राजकुमार शर्मा : ‘जनयुद्ध’ कमाण्डरदेखि कर्णाली प्रदेश मुख्यमन्त्रीसम्म – Nepal Press

राजकुमार शर्मा : ‘जनयुद्ध’ कमाण्डरदेखि कर्णाली प्रदेश मुख्यमन्त्रीसम्म

सुर्खेत । नेकपा माओवादी केन्द्रका नेता राजकुमार शर्मा (आर्ट) कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् । उनी सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

कर्णाली प्रदेशसभाका २५ जना सांसदको समर्थनमा बुधबार मुख्यमन्त्रीमा दाबी गरेका उनलाई प्रदेश प्रमुख तिलक परियारले तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका छन् । कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि चार दलको सर्मथनमा माओवादी केन्द्रका नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

उनलाई नेकपा एमाले, राप्रपा र एकीकृत समाजवादीका २५ जना सांसदले समर्थन गरेका छन् । जसमा माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपा र नेकपा एसका एकएकजना सांसद छन् ।

माओवादी पोलिटव्युरो सदस्य शर्मा रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका थिए । सत्ता गठबन्धनमा कर्णालीमा माओवादी केन्द्र पहिलो दल हो ।

शर्मा २०२८ सालमा रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउँमा जन्मिएका हुन् । उनी सानैदेखि राजनीतिप्रति उत्सुक थिए । २०४१ सालमा स्कुल पढ्दै शर्मा अनेरास्ववियूको राजनीतिमा संलग्न भए । २०४१ सालमै आफ्नै घरमा आयोजित अनेरास्ववियूको क्षेत्रीय सम्मेलनमा शर्मा सहभागी भए । त्यसपछि राजतन्त्रविरोधी कम्युनिष्ट राजनीतिमा होमिएको उनी बताउँछन् ।

२०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर उनी विद्यार्थीको इकाई कमिटी सदस्य भएका थिए । उनले २०४६ सालमा मोटो मशालको पार्टी सदस्यता लिए । त्यसलगत्तै २०४७ सालदेखि शर्मा मशालको पूर्णकालीन रुपमा राजनीतिमा होमिए ।

२०४८ सालमा सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मशाल र मसालबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र गठन भयो । एकता केन्द्रको खुला मोर्चाका रूपमा जनमोर्चा स्थापना गरिएको थियो । सोही जनमोर्चाको वैधानिक राजनीतिक गतिविधिमा शर्मा सक्रियतापूर्वक लागिपरे ।

त्यो वेलामा आफ्नो अगुवाइमा जनसेवा तथा जनपरिचालनमार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकताका बारेमा जनजागरण, स्थानीय जालीफटाहाविरोधी जनसंघर्षका थुप्रै गतिविधि भएको शर्मा बताउँछन् ।

२०५० सालमा महतको फूलबारी जङ्गलमा ४५ दिने सशस्त्र तालिम व्यवस्थापन गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका रहेको थियो । त्यसवेला महतको फूलबारी जंगल निकै चर्चित थियो । २०५०/५१ सालमा जनयुद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण वर्गसंघर्ष तथा थुप्रै जनसंघर्षका कामको शर्माले नेतृत्व लिएका थिए । जनयुद्धपूर्व नै उनी माओवादीको पूर्णकालीन राजनीतिमा होमिएका थिए ।

शर्माले २०५२ साल फागुन १ गते रुकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका थिए । २०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माले आफ्नो लागि उक्त लडाइँ विशेष स्मरणीय रहेको बताए । एउटा एसल्ट टीम (आक्रमणमा सहभागी मुख्य लडाकू टीम) को कमाण्ड गरी शर्मा उक्त लडाइँमा सहभागी भएको शर्माको भनाइ छ ।

उनका अनुसार उक्त लडाइँमा मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेकाले आफूलाई विशेष स्मरणीय रहेको उनले बताए ।

जनयुद्धको विस्तारका लागि २०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर उनले विभिन्न कमाण्डको नेतृत्व गरे । सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेखलगायतका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्ज भए । कर्णालीमा जनयुद्धको विस्तार तथा माओवादी आधार इलाका निर्माणमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।

जहाँ अप्ठ्यारो परिस्थिति सृजना हुन्छ, त्यही क्षेत्रमा शर्मालाई खटाइन्थ्यो । जसअनुसार उनी २०६१ सालमा दैलेखमा खटाइए । त्यसवेला दैलेखमा माओवादीविरूद्ध प्रतिकार अभियान चलाइएको थियो । शान्ति प्रक्रियासम्म दैलेखको नेतृत्व गरेका शर्माले शान्ति प्रक्रियापछि थारुवान राज्य समिति (दाङ-कञ्चनपुर) को प्रमुख भएर काम गरे ।

‘जहाँ टेक्यो त्यही उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माले २०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरे । त्यही कालमा उनले माओवादीको केन्द्रीय प्रचार विभागमा रहेर काम गरेका थिए ।

गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष भैसकेका शर्मा २०७४ सालमा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएका थिए । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको इञ्चार्ज रहेका उनी २०७८ मा भएको पार्टी महाधिवेशनपछि पोलिटव्युरो सदस्य चयन भएका छन् । त्यस्तै २०७८ मै पार्टीको कर्णाली प्रदेश अध्यक्ष भए ।

उनका समकालीन एवं सहकर्मीहरू थुप्रैले राज्य सञ्चालनका थुप्रै अवसर पाए पनि हालसम्म विशेष अवसर र सुविधाको पद धारण नगरेका शर्माले २०७९ मंसिर ४ मा भएको निर्वाचनबाट प्रदेशसभा यात्राको पहिलो प्रयासमै कर्णालीको मुख्यमन्त्री हुने मौका पाएका छन् ।

राज्यसत्ता परिवर्तन गर्न जनयुद्धका क्रममा सिंगाे कर्णालीलाई पैदलै चहारेका शर्माले कर्णालीको तेस्रो मुख्यमन्त्री नियुक्त भएपछि आफ्नो प्रदेशका दूरदराजका जनताको मुहारमा खुशी र सम्पन्नता ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर