‘साहित्यिक र राजनीतिक आन्दोलन नयाँ सडकका भट्टीबाटै उठेका हुन्’ – Nepal Press
किताब-गफ

‘साहित्यिक र राजनीतिक आन्दोलन नयाँ सडकका भट्टीबाटै उठेका हुन्’

साहित्यकार गुरागाईं भन्छन्- न्यूरोडको विकास र परिवर्तन स्वाभाविक हो । तर, हामीले कतिपय काम अस्वाभाविक गरेका छौं

काठमाडौं । साहित्यिक अभियान उन्मुक्त पुस्ताका एक प्रखर कवि प्रकाश गुरागाईंको गैरआख्यान पुस्तक ‘जङ्सन पिपलबोट’ बजारमा आएको छ । उनको ‘खुट्टामा श्रीपेच’ कविता संग्रह पनि प्रकाशित छ । सीमान्तमा बाँचेका, राज्य सत्ताबाट अन्यायमा पारिएकाहरुको आवाज मुखर रुपमा कविता र आन्दोलनबाट उठाइरहेका गुरागाईं आफ्नो पुस्ताका एक जब्बर कवि हुन् । सत्ताले सुन्न, पढ्न, बुझ्न नचाहेका मुद्दाहरु उनका कविताका मुख्य स्रोत हुन् ।

त्यस्तै यसपटक गैरआख्यानमा हात हालेका छन् उनले । तीसको दशकदेखि काव्यिक र वैचारिक शिविरको रुपमा जबरदस्त स्थापित नयाँ सडकको पिपलबोटबाट राजनीतिक, सामाजिक परिवर्तनलाई चिहाउने कोसिस गरेका छन् । नयाँ सडक अहिले न्युरोडमा परिणत भइसकेको छ । नयाँ सडक वरिपरि भेटिने प्रसिद्ध कविहरु भूपि शेरचन, हरिभक्त कटुवाल, गायक नारायणगोपाललगायत स्रष्टा दिवंगत भइसकेका छन् ।

पञ्चायतकालीन समयमा साहित्यकार श्यामल, विमल निभा, नारायण ढकाल, राजव, मनु बज्राकी, कृष्णभूषण बललगायतले प्रतिरोधी चेतसहित स्थापित गरेको पिपलबोटमाथि गुरागाईंले गैरआख्यान तयार पारेका हुन् । उनको पुस्तकबाट तीसको दशकको नयाँ सडकदेखि सत्तरीको दशकको न्युरोडको विकासक्रम, पञ्चायतकालको राजनीतिक, सामाजिक परिस्थितिदेखि लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्थासम्मलाई नजिकबाट नियाल्न सकिन्छ ।

पेशाले सञ्चारकर्मी प्रकाश गुरागाईंसँग नेपाल प्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंश:

– तपाईं त कवि, कविता नै काफी थियो । गैरआख्यानमा हात हाल्ने रहर कसरी पलायो ?

म कविता मनपराउँछु, पढ्न र लेख्न दुवै । तर, कविले कवितामात्रै लेखिरहनुपर्छ भन्ने मान्यता म राख्दिनँ । कविले मान्छे पढ्ने हो । सँगसँगै उत्तिकै अध्ययन पनि गर्ने हो । सुन्दर कविता लेख्न अध्ययनको दायरा त जरुर फराकिलो हुनैपर्छ । जसले गर्दा कविले विविध विषयमा सुन्दर कविता लेख्न सक्छन् ।

अर्कोतर्फ, अध्ययनले नयाँ विषयसँगको सामिप्यता बढाउँछ । पछिल्लो समय खासगरी इतिहास र आत्मकथाहरुमा मेरो रुचि ज्यादाजसो छ । संस्मरणात्मक लेखहरुले खुब खिच्छन् । जसको परिणति होला, मेरो गैरआख्यान यात्रा ।

नयाँ सडकबारे नै लेख्नु चाहिँ पत्रकारिताको उपज हो । नयाँ सडक वरपर पुग्ने अनेक साहित्यकार, पत्रकार र राजनीतिकर्मीका किस्सा सुन्दा, फिचर लेख्दा म यता आकर्षित भएँ । यो सबै विषयलाई समग्रमा लेखौं र नयाँ सडक हुँदै आएको सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिवर्तनलाई उजागर गरौं भन्ने चाहना पलायो ।

पुस्तकमा साहित्यकारलाई पात्रका रुपमा अलि बढी उभ्याएको छु । तर, साहित्यकारका गतिविधिले त्यस वेलाको समाज, भौतिक विकास र संरचनाको मियो पहिल्याउँछन् । ‘जङ्सन पिपलबोट’मा यहाँ पुराना घरहरुको प्रसंग छ । गुप्तचरीको विषय छ । चिया पसलका गफ छन् । राजा महाराजाका किस्सा छन् । कुनै कालखण्ड यस्तो थियो, जहिले देशको केन्द्र नयाँ सडक थियो । यही कारण मलाई गैरआख्यान लेख्ने हुटहुटी जागेको हो ।

कतिपय राजनीति र साहित्यका आन्दोलनको विषय उठान त भट्टीबाटै भएको छ । त्यसैले यसलाई मदिरा गफमात्र भनेर पन्छिन मिल्दैन । नारायण ढकालले भनेजस्तो कतिपय सन्दर्भमा मदिरा सेवन पनि एउटा विद्रोह थियो ।

– ‘जंकसन पिपलबोट’ले खास देखाउन खोजेको चाहिँ के हो ? त्यसवेलाको समय, राजनीति र विचार हो कि केही लेखकका चिया गफ, मदिरा गफका प्रसंग खोतल्नमात्रै खोजेको हो ?

मैले पुस्तकमार्फत् देखाउन खोजेको पहिलो विषय त देशमा आधुनिक विकासको सुरुवात कहाँबाट र कसरी भयो भन्ने हो । जति पनि आधुनिक विकास र सुविधाका विषय छन्, ती नयाँ सडकबाट सुरु भएका थिए । जस्तोः पहिलो कालोपत्रे सडक नयाँ सडकमै बन्यो । तर, राणाका बग्गी तान्ने घोडाका टाप नचिल्लिउन् भनेर आधा भागमात्र कालोपत्रे गरिएको थियो । नेपालमा पहिलोपटक ढल बनेको नयाँ सडकमै हो । आधुनिक होटेल र रेस्टुरेन्ट खुलेको नयाँ सडकमै हो ।

कुनै समय काठमाडौं बाहिरबाट आएपछि पुग्ने पहिलो ठाउँ नयाँ सडक नै थियो । जहाँ लज खुलेका थिए । राणाविरुद्ध पहिलो सशक्त आन्दोलन यहीबाट उठेको थियो । अमेरिकन र चिनियाँ लाइब्रेरी यही थिए । त्यसैले नयाँ सडक एउटा युग थियो । ‘जङ्क्सन पिपलबोट’ले देखाउन खोजेको त्यही युग हो ।

पुस्तकमा चिया र मदिरा गफका विषय पनि अवश्य छन् । त्यो पनि समय थियो । कस्ता भट्टी थिए, कति थिए, रेस्टुरेन्ट कस्ता थिए, को जान्थ्यो जस्ता विषयमात्र होइन, के कुरा हुन्थ्यो भन्ने विषयले पनि त्यो समाजको चित्र देखाउँछ । कतिपय राजनीति र साहित्यका आन्दोलनको विषय उठान त भट्टीबाटै भएको छ ।

त्यसैले यसलाई मदिरा गफमात्र भनेर पन्छिन मिल्दैन । नारायण ढकालले भनेजस्तो कतिपय सन्दर्भमा मदिरा सेवन पनि एउटा विद्रोह थियो । तर, रक्सीबाटै बदनाम भएका लेखक कवि पनि थिए, जीवन बर्बाद भएका पनि थिए । यी विषय पनि पुस्तकमा पक्कै खोतलिएका छन् ।

– पिपलबोट र नयाँ सडक क्षेत्र भूपि, हरिभक्त, नारायणगोपाल हुँदै श्यामलहरुसम्म जोडिँदा सबैभन्दा बढी चर्चा मदिराको हुन्छ । खास मदिरैमात्र पिउन भेटिने ठाउँ त थिएन होला है पिपलबोट ?

नयाँ सडक देशको केन्द्र बनेको थियो । मदिरा पिउनु संयोग थियो । तर, त्यो संयोग पछि निरन्तरतामा बदलिँदा लेखक, कवि, पत्रकारहरु बदनाम पनि भए ।

पहिलो त, पिपलबोट सञ्चारको केन्द्र थियो । देशभरिका सूचना किन पनि यहाँ आउँथ्यो भने गोरखापत्रको अफिस यही थियो । त्यही सूचना थाहा पाउन मान्छेहरु आइपुग्थे । पछि भारतबाट आउने पत्रिका पनि यही पाइन्थ्यो । देशभरबाट आउने राजनीतिकर्मीको भेटघाटस्थल यही थियो । पिपलबोटको महत्व कस्तो थियो भन्ने विषयमा भुक्तभोगी पुस्ता अहिले पनि हामीसँग छ । त्यही पुस्ताको कथा मैले उतार्ने प्रयास गरेको हुँ ।

पिपलबोटको कथा भने मैले साहित्यकारहरुको माध्यमबाट भनेको छु । त्यसैले यसमा साहित्यकारहरु धेरै आएका छन् । उनीहरुका गतिविधि आएका छन् । १९९० को दशकमा कवि कुनो यतैबाट सुरु भएको थियो । पछि भूपि शेरचन हुँदै आएको परम्परालाई अहिले विमल निभा, पुरुषोत्तम सुवेदी, शार्दूल भट्टराईहरुले धानिरहेका छन् । कृष्णभक्त श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, पुरुषोत्तम बस्नेतहरुको कथा वेग्लै छ । कतिपय साहित्यकार मदिरा पिउनमात्रै पनि जान्थे । तर, पिपलबोटलाई त्यतिमा मात्र सीमित गर्न मिल्दैन ।

हामीले कतिपय काम अस्वाभाविक गरेका छौं, जसले शहर कुरुप भयो । विकास व्यवस्थित नहुँदा नै शहरको सांस्कृतिक मूल्य भत्किने हो । अहिले न्यूरोड व्यापारको थलोभन्दा बढी केही भएको छैन । साहित्यिक, सांस्कृतिक र राजनीतिक माथापच्ची गर्ने ठाउँ अन्यत्रै सरे । शहरमा बहुकेन्द्र खडा हुँदा नयाँ सडक बदलियो । समयानुकूल बदलिनु अनौठो होइन ।

– तीसको दशक र अहिले ७० को दशकको पिपलबोटमा धेरै बदलाव छ । त्यसवेलाको नयाँ सडक अहिले न्युरोडमा रुपान्तरण भएको छ । सरसर्ती हेर्दा विकासको नाममा हामीले सहरलाई कुरुप बनाउँदै लगेका रहेछौं कि अझै समृद्ध बनाएर लगेका रहेछौं ?

हामी पुरानो मूल्यलाई माया गर्छौं । तर, परिवर्तनको गतिलाई रोक्न सक्दैनौं । न्यूरोडको विकास र परिवर्तन स्वाभाविक हो । तर, हामीले कतिपय काम अस्वाभाविक गरेका छौं । जसले शहर कुरुप भयो । विकास व्यवस्थित नहुँदा नै शहरको सांस्कृतिक मूल्य भत्किने हो । अहिले न्यूरोड व्यापारको थलोभन्दा बढी केही भएको छैन । साहित्यिक, सांस्कृतिक र राजनीतिक माथापच्ची गर्ने ठाउँ अन्यत्रै सरे । शहरमा बहुकेन्द्र खडा हुँदा नयाँ सडक बदलियो । समयानुकूल बदलिनु अनौठो होइन । तर, हामीले यसको सुन्दरता जोगाउन नसकेको भने अवश्य हो ।

– नयाँ सडकको पिपलबोट एउटा थियो । तर, त्यहाँ अनगिन्ती गुटहरु थिए । एकातिर मार्क्सवादी समूह थियो । अर्कातिर डेमोक्रेटिक समूह थियो । अर्कातिर कला, संगीतको समूह थियो र अर्कातिर मण्डले, जासुसहरुको समूह थियो । त्यस्तो अवस्थामा विचारको आदानप्रदान चाहिँ कसरी हुने गर्थ्यो ? केही बताइदिनोस् न ।

नयाँ सडकमा कुनै वेला नेपाली कांग्रेस र नेकपाका कार्यालय थिए । यी दुवै विचारका मानिसलाई जासुस गर्ने दरबारियाका घर तथा अखडा पनि थिए । जस्तो जनसेवा हलका मालिक दयारामभक्त माथेमाको घर ओमबहालमा थियो । अरु पनि थिए । यी समूहबीच चिया र रक्सी खाने बहानामा पनि भेटघाट तथा विचार आदानप्रदान भएको पाइन्छ । दयारामभक्त माथेमा र पुष्पलाल श्रेष्ठ साथी थिए । पुष्पलाल र कांग्रेसका तत्कालीन नेता तुलसी गिरी दयारामभक्तको जनसेवास्थित कार्यालयमा गएर रक्सी पिएका प्रसंग पनि छन् ।

पिपलबोट सञ्चारको केन्द्र थियो । देशभरिका सूचना किन पनि यहाँ आउँथ्यो भने गोरखापत्रको अफिस यही थियो । त्यही सूचना थाहा पाउन मान्छेहरु आइपुग्थे । पछि भारतबाट आउने पत्रिका पनि यही पाइन्थ्यो । देशभरबाट आउने राजनीतिकर्मीको भेटघाटस्थल यही थियो ।

राजनीतिले साहित्यकार र कलाकारलाई विभाजित भने अवश्य गरेको थियो । पञ्चायतकालमा डेमोक्र्याट र लेफ्ट साहित्यकारहरु एक ठाउँमा आएर आन्दोलन चाहिँ गरेका थिए । उनीहरुलाई मण्डले समूहबाट सधैं जोखिम थियो । यी आन्दोलनमध्येको सशक्त राल्फा समूहको आन्दोलनको इतिहास पनि नयाँ सडकमै जोडिन्छ ।

– अन्त्यमा, ‘जंकसन पिपलबोट’ लेखनका केही अनुभव, अनुभूति बताइदिनुहोस् न !

यो पुस्तक लेखिसक्न चार वर्ष लाग्यो । कहिले त दिक्दार भएर कामै पनि छाडियो । पाँच महिनासम्म नलेखेर पनि बसियो । यस्ता अनुभूति साझा हुन् । मैले गरेको केही अस्वाभाविक अनुभूति भने कतिपय साहित्यकारको व्यवहार हो । मलाई नजिकबाट सहयोग गर्ने रोचक घिमिरे, नगेन्द्रराज शर्मा, पुरुषोत्तम सुवेदी, नारायण ढकाललगायत हुनुहुन्छ ।

तर, कतिपय साहित्यकार र राजनीतिकर्मीले भने कुराकानीको समय दिने र अन्त्यमा मोबाइल नै स्वीच अफ गर्ने काम पटकपटक गर्नुभयो । उहाँहरुको मोबाइलमा मेरो नम्बर सुरक्षित छ । त्यो व्यवहार मेरा लागि अनपेक्षित थियो । किन त्यसो गर्नुभयो अहिलेसम्म पनि थाहा पाएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर