इतिहास जोगाउन सेनाको एकीकरण पदयात्रा – Nepal Press

इतिहास जोगाउन सेनाको एकीकरण पदयात्रा

धादिङ । ऐतिहासिक धरोहरको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले सञ्चालन हुँदै आइरहेको एकीकरण पदयात्राको चौथो शृङ्खला बिहीबार गोरखा सदरमुकामबाट सुरु भएको छ । ऐतिहासिक महत्त्वको एकीकरण अभियानलाई हर्षोल्ल्लासका साथ मनाउन पदयात्रा गरिएको नेपाली सेनाले जनाएको छ ।

तत्कालीन गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाह र उनका फौज ओहोरदोहोर गरेको बाटोलाई एकीकरण पदमार्ग नाम दिइएको हो ।

पृथ्वी राजमार्ग सञ्चालनमा आउनु अघि विसं २०३१ साल सम्म चलनचल्तीमा रहेको काठमाडौँबाट नुवाकोट धादिङ हुँदै गोरखा सम्मको पैदलै ओहोरदोहोर गर्ने गरिएको बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्गका रूपमा चिनाउँदै आएको छ ।

पदमार्गको प्रचारप्रसारका लागि भन्दै नेपाली सेनाले गोरखाबाट काठमाडाैँ हरेक वर्ष पौष अन्तिम हप्ता पदयात्रा गर्दै आइरहेको छ ।

पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गरी नेपाली सेनाले एकीकरण पदमार्ग पदयात्रा सुरु गर्न थालेको हो ।

गोरखा दरबार बाट पौष २१ गते बिहीबारदेखि सुरु भएको एकीकरण पदयात्रा पौष २७ गते काठमाडाैं हनुमानढोकामा पुगेर समापन हुनेछ ।

नेपाली सेनाको गोरखा सदरमुकाममा रहेको रिपुमर्दन गणका ३० जनाको सहभागिता रहेको पदयात्राको टोलीले टर्च, राष्ट्रिय झन्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झन्डासहित पदयात्रा सुरु गरेको छ ।

रिपुमर्दन गणले धादिङको शिव दल गणलाई , शिव दल गणको टोलीले नुवाकोटको जबरजंग गणको टोलीलाई टर्च र झन्डा हस्तान्तरण गर्नेछ । पदयात्रा टोली पुस २७ मा काठमाडौं पुग्नेछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा पहिलो पटक विक्रम संवत् १८०० मा नुवाकोट माथि हमला गरे पनि सफलता पाउन नसेकेको र १८ सय २ सालमा लामो तयारी सहित हमला गर्दा गोरखाका राजा शाहले नुवाकोट माथि विजय प्राप्त गरेको इतिहास छ । राज्य विस्तारका लागि शाहको फौज हिँडेको बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्ग घोषणा गरी संरक्षणका लागि पहल गर्दै आइरहेको छ ।

तत्कालीन समयमा काठमाडौँको हनुमान ढोका र गोरखा दरबारसम्मको दूरी २६ कोष टाढा रहेको र २६ वटै कोषहरूका कोषेढुंगा गाडिएकोमा ७ वटा कोषे ढुंगा धादिङ जिल्लामा रहेका छन् ।

धादिङको सल्यानटार रानी पौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुन्जे, भोगटेनी र थर्पु मा कोषे ढुंगा छन् । पदयात्रा टोली यी नै कोषे ढुंगा भएर अघि बढ्नेछ ।

धादिङ खण्डमा मात्र पदमार्ग कुल ४२ किलोमिटरको दुरी रहेको छ । पौष २१ बाट सुरु भएको पदयात्रा पौष २७ गते पृथ्वी जयन्तीका दिन सकिने छ ।

एकीकरण पदमार्गको यात्रा ऐतिहासिक गोरखा दरबारबाट सुरु हुने गर्दछ । गोरखा दरबार नजिकैको हनुमान भन्ज्याङ, काठमाडाैंको हनुमानढोकाबाट २६ कोसको दुरीमा रहेको छ । त्यहाँबाट पोखराथोक, मेलबिसौना, कोखेआहाले हुँदै झण्डै एक घण्टाको उकालो चढेपछि ताप्लेकोट पुगिन्छ । अहिले गोरखा नगरपालिकाको वडा नम्बर २ मा पर्ने ताप्लेकोट हनुमानढोकाबाट २४ कोसको दुरीमा रहेको जनाउ दिने कोसेढुङ्गा सो ठाउँमा अहिले पनि देख्न सकिन्छ ।

ताप्लेकोटबाट आधा घण्टाको ओरालो यात्रा गरेपछि गोरखा–आरुघाट सडक किनारको झिँगटे बजार छ, जुन ठाउँ भीमसेन थापा गाउँपालिकाको सिमाना समेत हो । पदयात्राको दोस्रो दिन बोर्लाङ गाउँबाट १५ मिनेट उकालो चढेर बोर्लाङकोटको अवलोकन गर्दै दोस्रो दिनको यात्रा सुरु हुने गर्दछ । यात्राको क्रममा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको घरको भग्नावशेष बाटो समेत देख्न सकिन्छ ।

पुराना इँटा र बुट्टेदार काठपात अहिले पनि भग्नावशेष आसपास यत्रतत्र छरिएको देखिन्छ । भीमसेन दरबारबाट केही मिनेटको पैदल यात्रापछि भने पुरानै पैदल बाटो भेटिन्छ र जङ्गलै जङ्गल आधा घण्टाको ओरालोपछि यात्रा टोली बोर्लाङको महादेवटार पुग्दछ ।

जङ्गलकोबीचमा पनि भीमसेन थापाकालीन हिटी चौतारा, पौवा धारो र पुरानो पौवाको अवलोकन गर्न सकिन्छ भने महादेवटारमा रहेको जागेश्वर माविको आडैमा भीमसेन थापाकालीन पुरानो कलात्मक धारो छ ।

विसं १८७६ सालमा निर्माण गरिएको धारोमा पानी नआए पनि झण्डै डेढ किलोमिटर परको मुहानबाट धारोसम्म पानी ल्याउन झिँगटीले बनाइएको नहरको भग्नावशेष भने यात्रा क्रममा देख्न सकिन्छ ।

महादेवटारबाट घाटबेसी हुँदै बूढीगण्डकी नदीको झोलुङ्गे पुल तरेपछि पदयात्रा टोली धादिङ जिल्लाको सिमानामा पुग्दछ । धादिङको कछारगाउँ हुँदै यात्राटोली सल्यानटारतर्फ अघि बढ्छ । कछारगाउँमा कुमाल र माझी बस्ती रहेको छ । पैदलमार्गबाट यात्रा गर्नेहरूलाई काठबाट निर्मित डुङ्गाबाट नदी वारपार गराउने गरेको बुढापाका माझीहरू बताउँछन् ।

यात्रा अघि बढ्दै जाँदा सल्यानटारबाट पौवा डिल–खोल्छी–कुमालखोला हुँदै त्रिपुरासुन्दरीको मन्दिर पुग्दछ । त्रिपुरासुन्दरीलाई घर र माइती आवतजावत गर्ने देवीका रूपमा पनि चिनिन्छ । त्यहाँबाट हाँसे–सुकौरा–खहरे बजार हुँदै खहरेबाट अचने,चरङ्गेफेदी पुगेपछि आधा घण्टाको उकालो चढेपछि चरङ्गे गाउँ पुगिन्छ ।

चरङ्गे गाउँबाट केहीबेर उकालो लागेपछि कटुन्जे बजार पुगिन्छ । भादगाउँबाट बसाइ सरेर आएकाहरूले स्थापित गरेको कटुन्जे बजारमा बज्राचार्य, शाक्य, मानन्धर, गुभाजू लगायतका समुदायको बसोबास रहेको छ । अहिलेको नेत्रावती डबजोङ गाउँपालिका ५ मा पर्ने कटुन्जे बजारमै निकै आकर्षक पुरानो पौवा छ । कटुञ्जेबाट सेल्लेबजार भोगटेनी–थर्पु भन्ज्याङ–र्भयाङभुरुङसम्मको ओरालो बाटो पार गरेपछि धादिङको भूभाग सकिएर नुवाकोटको सीमा सुरु हुन्छ ।

धादिङ र नुवाकोटलाई जोड्ने गरी विसं १९९० सालमा बनाइएको झोलुङ्गे पुल तरेपछि नुवाकोटको मेघाङ गाउँपालिका प्रवेश हुन्छ ।

टक्सार गाउँको रूपमा चिनिएको यस ठाउँमा पृथ्वीनारायण शाहले स्थापना गरेको टक्सारको भग्नावशेष समेत देख्न सकिन्छ । त्यहाँबाट मोटरबाटोबाट जोरचौतारा–तिँदूभट्टी हुँदै सामरी भन्ज्याङ पुगिन्छ ।

सामरी भन्ज्याङ बाट काभ्रेबास, चिलाउनेबास, हुलाकघर, कागुने, देउडी र बागबानी हुँदै त्रिशूलीबजार पुगिन्छ । त्रिशूलीबजार हुँदै सिँदुरेफेदीबाट चतुराले–बरबण्डी हुँदै रानीपौवासम्मको झण्डै चार घण्टाको लगातारको उकालो उक्लिएपछि रानी पौवा बजार पुगिन्छ । रानीपौवाबाट काउलेथाना हुँदै ककनीसम्मै पासाङ ल्हामू राजमार्गको किनारै किनार पदयात्रा अघि बढ्ने गर्दछ ।

चिसापानीधारा नजिकैबाट पुरानो पदमार्ग भेट्न सकिन्छ, जुन अहिले पनि चालु छ । चिसापानीधाराबाट आधा घण्टाको यात्रापछि काठमाडौँ र नुवाकोटको सीमानाको ठूलो खोला तरेपछि पाँचमाने भन्ज्याङ पुगिन्छ । जहाँबाट काठमाडौँ उपत्यकाको अधिकांश भागको अवलोकन गर्न सकिन्छ ।

जीतपुरफेदीबाट धर्मस्थली–बाइपास–बालाजु–सोह्रखुट्टे–क्षेत्रपाटी–नरदेवी हुँदै हनुमानढोका पुगेर ऐतिहासिक एकीकरण पदमार्गको यात्रा समापन हुने गर्दछ ।

पृथ्वीराजमार्ग सञ्चालनमा नआउँदा सम्म प्रयोगमा रहेका यिनै पैदलमार्गमा २०३१ साल भन्दा अघि सम्म मानिसहरूको निकै आवतजावत हुने गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर