देउवाबाट कांग्रेसलाई बारबार धोका, नेतृत्व परिवर्तन अबको मुद्दा – Nepal Press
ब्लग

देउवाबाट कांग्रेसलाई बारबार धोका, नेतृत्व परिवर्तन अबको मुद्दा

नेपाली कांग्रेसभित्र मौलाइरहेको गुटगट राजनीति सतहमै देखिन थालेको छ । एउटा पक्ष असफल हुँदा अर्काे पक्षले खुशीयाली मनाउनेसम्मको अवस्था सिर्जना भएको छ । केही समयअघि भएको संसदीय दलको निर्वाचनमा गगन थापा पराजित हुँदा देउवा पक्षले खुशीयाली मनाएको थियो । तर, पाँच दलीय सत्ता गठबन्धनको विघटनसँगै उनीहरुको खुशीयाली पनि सकिएको छ । मन्त्रीसहितका संवैधानिक पद खाउँला भन्दै दौरा सुरुवाल सिलाएर बसेका देउवा पक्षीय सांसदहरुको सपनामा तुषारापात भएको छ । यतिवेला देउवा पक्षको हारमा शेखर-गगन समूहले खुशीयाली मनाइरहेको छ ।

कास्कीको पोखरामा भएको लिटरेचर फेस्टिभलमा महामन्त्री गगन थापाले गठबन्धनको विघटन र देउवाको हारतर्फ इंगित गर्दै आफू संसदीय दलको चुनावमा पराजित भए पनि आजको समाचार सुनेर चित्त बुझाएको टिप्पणी गरेका थिए । त्यस्तै उनले पार्टीका कार्यकर्तालाई अब हारजीतको प्रकरण सकिएको बताउँदै कांग्रेस फेरि उठ्ने र आफू उठाउन सक्रिय भएर लाग्ने बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कार्यकर्ताहरुलाई ‘डन्ट वरी हामी छौं’ भन्दै ढाडस दिएका छन् । उनीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ, गगन-विश्वप्रकाशहरु नेतृत्व परिवर्तनको पक्षमा छन् । उनीहरुले पार्टी नेतृत्वसमक्ष नीति महाधिवेशन गर्नसमेत माग गरिसकेका छन् । उनीहरु कांग्रेसमा शेरबहादुर देउवाको विकल्प खोज्ने पक्षमा छन् । गगनको अभिव्यक्तिबाट त उनी आफैं नेतृत्वमा दाबी गर्ने पक्षमा रहेको बुझ्न सकिन्छ ।

उनीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ, गगन-विश्वप्रकाशहरु नेतृत्व परिवर्तनको पक्षमा छन् । उनीहरुले पार्टी नेतृत्वसमक्ष नीति महाधिवेशन गर्नसमेत माग गरिसकेका छन् । उनीहरु कांग्रेसमा शेरबहादुर देउवाको विकल्प खोज्ने पक्षमा छन् ।

कांग्रेस सभापतिमा गगनको दाबी पार्टीको लागि पनि हितकर हुनसक्छ । एक पटक समानुपातिक र तीन पटक प्रत्यक्ष गरी सांसदको चार कार्यकाल सम्हालिसकेका, पार्टी महामन्त्री रहेका गगन कांग्रेसको नयाँ नेतृत्वको लागि योग्य पात्र नै देखिन्छन् । गगनले एकपटक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा सुधारको प्रयास गरेका गगन पार्टीभित्र मात्र होइन पार्टी बाहिरका युवा पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन् । त्यसैले गगन कांग्रेसको नेतृत्वमा पुगे भने कांग्रेस पार्टीको लोकप्रियता झन् बढ्नेमा दुई मत छैन । तर, संसदीय दलको चुनावमा सघाएका शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने वचन दिइसकेका गगनले अहिले आएर नेतृत्वमा दाबी गर्दा भोलि नैतिक प्रश्न पनि उठ्न सक्छ ।

पार्टीको संसदीय दलको नेताको निर्वाचनमा गगन सभापति देउवासँग फराकिलो मतान्तरले पराजित भएका थिए । गगनकै पक्षका भनिएका र सेल्फीसमेत खिचाएर आश्वस्त बनाएका सांसदहरुले समेत अन्तिममा देउवालाई मत दिए । गगनले आफ्नै समूहको भनिएको मतसमेत जोगाउन सकेनन् । केही सांसदहरुले त देउवालाई विश्वास दिलाउन मतपत्रको फोटोसमेत खिचेर पठाएको चर्चा चलेको थियो ।

तर, अहिले अवस्था फेरिएको छ । मन्त्रीलगायतका संवैधानिक पद खाउँला भन्दै देउवाको चाकरी गर्नेहरुको सपना उनै देउवाले एक झट्कामै तुहाइदिएका छन् । अहिले देउवा गुटभित्रै असन्तुष्टि बढ्दै गएको छ । शेखर-गगन पक्षलाई नेतृत्वमा हस्तक्षेप गर्ने यो नै सबैभन्दा उपयुक्त समय हो ।

मन्त्रीलगायतका संवैधानिक पद खाउँला भन्दै देउवाको चाकरी गर्नेहरुको सपना उनै देउवाले एक झट्कामै तुहाइदिएका छन् । अहिले देउवा गुटभित्रै असन्तुष्टि बढ्दै गएको छ । शेखर-गगन पक्षलाई नेतृत्वमा हस्तक्षेप गर्ने यो नै सबैभन्दा उपयुक्त समय हो ।

हुन त गगन पार्टीमा विवादरहित भने छैनन् । गत संसदीय निर्वाचनमा आफ्नो जीत सुनिश्चित गर्न रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग साँठगाँठ गरी आफ्नै नेताहरुलाई हराएको भन्दै उनको पार्टीभित्रैबाट आलोचना भइरहेको छ । पाँच दलीय गठबन्धन टुट्नु र देउवा सत्ताच्युत हुनुमा पनि गगन पक्षकै हात रहेको भन्दै देउवा पक्षका नेता-कार्यकर्ताहरुले उनको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमै पक्षविपक्षमा आरोपप्रत्यारोप चलिरहेको छ ।

त्यसो त सभापति देउवा नेपाली राजनीतिका सर्वकालीन खेलाडी हुन् । कम बोल्छन् । तर, दबाब दिएर होस् या प्रभाव दिएर, विरोधी पक्षलाई समेत आफ्नो खेमामा समाहित गर्ने क्षमता राख्छन् देउवा । सधैं आफ्नो प्रतिस्पर्धी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत राष्ट्रपतिको लोभ देखाएर आफ्नो खेमामा ल्याउन सफल देउवा चानचुने खेलाडी होइनन् । तर, व्यक्तिगत वा गुटगत रुपमा सफल देउवा पार्टी र देशको नेतृत्वमा भने सधैं असफल सावित भइरहेका छन् । देउवा नेतृत्वको कुनै पनि सरकार विवादरहित रहन सकेन । काण्डैकाण्डमा रुमल्लिरह्यो । पार्टीको साख झनझन खस्किरहेको छ, हैसियत गुमिरहेको छ ।

गठबन्धनको बलमा कांग्रेसलाई संसदको पहिलो पार्टी त बनाए । तर, आफ्नै अकर्मण्यताको कारण हातमै आएको सबै शक्ति गुमाएका छन् । शक्तिशाली कांग्रेसलाई एक झट्कामा शक्तिहीन बनाइदिए देउवाले । उनले प्रधानमन्त्रीको कुर्सीसँगै राष्ट्रपति पद छोड्न नसक्दा सत्ता समीकरणको पासा पल्टिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको लोभमा कांग्रेस केन्द्रदेखि प्रदेशसम्मको सत्ता र शक्तिबाट बढारिएको छ । एउटा चुकबाट कांग्रेस राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभामुखदेखि प्रदेश तहका सरकार र शक्तिबाट क्षणभरमै गर्ल्यामगुर्लुम ढलेको छ ।

पटक-पटक नेतृत्वमा पुगेर पनि पार्टी र देशको पक्षमा उपलब्धिमूलक काम गर्न नसकेका देउवा देश र कांग्रेस पार्टी दुबैका लागि हानिकारक र अनुपयुक्त पात्र हुन् । जसलाई उनको कार्यशैलीले पटक-पटक प्रमाणित गरिसकेको छ ।

कांग्रेसको यो अवस्था आउनुमा कांग्रेसी नेता तथा कार्यकर्ताहरुको पनि कम दोष छैन । २०७४ सालको आमनिर्वाचनमा पार्टीको लज्जास्पद हार हुँदासमेत नैतिकता नदेखाएका देउवालाई उनै कार्यकर्ताहरुले नेतृत्वमा दोस्रो मौका दिए । गत निर्वाचनमा जसोतसो पहिलो दल पनि बनाए । तर, पोल्टामा परिसकेको उपलब्धि गुमाउँदै पाउँला र खाउँला भन्दै मुख खोलेर बसेका कांग्रेसीहरुलाई जिल्लाराम बनाइदिए । प्राप्त उपलब्धिमा अपूरणीय क्षति हुँदा र नेतृत्व बारम्बार असफल हुँदासमेत देउवाले जिम्मेवारी लिने र नैतिकता देखाउने कुनै सम्भावना छैन । देउवा पक्षीय नेताहरु सभापतिको असफलता ढाकछोप गर्न शेखर-गगन समूहलाई दोषारोपण गरिरहेका छन् ।

पटक-पटक नेतृत्वमा पुगेर पनि पार्टी र देशको पक्षमा उपलब्धिमूलक काम गर्न नसकेका देउवा देश र कांग्रेस पार्टी दुबैका लागि हानिकारक र अनुपयुक्त पात्र हुन् । जसलाई उनको कार्यशैलीले पटक-पटक प्रमाणित गरिसकेको छ । पार्टीभित्र छलफल नगर्ने नेतृत्वको स्वेच्छाचारिताले गर्दा हातैमा आएको सबै उपलब्धिहरु क्षणभरमै गुमाउनुपरेको हो । अब कांग्रेसीजनले सोच्नुपर्ने वेला आएको छ । वर्तमान नेतृत्वको कार्यशैलीमा तत्काल कुनै परिवर्तन हुने छाँटकाँट नदेखिएकाले अविलम्ब विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको विकल्प खोज्नु कांग्रेसको अहिलेको आवश्यकता हो । अन्यथा कांग्रेस निरन्तर क्षयीकरणको बाटोमा लम्कने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *