मधेसमा दलको नेता छान्न जसपाद्वारा निर्वाचन तालिका सार्वजनिक – Nepal Press

मधेसमा दलको नेता छान्न जसपाद्वारा निर्वाचन तालिका सार्वजनिक

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश संसदीय दलका नेता चयन गर्न चुनाव हुने भएको छ । जसपा मधेस प्रदेश निर्वाचन समितिका संयोजक लालकिशोर साहले संसदीय दलका नेता चयनका लागि निर्वाचन कार्यक्रम कार्यतालिका सार्वजनिक गरेका हुन् ।

तालिकाअनुसार मतदान भोलि (पुस २५ गते) साँझ ५ बजेबाट ६ बजेसम्म हुनेछ । निर्वाचन समितिले भोलि विहान ९ देखि १० बजेसम्म मनोनयन पत्र दर्ता, ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ११ः३० देखि दिउँसो ३ः३० बजेसम्म नाम फिर्ता लिने, ३ः३० देखि ४ बजेसम्म दाबी विरोध र ४ देखि ४ः३० बजेसम्म अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

‘कसैले संसदीय दलमा तत्काल कायम रहेको सम्पूर्ण सांसदहरुको बहुमत प्राप्त नगरेमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः निर्वाचन पुस २६ गते विहान १० देखि १११ बजेसम्म गरिने पनि निर्वाचन समितिले जनाएको छ ।
जसपा मधेस प्रदेशमा संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोज कुमार यादव र साँसद रामअशिष यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

जसपाका एक साँसदले भने, ‘सुरुमा ८ जना माननीयले आकांक्षा व्यक्त गर्नुभएको थियो । तर ५ जना ब्याक हुनुभो । मुख्यमन्त्री, निवर्तमान सभामुख र साँसद रामअशिष जीले जसरी पनि आफू नै दलका नेता हुनुपर्ने अडान राखेपछि सहमती भएन । त्यसैले उहाँहरुबीच नै प्रतिस्पर्धा हुने सम्भावना छ ।’

वुधबार र बिहीबार बसेको संसदीय दलको नेता चयनका लागि सर्वसम्मतीको प्रयास गर्दा पनि नभएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवको जिम्मेवारी दिइएको थियो । तर आज अचानक निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
जसपा मधेस प्रदेशमा १६ सांसद छन् । यो प्रदेशमा जसपाले मुख्यमन्त्री पाउने सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर