भाइरल मूर्तिमा मन्जुल मितेरीको टिप्पणी: मूर्ति सभ्यताको साक्षी हो, कसैले पनि खेलाँची गर्नुहुन्न – Nepal Press
नेपाल टक

भाइरल मूर्तिमा मन्जुल मितेरीको टिप्पणी: मूर्ति सभ्यताको साक्षी हो, कसैले पनि खेलाँची गर्नुहुन्न

काठमाडौं । नेपाली कलाकारहरु कलाकारिता त्यागेर वैदेशिक रोजगारीमा गएका खबर आइरहन्छन् । अझ विकसित देशमा पुगेर भागेका खबरका किस्ताहरु नेपाली मिडियामा बखतबखत आई नै रहन्छन् ।

सन् २०१६ मा भने जापान पुगेका नेपाली कलाकारहरुले सुन्दर खबर बनाए । जापानको किमामोतो प्रिसेक्चरको एक अजंगको पहाडमा बुद्ध मूर्ति बनाउन नेपालीहरु जापान पुगेका थिए । मन्जुल मितेरीको नेतृत्वमा पुगेका गणेश राई, जीवन पौडेल, रामकुमार राई, चतुरलाल राजवंशी, सुवास विश्वकर्मा, सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, सूर्य केसी मध्यरातलगायतका नेपाली कलाकारहरुले ६ वर्ष लगाएर विभिन्न चरणमा जोडिएर मूर्ति बनाए ।

बुद्धभूमिका कलाकारबाट बुद्ध मूर्ति बनाउने परियोजनामा रहेका नेपाली कलाकारहरुलाई त्यत्तिमै बिदा गरिएन । अहिले मूर्ति परिसरमा रहेका केही भित्ताहरुमा ड्रागनका मूर्तिहरु बनाउन नेपाली कलाकारहरु जापानमै व्यस्त छन् । अहिले पनि मन्जुल मितेरी नेतृत्वमा चतुरलाल राजवंशी, जीवन पौडेल, गणेश राई, रामकुमार राई र सुवास विश्वकर्मा मूर्ति बनाउन खटिइरहेका छन् । जापानी व्यापारी ओमिसा सिजुकीको सप्न परियोजनामा जोडिएका नेपाली मूर्तिकारहरुले जापानमा तारिफ पाइरहेका छन् ।

नेपाली मूर्तिकलाको विश्व जगतमा पहिचान बनाउन जापानमा पाँच नेपाली कलाकारले मूर्तिकलामा एकपछि अर्को सुन्दर मानक बनाएको खबर आइरहँदा हालसालै नेपाली सामाजिक सञ्जालमा भने नेपालमा बनेका केही कुरुप बजारे मूर्ति विमर्शले बजार ततायो । धेरै खालका गसिपहरु बजारमा आइसकेका छन् । बाघका नयाँ प्रजाति फेला पारेका कुरा आएका छन् । बुद्धदेखि बीपीलाई बिगारेर बनाएका मूर्तिकलाहरु आएका छन् । यसै मेसोमा जापानको ज्यादै व्यस्त समय दिएर कलाकार मन्जुल मितेरीले नेपाल प्रेससँग संक्षिप्त मूर्ति कुराकानी गरेका छन्ः

– तपाईंहरु पाँच जनाले जापानमा स्तरीय मूर्तिहरुको काम गर्दा नेपालमा सामाजिक सञ्जालमा खराब मूर्तिहरुको भाइरल भयो । पहिलोपटक त्यो देख्दा तपाईंहरुले के गर्नुभयो ?

हामी हाँस्यौं (हाँस्दै) । हामीले पश्चिमको बाघको मूर्तिदेखि पाँचथरकै बुद्धका मूर्तिहरुसम्म हेरेर हाँस्यौं । केही युट्युब अन्तर्वार्ताहरु हेर्दा बाघ बनाउने कलाकारले २५ लाख दिएको भए बोल्ने बाघ बनाउँथे भन्नुभएको रहेछ ।

आफूले कलालाई कत्तिको न्याय गरेको छु भन्ने कलाकारले बुझ्नुपर्छ । मूर्ति र कलाकारितामा खेलाँची गर्नुहुन्न । कलाकारले कलाको महत्व बुझ्नुपर्छ । कलाको इज्जत गर्नुपर्छ ।

– यस्ता मूर्तिहरु कसरी बन्छन् ?

यस्ता मूर्ति बन्नुमा दुई पक्षकै दोष छ । पहिलो पक्ष स्वयं कलाकार । आफूले कलालाई कत्तिको न्याय गरेको छु भन्ने कलाकारले बुझ्नुपर्छ । मूर्ति र कलाकारितामा खेलाँची गर्नुहुन्न । कलाकारले कलाको महत्व बुझ्नुपर्छ । कलाको इज्जत गर्नुपर्छ । यसो भन्दैमा सस्तो सामानमा कला बन्दैन । बाघ बनाउने कलामा आए जस्तो २५ हजारमा त एउटा राम्रो ढुंगा पनि आउँदैन । दुइटा ग्रिन्डर पनि आउँदैन ।

कलालाई बनाउनेले मात्रै होइन लगानी गर्नेले पनि इज्जत दिनुपर्छ । मूर्तिकारहरुका अनुसार उमेरअनुसार एकै आकृतिका पनि फरकफरक मूर्ति बन्छन् । मूर्तिकारहरुको अनुभवअनुसार पनि मूर्ति फरकफरक हुन्छन् । तर, कला सबैमा हुनुपर्छ । कला राम्रो बनाउन राम्रो लगानी पनि आवश्यक पर्छ । नेपालमा सार्वजनिक ठाउँमा राखिएका मूर्तिहरु विभिन्न संस्थाहरुले बनाएका छन् । खराब मूर्ति बनेको छ भने बनाउनेको जस्तै राख्नेको पनि गल्ती हो । त्यस्ता संस्थाहरुले राम्रा कलाकारलाई ल्याएर राम्रा मूर्ति बनाउन सक्छन् । त्यसो गरेको भने धेरै पाइँदैन ।

– मूर्तिकलामा भएको हेलचेक्याइँलाई कसरी रोक्ने ?

मूर्ति भनेको समयको ऐना हो । मूर्ति भनेको सभ्यताको साक्षी हो । मूर्ति भनेको समाजको साक्षी हो । यस्ता मूर्तिहरुमा कसैले पनि हेलचेक्याइँ गर्नुहुन्न । कलाकार र लगानीकर्ता, समाज कसैले पनि मूर्तिमा खेलाँची गर्नुहुन्न । एनाटोमी नमिलेका मूर्तिहरुलाई भन्दा मिलेकालाई प्राथमिकतामा राख्नुपर्छ । कलाकार र लगानीकर्ता दुवैले इज्जत गर्नुपर्छ । नेपाली मूर्तिकलामा थप मेहनत गर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर