नेपालगन्जमा रोकिएन दादुराको सङ्क्रमण, छिमेकी तीन पालिकामा पनि सङ्क्रमित थपिए – Nepal Press

नेपालगन्जमा रोकिएन दादुराको सङ्क्रमण, छिमेकी तीन पालिकामा पनि सङ्क्रमित थपिए

रुपन्देही । बाँकेको नेपालगन्जमा फैलिएको दादुरा रोगको सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण रोक्न स्वास्थ्य महाशाखा तथा अन्य कार्यालयले मेहनत गरेपनि नियन्त्रण हुन सकेको छैन ।

आइतबारसम्म यसबाट सङ्क्रमित हुने बालबालिकाको संख्या ७६ पुगेको छ । दादुराबाट ५ नम्बर वडाका ३१ महिने एक बालकको मृत्यु भएको छ । हाल सङ्क्रमित बालबालिकालाई होम आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

बढी सङ्क्रमित तीनवटा वडामा दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार २३ वटा वडामध्ये ११ वटा वडामा दादुरा फैलिसकेको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले पुस १२ गतेबाट देखिएको दादुरा संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं १, २, ५, ७, ८, ९, १०, ११, १४, १५ र २२ मा गरी ७६ जनामा सङ्क्रमण देखिएको बताएका छन् ।

सङ्क्रमित हुनेमा अधिकांश पूर्ण खोप नलगाएका बालबालिका रहेकाले सङ्क्रमण फैलिएका सबै वडामा खोप कार्यक्रम सञ्चालन गरिने चन्दले बताए ।

नेपालले सन् २०२३ को अन्त्यसम्म दादुरा निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य कार्यालय बाँकेले जिल्लामा दादुरा रोगबाट नेपालगञ्ज–५ का एक बालकको मृत्यु भएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले नेपालगन्जमा अहिले खोप लगाउने काम भइरहेको बताए ।

अन्य पालिकामा पनि थपिँदै सङ्क्रमित

नेपालगन्जबाट देखिएको दादुराको सङ्क्रमण जिल्लाका अन्य पालिकामा पनि फैलिन थालेको छ ।

साताअघि नेपालगञ्ज–७ का चार जना बालबालिकामा देखिएको दादुरा अहिले नेपालगञ्ज उपमहानगरपालिकाका साथै जिल्लाका अन्य पालिकामा पनि देखा पर्न थालेपछि चुनौती बढेको छ ।

नेपालगञ्ज, खजुरा र कोहलपुर लगायतका क्षेत्रमा धेरै बालबालिकालाई ज्वरो आउने तथा शरीरमा बिमिरा निस्कने लक्षण देखिएकाले दादुरा प्रभावितको सङ्ख्या बढ्ने आशङ्का गरिएको स्वास्थ्य कार्यालयका अधिकृत नरेश श्रेष्ठले बताएका छन् ।

दादुरा तीव्र गतिमा फैलिरहेको पाइएको जनाउँदै उनले नियन्त्रणका लागि रोकथाम अभियानलाई पनि तीव्र पारिएको बताए । खोप फोकल पर्सनसमेत रहेका अधिकृत श्रेष्ठले दादुरा फैलिएपछि खोप अभियानलाई तीव्र पारिएको जानकारी दिए ।

दादुरा देखिएका स्थानका ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाको पहिचान गरी खोप लगाउने कार्यलाई तीव्रता दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दादुरा देखिएका बालबालिकालाई स्वास्थ्यकर्मीकै निगरानीमा घरमै राखेर उपचार भइरहेको छ । तीमध्ये अधिकांशको स्वास्थ्यमा सुधार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर