार्यदिशा समाजवाद निर्माणतर्फ अगाडि बढ्ने हो भन्ने नेकपा (एमाले) को नवौँ महाधिवेशनको निर्णयप्रति नेकपा (एकीकृत समाजवादी) अहिले पनि प्रतिबद्ध छ । नेपाली क्रान्तिको आजको कार्यदिशा त्यही नै हो । समाजवादको ठोस कार्यक्रम बनाएर अगाडि बढ्नु र त्यो कार्यक्रम बोक्ने पार्टी निर्माण गर्नु आजको आवश्यकता हो ‘, घनश्यामलाई लेखिएको पत्रमा लेखिएको छ ।

अब छिटोभन्दा छिटो नेकपा एसमा आएर नेपाली कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको महान अभियानमा सरिक हुन भुसाललाई आग्रह गरिएको छ ।

एमाले परित्याग गरेर मंसिर ४ को निर्वाचनमा स्वतन्त्र चुनाव लडेका घनश्याम नेकपा एसमा महासचिव मागेका छन् । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ।

भुसालले एमालेबाट आफूसँगै केही नेता कार्यकर्ता पनि लैजान कसरत गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर