प्रधानमन्त्री प्रचण्डले असाधारण बहुमत पाएको प्रतिनिधिसभा बैठकमा जे देखियो (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्डले असाधारण बहुमत पाएको प्रतिनिधिसभा बैठकमा जे देखियो (भिडिओ)

काठमाडौं । मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएका छन् । नेपालको संसदीय इतिहासमै अभूतपूर्व संख्याको समर्थनसहित उनले आफ्नो तेस्रो पटकको नेतृत्वमा सानदार ‘इन्ट्री’ गरेका छन् ।

प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिनका लागि प्रस्ताव पेश गर्न रोष्टममा बोलाएसँगै लिखित सम्बोधनसहित आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

आफू विगत दुईपटक प्रधानमन्त्री हुँदा गरेका केही कार्यहरु र अनुभव सुनाउँदै प्रचण्डले आफूलाई विश्वासको मत मागे । संसदमा ठूलो दल रहेको नेपाली कांग्रेससँगको गठबन्धन टुटेपछि नेकपा एमालेलगायत सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले भारी मतसहित विश्वासको मत प्राप्त गरे ।

भिडिओ

मतदानमा २७० जना सांसद सहभागी भएका थिए । जसमा २६८ जनाले प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गरे भने दुइजना (चित्रबहादुर केसी र प्रेम सुवाल)ले विपक्षमा मतदान गरे । प्रचण्डले प्राप्त गरेको मत करिब ९९ प्रतिशत हो जुन नेपालको इतिहासमा दुर्लभ हो ।

‘बुलेट’बाट ‘ब्यालेट’को राजनीतिमा पहिलोपटक प्रवेश गरेको माओवादी २०६४ मा पहिलो पार्टी बनेको थियो । त्यस्तै, ०७० मा भएको निर्वाचनमा तेस्रोमा खुम्चिएको थियो । यद्यपी विभिन्न राजनीतिक समीकरणमा खेल्न माहिर प्रचण्ड त्यसयता शक्तिमै रहेका छन् । जसको पछिल्लो अवस्थाले पुनः उनी प्रधानमन्त्री मात्रै बनेनन् आफ्नो पार्टीगत हैसियत निकै खुम्चिँदा पनि शक्तिशाली प्रधानमन्त्रीको रुपमा आफूलाई उभ्याएका छन् ।

संसदमा कसले के भने ?

प्रचण्डले आफू यस पटक ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित रोस्टममा उभिएको बताए । ‘म यसअघि नौ–नौ महिना दुईपटक प्रधानमन्त्री भएँ । आज यो स्वीकार गर्न मलाई कुनै संकोच छैन, पहिलोपटक प्रधानमन्त्री हुँदा मसँग न अनुभव थियो, न टिम । विभाजित मनोदशामा थिएँ र पार्टीभित्रैको संघर्षमा बढी रुमल्लिएँ । सिक्दासिक्दै, भित्र र बाहिरका घेराबन्दीसँग जुध्दाजुध्दै एउटा अप्रिय अवस्थामा मैले प्रधानमन्त्रीबाट राजीनामा दिएँ । तैपनि मैले त्यसबेला सुरू गरेका कामले राष्ट्रिय जीवनमा आज पारेको प्रभावबाट थोरै भए पनि सन्तोष हुन्छ ।’

उनले दोस्रो पटकमा छोटो कार्यकाल सफल कार्यकालका रूपमा इतिहासमा दर्ज भएको बताउँदै तेस्रो पटक प्रधानमन्त्रीका लागि विश्वासको मत मागे । ‘आज परिस्थितिवश तेस्रोपटक प्रधानमन्त्रीका रूपमा विश्वासको मतका लागि अनुरोध गर्न म यो सम्मानित संसदमा उभिएको छु । मैले भनिहालेँ, म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु । विश्वासको मत पाएँ भने म प्रधानमन्त्रीको यो कार्यकाल यो इमान्दार स्वीकारोक्तिका साथ सुरू गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहीं न कहीँ चुकेका छौँ । जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्ने गरी कार्यकाल सुरु गर्न म यो संसदको विश्वास चाहन्छु ।’

उनले धेरै समय विकास निमार्णका योजना सुनाउनमा खर्चिए । आफुले यस अघि दुई पटक प्रधानमन्त्री हुदाँ गरेका कामको फेहरिस्त सुनाउनमा पनि केहि समय खर्चिए । अन्तिममा उनले विस्वासको मत माग्दै भने, ‘म सबै दल र माननीय सदस्यलाई आग्रह गर्दछु, आउनुहोस्, यसपटक संसदमा नयाँ अध्याय सुरु गरौँ । त्यसै पनि नेपालको राजनीति केही कमजोरीका बाबजुद अन्यत्रभन्दा धेरै भिन्न छ । अन्यत्र हामी धेरै बदलाभाव देख्छौं, यहाँ प्रतिशोधलाई धेरै ठाउँ छैन । हामीकहाँ राजनीतिक संवादहीनता पनि लामो समय रहन्न । राष्ट्रका संकटमा हामी सबै राजनीतिक दल पटकपटक एकै ठाउँमा उभिएका छौँ । यसपटक पनि संसदको विभाजन नहोस् र देशले एकता र सहकार्यको सन्देश प्राप्त गरोस् । म बिना कुनै पूर्वाग्रह सबै राजनीतिक दलसँग सहकार्यका लागि प्रतिबद्ध छु । सिंगो सदनको साझा प्रधानमन्त्रीका रूपमा मलाई राष्ट्र–निर्माणको नेतृत्व गर्ने एउटा मौका मिलोस् । हामी सबैले आ–आफ्ना ठाउँबाट जनतासँग विकासको प्रतिबद्धता गरेका छौँ । आज त्यही प्रतिबद्धताका लागि हामी सबै एक ठाउँमा उभिन नसक्ने केही छैन ।’

इतिहास आजैबाट सुरु हुन्छ भनेर भन्न नसक्ने भए पनि अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै र सबैप्रति कृतज्ञता व्यक्त गर्दै आफुले एउटा परीक्षा दिन चाहेको बताए । ‘हिजो क्रान्ति सुरु गर्दा जुन आवेग मसँग थियो, बीचमा केही अलमलिए जस्तो देखिए पनि आज त्यही आवेग र अठोटका साथ म यो रोस्टममा उभिएको छु । तेस्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र म यहाँ उभिएको छैन । म विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु । मलाई विश्वासको मत दिएकोमा संसदका हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउने छु । सबैको साथ र सहयोग लिएर राष्ट्र–निर्माणमा होमिन यो सम्मानित सदनसँग प्रधानमन्त्रीका रूपमा म विश्वासको मतका लागि अनुरोध गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधन सकेर फर्किदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली,उपप्रधानमन्त्री नारायाणकाजी श्रेष्ठ, बिष्ष्णु पौडेल रवि लामिछाने, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसंग हात मिलाउदैँ सिटमा बसे । त्यसपछि जेष्ठ सदस्य पशुपतिशमसेर जवराले दलीय आधारमा प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई सम्बोधन गर्न बोलाए ।

काँग्रेस सभापतिसमेत रहेका देउवा हातमा फाइल बोकेर मन नलागी नलागी हिडे जसरी रोष्टममा पुगे । रोष्टममा पुगेपछि खोक्दै सम्बोधन सुरु गरे । लिखित तस्तावेजसहित करिव १५ मिनेट बोलका देउवाले राष्ट्रपति समक्ष दावी गरे अनुसार नै समर्थन कायम राख्नु भएको होला भन्ने विस्वास व्यक्त गरे । उनले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने र संघीय संसदमा प्रमुख विपक्षी दलको रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको जानकारी गराए । उनले भने, ‘म सिंगो सदन र सदन मार्फत सम्पूर्ण जनतालाई आग्रह गर्न चाहन्छु, हामी प्रतिपक्षमा रहँदा विरोधका लागि विरोध वा समर्थनका लागि समर्थन गर्ने छैनौ । सरकारका काम कारवाहीको सुक्ष्म रुपले मूल्याकंन गरि गुण र दोषका आधारमा विश्लेषण गरि आफ्नो धारणा बनाउने छौं सोहि आधारमा समर्थन र विरोधको नीति निर्धारण गर्नेछौं ।’

प्रतिनिधि सभाको पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले यस अघि संसद विघटन गर्ने आफ्नो निर्णय स्वभाविक भएको बताएकोप्रति देउवाले आपत्ती जनाए । उनले भने, ‘संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्रीसहित हामी एक ठाउँमा उभिएका थियौ । सम्माननीय सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप विघटित संसदको पुर्नस्थापना गरेको थियो । आज फेरि बर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ । वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परिक्षणको घडी हो ।’ यस्तो भन्दै गर्दा देउवाले काँग्रेसका सांसदले टेबुल बजाए ।

एमाले अध्यक्ष ओली भने चिउडो सुम्सुम्याइरहेका थिए । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधामन्त्री नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रवि लामिछानेले पनि देउवाको भाषण ध्यान दिएर सुनिरहेका देखिन्थे । देउवाले आफ्नो सम्बोधन सकेर रोष्टमबाट फर्किदैँ गर्दा देउवाले परैबाट हात दिएपछि ओली पनि आफ्नो सिटबाट जुरुक्क उठेर देउवासँग मुसुमुसु हास्दै दुवै जनाले हात मिलाए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले पनि जुरुक्क उठेर देउवासँग हात मिलाए । त्यसपछि बोल्ने पालो आयो एमाले अध्यक्ष केपी शर्मा ओली । जेष्ठ सदस्य जवराले नाम लिने वित्तिकै ओली जुरुक्क उठेर मुसुमुसु हास्दै रोष्टममा पुगे । ओली रोष्टममा पुग्दै गर्दा वल्लो पल्लो लाइनमा बसेका प्रधानमन्त्री प्रचण्ड र देउवाविचमा कुराकानी भयो ।

करिव २० मिनेट सम्बोधन गरेका ओलीले सबैभन्दा पहिले प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिने निर्णय गरेकोमा धन्यवाद दिए । त्यतिबेला देउवाले आफ्नै गाला सुम्सुम्याए । ओलीले प्रतिपक्ष दलले पनि लोकतन्त्रको नयाँ भाष्य स्थापित गरेको भन्दै गर्दा देउवा टाउको हल्लाउदैँ मुसुमुसु हासिरहेका थिए । प्रतिपक्ष दलले नै विस्वासको मत दिने निर्णय गरेपछि देउावको एक शब्द पनि खण्डन गर्नु भएन भनेका ओलीले तर एउटा कुरा गर्छु भन्दै खण्डन गर्न सुरु गरिहाले । ओलीले आफुले यस अघि संसद विघटन गर्ने निर्णयको बचाउ गर्दै देउवालाई नै संसद विघटनको गुरु सम्बोधन गर्दै भने, ‘गुरुजी ! आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ? २०५१ मा मैले विघटन गरेको हो ? माननीय शेरबहादुरजीले २०५८ साल असारमा संसद् विघटन गरेर असोज १८ र माघ १९ मा पुगेको होइन ? यहाँले होइन पटकपटक संसद् विघटन गरेको ? १५ सालमा संसद बनेको १७ सालमा राजा महेन्द्रले, ५१ सालमा काँग्रेसले संसद विघटन गरे । आफुले गरेको कतिपटक गरियो भनेर हिसाव नराख्ने । देउवाले ५८ सालमा संसद विघटन गरेको होइन । यहाँले होइन र विघटन गरेको, आफुले समर्थन गरेको सबैले विरोध गर्दा पनि । मौका अनुसारको व्याख्या राजनीतिमा गर्नु हुदैँन । सत्तापक्ष, प्रतिपक्ष भनेको के हो ?

ओलीले थप्दै भने, ‘मत माग्न खोजेको थिए, समर्थन गरिनै हालेपछि धन्यवाद ।’ देउवाले कान कोट्याए । आफुले अघिल्लो दिन भनेको कुरा सुनेर काँग्रेसले समर्थन गरेकोमा फेरी पनि धन्यवाद दिए । ओलीले प्रधानमन्त्री प्रचण्डको बिरोध कुनै ठाउँ नै नभएको दाबी गरे । ओलीले यसो भनिरहदाँ प्रचण्ड चिउडोमा समाउदैँ हासिरहेका थिए । काग्रेसका युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा एक आपसमा कुराकानी गर्दै हासिरहेका थिए ।

प्रधानमन्त्रीको वक्तव्य विपक्षी दलको गर्ने भन्दा पनि राम्रो आफैप्रति पनि समिक्षात्म भएकोमा ओलीले प्रचण्डको प्रशंसा गर्दै प्रधानमन्त्रीको प्रतिवद्धता एकदमै आसलाग्दो रहेको बताए । ध्यान दिएर सुनिरहेका प्रधानमन्त्री प्रचण्ड टाउको हल्लाइरहेका थिए । आफु र आफ्नो दलले प्रधानमन्त्रीको पक्षमा विस्वासको मत दिने बताउदैँ अरु दल र स्वतन्त्र सांसदलाई पनि उनले विस्वासको मत दिन आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले कांग्रेस र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेको भन्दै कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको भए त्यो सफल नहुने पनि गरे । उनले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने चेतावनीसमेत दिए ।

ओलीले भने, ‘यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’ ओलीको व्यग्य सुनेर एमालेका सांसदले टेबुल ठोकिरहदाँ देउवाले मुसुमुसु हास्दै गाला कन्याए ।

सधै संसद विघटन नहुने भन्दै संसद विघटन भन्ने वित्तिकै काँग्रेसलाई प्रतिगमन नठाउन्न र झसंग नहुन आग्रह गरे । विभिन्न देशमा संसद भंग हुने गरेको उदाहरण पेश गर्दै देउवालाई नै गुरु मानेर संसद विघटन गर्दा निरन्तर प्रतिगमनको हमला भइरहेको बताए ।

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय भएको बताईन । राजनीतिक संकटको समयमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहमतिको सरकार बन्नु सकारत्मक रहेको बताउँदै उनले सहमति दिने सबै दललाई धन्यावादसमेत व्यक्त गरेकी छन् । उनले भनिन, ‘राजनीतिक सकटमा दल एक ठाउँमा उभिनु सकारात्मक कुरा हो । निषेधको राजनीतिलाई तिलाञ्जली दिएकाले यो कुरा ऐतिहासिक छ । प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु गौरवान्वित विषय हो ।’
नेता शर्माले शर्माले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले निषेधको राजनीति अन्त्य गरेको पनि बताएकी छन् । उनले राजनीतिक दलबीच फेरि पनि सहकार्यको आवश्यकता रहेको बताउदैँ देशलाई अप्ठ्यारो परेको वेलामा सबै एकजुट हुने राष्ट्रिय सहमतिको सुरुवात हुन लागेको भन्दै खुसी व्यक्त गरिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने उनको विश्वास छ । कुनै पार्टीले बहुमत प्राप्त गर्न नसकेकाले जनादेशअनुसार नै अहिलेको सरकार बनेको प्रष्ट पारिन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले आजको दिन ऐतिहासिक दिन भएको भन्दै बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्त, अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएका रुकुम पश्चिममा नवराज विकले न्याय नपाएसम्म लोकतन्त्र बलियो नहुने बताए । उनले कमजोर वर्ग, पिधमा परेका वर्गका लागि राज्य बढी आवश्यक रहेको भन्दै दलित, मधेशी, मुस्लिमको पक्षमा सरकार उभिनुपर्नेमा जोड दिए । जनताले राजनीति गर भनेर मात्र नभई आफ्नो पार्टीलाई संसदमा गएर सरकारमा नेतृत्व गर्न म्याण्डेट दिएका कारण लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्न नचाहेकोले सरकारमा सहभागि भएको बताए । उनले अहिलेको गठबन्धनले यस अघिको सानो गठबन्धन टुटाएर ठुलो गठबन्धन बनाउन सफल भएको पनि दाबी गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलको बहुमत नभएकाले सबै राजनीतिक दल मिलेर जानुको विकल्प नभएको बताए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने घोषणा गर्दै उनले सरकारले ल्याएको प्रतिबद्धता सहज नभएको बताए । उनले भने, ‘हामीले प्रधानमन्त्री नियुक्ति हुने बेलामै समर्थनका लागि हस्ताक्षर गरिसकेका छौँ। उहाँले गरेको प्रतिबद्धताले सफलता पाउने विश्वास व्यक्त गर्छु । हामी विश्वासको मत दिन्छौँ ।’

लामो समयदेखि सुशासनको अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीबाट ठोस प्रतिबद्धता आएको बताए । उनले सरकारले पृथ्वीजयन्तीमा बिदा दिने निर्णय गरेकोप्रति आभार व्यक्त गरे । उनले भने, ‘पृथ्वीनारायण साह थिए र नेपाल राष्ट्र छ । राष्ट्र छ र आज प्रधानमन्त्री प्रचण्ड हुन पाउनुभएको छ । राष्ट्रनिर्माताको सम्मान गरेर अगाडि बढ्दा हामी पछाडि फर्केको हुँदैन । त्यो कुनै पार्टीको विचार हुँदैन ।’

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष अशोक राईले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकता अगाडि बढाउन सक्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अहिले पनि पहाड, मधेस र हिमाले सबै बासिन्दालाई पहिचान र समानता दिनुपर्छ । राष्ट्रिय एकतालाई अगाडि बढाउनुपर्छ । त्यसका लागि प्रधानमन्त्री सक्षम हुनुहुन्छ । अनुभवि र उपयुक्त पात्र हुनुहुन्छ ।’ उनले आफ्नो पार्टीले विशवासको मत दिने बताए । सरकारले प्रतिबद्धताअनुसार काम गर्ने विश्वास व्यक्त गरे ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रमुख प्रतिपक्षी दलले पनि विश्वासको मत दिएपछि सरकारप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताए । उनले प्रधानमन्त्री संविधानप्रति प्रतिबद्ध भए नभएको भने ध्यान दिनुपर्ने बताए । उनले भने, ‘मैलै यही रोष्ट्रममा सुनेँ । संसद विघटन गर्न पाइन्छ । यो मान्यता गठबन्धन दलको हो ? यो मान्यता हो भने त्यसले खतरनाक संकेत देखाउँछ । जसरी पहिले प्रतिनिधिसभालाई विघटन गरियो। के यो ब्रिटेन हो ? भारत हो ? पुरानो नेपाल हो ? यो गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ को सरकार हो ? यो २०८५ सालको देउवा सरकार हो ?’

नेपालले प्रधानमन्त्रीलाई आफूखुसी संसद् विघटन गर्ने छुट नदिएको बताउदैँ एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन प्रतिगमन नभएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले अदालतबाट जन्मकैद फैसला पाएर कारागारमा रहेका रेशम चौधरीलाई छाड्न सरकारसँग माग पनि गरे । उनले भने, ‘रेशम चौधरी र टीकापुर घटनाको सन्दर्भमा पनि रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्च प्राथमिकता दिएर लागोस् । उहाँ यसअघिको यही संसदको माननीय हुनुहुन्थ्यो ।’

जनमत पार्टीका नेता अनिता देवीले प्रधानमन्त्रीको विस्वासको पक्षमता मतदान गर्ने भन्दै नागरिकता विधेयक पारित गर्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरिन । यसै मौकामा उनले आफ्नो दलले राष्ट्रिय दल मान्याता नपाए पनि सुविधा भने नपाएको गुनासो गर्दै रेशम चौधरीको रिहाइ गर्नुपर्ने माग पनि गरेकी छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता सवेन्द्रनाथ शुक्लले आफ्नो पार्टीले विस्वासको मत दिने बताउदौ अहिलेको संसदको संरचना हेर्दा संख्याको खेलमा अलमलिने खतरा देखिएको बताए । संख्या कायम गर्न लागि पर्ने अवस्था आउनसक्ने भन्दै विपरित विचारधारलाई संगै लिएर जानु एकदमै चुनौतीपुर्ण रहेको बताए । प्रतिक्ष दल पनि ठुलै दल भएकाले उसलाई सहमति र समझदारीका साथ बढ्नुपर्ने चुनौती पनि सरकारका अगाडी रहेको बताए । शुक्लाले नागरिकता विधेयक लामो समयदेखि विभिन्न बहानामा र अन्तिमम समयमा आएर रोकिदैँ आएकाले यसलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुलाई दया नभई न्याय चाहिएको बताईन । प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताउँदै उनले सम्पूर्ण थारु राजबन्दीको रिहाइ नभएसम्म सरकारमा भने नजाने स्पष्ट पारिन । उनले भनिन्, ‘हाम्रा मतदाताले हामीलाई सम्पूर्ण थारु राजबन्दीको रिहाइ नभएसम्म मन्त्रालयको दैलो नटेक्न खबरदारी गरिरहेका छन् । टीकापुर घटना भइरहँदा घाइतेलाई उद्धार गरेर अस्पताल पु¥याउनेहरु, कपाल काटिरहेकाहरु, तरकारी बेचिरहेकाहरु, रिक्सा चलाइरहेकाहरु र स्कुलमा पढाइरहेकाहरु किन जेलमा छन ?’
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भने आफूले सरकारलाई समर्थन नगर्ने र प्रतिपक्षमा बस्ने बताए । उनले ठुल्ठूला भ्रष्टाचारमा संलग्नलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सुवालले बलात्कारको जघन्य अपराधमा संलग्न, मानव अधिकारको गम्भीर उलंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पु¥याउनेलाई पनि मृत्यदण्डको सजाय दिनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘ठुल्ठूला भ्रष्टाचारी, महिला बलात्कार गरेकालगायतका अपराधि, मानव अधिकारको गम्भीर उलंघन गरेका नेपालको गुह्य कुरा विदेशीलाई पु¥याउने देशद्रोहीलाई अहिलेको संविधान संशोधन गरी मृत्यदण्ड दिने कानुनी व्यवस्था गर्न आवश्यक छ ।’

सांसद सुवालले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दवाव दिए । उनले थप्दै भने, ‘खुला सीमाको कारण ७१ भन्दा बढि ठाउँमा भारतले मिचेको ६० हजार भन्दा बढि नेपाली भूमि फिर्ता लिने, नेपाली भूमि कालापानीबाट भारतीय सेना फिर्ता पठाउने, लिम्पियाधुरासम्म नेपालको प्रशासनिक उपस्थिति गराउने, महाकाली नदी मिचेर भारतले बनाएको तटबन्ध तत्काल भत्काउन जरुरी छ । जिल्ला जिल्ला गुणस्तरीय सडक, कलेज निर्माण गरी देशको सन्तुलित विकास गर्न जरुरी छ ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको बताए । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताए । उनले भने, ‘संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँभन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ ?’

अध्यक्ष केसीले संसदमा शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंकुश हुने पनि बताए । कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने पनि उनले आशंका गरेका छन् । उनले थप्दै भने, ‘बलियो शक्तिशाली प्रतिपक्ष भएन भने त्यो सरकार निरंकुश हुन्छ, त्यसले जे मन लाग्यो उही गर्छ । सबै साथीहरुलाई सरकारमा सामेल भएर विगतमा भएका आफ्नो गल्ती कमजोरी ढाक्ने, त्यहीं भित्र लडामती गरेर एउटालाई पन्छाउने अर्को फेरि सरकारमा आउने ताल त होइन यो ?’ सरकारलाई समर्थन दिएको दलले समर्थन फिर्ता लिंदा पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाको स्मरण गर्दै उनले कांग्रेसले अहिले समर्थन दिएर पछि सरकारलाई अप्ठेरो पार्ने रणनीति हुनसक्ने आशंका गरे ।

उनले भने, ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न त पाइँदैन संसदमा तर दिएको समर्थन थुत्न त संविधानले छेक्दैन नि । त्यस्तो बेला सरकारको हालत के हुन्छ ? त्यही खेलभित्र यो समर्थन त होइन कतै ?’ त्यही खेल हुने आशंकाले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केपी शर्मा ओलीको दोहोरी चलेको पनि अध्यक्ष केसीले बताए । चुनावमा भएको खर्च उठाउन पनि दल सरकारमा जान लालायित भएको हुनसक्ने उनले बताए । ‘बोरामा पैसा लिएर चुनाव जितेर आएकाले सरकारमा नगई, देशको प्राकृतिक साधन स्रोत दोहन नगरी चुनावमा उडाएको खर्च उठ्छ ? यही डरले र विगतमा भएका कमी–कमजोरीबाट बच्न पनि सबै एक ठाउँमा भएका त होइनन् ?’ केसीले आफू भने एक्लै भए पनि प्रतिपक्षमा बस्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर