देउवाले बेवास्ता गरेको एउटा फोटो – Nepal Press
ब्लग

देउवाले बेवास्ता गरेको एउटा फोटो

गत पुस ७ गते नयाँ बानेश्वरस्थित संसदमा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण कार्यक्रम थियो । शपथ ग्रहणपश्चात आयोजना गरिएको चियापान कार्यक्रममा खिचिएको एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भयो । त्यो एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै बसेर कुराकानी गरिरहेको फोटो थियो । तर, त्यो सामन्य फोटो थिएन । त्यो फोटोलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नो ट्विटर ह्याण्डलमा समेत सोही दिन पोस्ट गरेका थिए ।

तस्बिरमा दुई नेताहरु पूर्ण उल्लास र मुक्त मुस्कानका साथ कुराकानी गरिरहेका देखिन्थे । उनीहरुबीच प्रगाढ मित्रता र असीम स्नेह झल्कन्थ्यो । उनीहरुबीच तिक्तता र वैमनश्यताको कुनै झल्को देखिँदैन थियो । यो तस्बिर सामाजिक सञ्जालामा अत्यधिक शेयर गर्दै अधिकांशले नयाँ बन्न लागेको सरकारको रुपरेखाको संकेतको रुपमा टिप्पणी गरे । दुई वर्षसम्म बोलचालसमेत बन्द भएको एक-अर्काका कटु आलोचक नेताद्वयको अचानकको त्यो उल्लासमय भेटको भित्री रहस्य पुस १० गते अपरान्हमा मात्र पर्दाफास भयो । एमालेलगायत केही दलको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड मुलुकको ४४औं प्रधानमन्त्रीमा नियुक्ति भए ।

ओली र प्रचण्ड त्यसरी मित्रवत कुराकानी गरिरहँदा दायाँपट्टि कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा नेता पशुपतिशमशेर राणा तथा बायाँपट्टि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा नेता अशोक राई थिए । तर, उनीहरुबीच न कुनै विशेष र उल्लासमय कुराकानी भएको देखिएन न त कानेखुसी नै भएको थियो । सरकार गठन गर्न ३ दिन बाँकी रहँदा विपरीत ध्रुवका दुई नेताहरुबीच भने अस्वाभाविक नजिकपन झल्किरहेको थियो । त्यो दृश्यलाई कांग्रेस वृत्तले खासै चासो दिएन । तर, पत्रकारहरुको क्यामेराले सबैभन्दा महत्व दिएको उक्त फोटो नै पुस १० गते गठन भएको नयाँ सरकारको प्रस्थान विन्दु सावित भयो । तर, ओली-प्रचण्डको त्यो भेट र आत्मीय व्यवहारलाई एक कुर्सी टाढा बसिरहेका देउवाले अलिकति पनि शंकाको दृष्टिले हेर्न सकेको भए कांग्रेसले पहिलो पार्टी भएर पनि सर्वस्व गुमाउनुपर्ने थिएन ।

मंसिर ४ को आमनिर्वाचन सकिनेबित्तिकै एमालेका दोस्रो तहका नेताहरु माओवादीसँग सहकार्य गरेर अघि बढ्नुपर्ने लविङ गर्न थालेका थिए । माओवादी पनि कांग्रेससँगको गठबन्धनसँग असन्तुष्ट भइरहेका थिए । दुवै पार्टीका दोस्रो तहका नेताहरुबीच स्वार्थ मिल्न गएपछि एमाले-माओवादी गठबन्धनको रुपरेखा कोर्न थालिएको थियो ।

एमालेको छापामार शैली

सांसदहरुको शपथ ग्रहण कार्यक्रम हुने बिहान एमालेले बालकोटमा पार्टी सचिवालय बैठक बोलायो । बैठकको एजेण्डा न अगाडि जानकारी गराइयो न त बैठकको निर्णय नै पछि जानकारी गराइयो । मूलधारका सबै मिडिया बालुवाटार र खुमलटार केन्द्रित थिए । बालकोटको बैठकबारे मिडियाहरु एक हिसाबले बेखबर थियो । तर, त्यही बैठकको निर्णयले मुलुकमा राजनीतिमा नयाँ मोड ल्याइदियो ।

बालकोट बैठकले तत्कालीन सत्ता गठबन्धन भत्काउने र त्यसको लागि माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर अघि बढ्न सकिने निर्णय गरेको थियो । त्यसको लागि थप आवश्यक निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दियो । त्यतिमात्र होइन आमनिर्वाचनबाट नयाँ जनादेश लिएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी जस्ता साना दलहरुसँग समानान्तर छलफल अघि बढाउने निर्णयसमेत गर्‍यो । त्यसको लागि सचिवालय सदस्यहरुलाई कार्य विभाजन गरी जिम्मेवारी तोकियो । त्यसपछि सचिवालय सदस्यहरु चुपचाप आफ्नो जिम्मेवारी पूरा गर्न काममा खटिए । त्योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यी सबै निर्णयहरु गोप्य राख्ने निर्णय भएको थियो ।

यो परिघटना भने तत्काल सृजना भएको थिएन । मंसिर ४ को आमनिर्वाचन सकिनेबित्तिकै एमालेका दोस्रो तहका नेताहरु माओवादीसँग सहकार्य गरेर अघि बढ्नुपर्ने लविङ गर्न थालेका थिए । माओवादी पनि कांग्रेससँगको गठबन्धनसँग असन्तुष्ट भइरहेका थिए । दुवै पार्टीका दोस्रो तहका नेताहरुबीच स्वार्थ मिल्न गएपछि एमाले-माओवादी गठबन्धनको रुपरेखा कोर्न थालिएको थियो । एमालेका नेताहरुले पार्टी अध्यक्ष ओलीलाई माओवादीसँग सहकार्य गर्न दबाब दिन थालिसकेका थिए । ओली पनि यो प्रस्तावमा सकारात्मक हुँदै गइरहेका थिए ।

तर, यी सबै घटनाक्रम सार्वजनिक भएमा योजना विफल हुने निश्चित थियो । यही कारण एमाले नेताहरु सजक थिए । कांग्रेस भने माओवादीहरु सत्ता गठबन्धन छोडेर एमाले क्याम्पमा जाँदैन भन्नेमा ढुक्क थिए । कांग्रेसको विश्वासमा थप बल दिन एमाले अध्यक्ष ओलीले पुस ९ गते प्रचण्ड कुनै हालतमा प्रधानमन्त्री बन्न नसक्ने कुरा सार्वजनिक रुपमै ठोकुवा गरे । बरु माओवादीले कांग्रेसलाई धोका दिए एमालेले कांग्रेसलाई साथ दिन सक्ने संकेत पनि गरे । यति भएपछि कांग्रेसलाई सत्ता उन्मादको पारो चढिहाल्यो । एमाले भने निर्धारित योजना सफल पार्न भूमिगत रुपमा सक्रिय नै थियो ।

सरकार गठनको समय सीमा सकिने दिन पुस १० गते बिहानैदेखि सत्ता गठबन्धनको बैठक जारी थियो । तर, पहिला को प्रधानमन्त्री बन्ने विषयमा कुरो अड्किरहेको थियो । कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवै आ-आफ्नो अडानबाट एक इन्च पनि पछि हट्ने संकेत देखिएको थिएन । तर, प्रचण्डलाई त्यो वेलासम्म एमालेले हरियो बत्ती बाल्ने संकेत पुगिसकेको थियो । कांग्रेस भने एमालेले प्रचण्डलाई कदापि प्रधानमन्त्री स्वीकार्न सक्दैन भन्ने विश्वासमा थियो । हुन पनि विगत दुई वर्षदेखि एमाले र माओवादी एक अर्काको परम शत्रुको रुपमा प्रस्तुत भएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले त एक वर्षअघि नै चेतावनी दिँदै भनेका थिए- जसरी एमालेलाई सिध्याइयो, त्यसरी नै कांग्रेसलाई सिध्याउन नपरोस्, कांग्रेस अहंकारबाट मुक्त होस् । नेकपा एकीकृत समाजवादीका अध्यक्षले पनि बारम्बार कांग्रेसबाट आफूहरु अपमानित भएको गुनासो पोखिरहन्थे र कांग्रेसलाई सत्ता अहंकार त्याग्न सम्झाइरहन्थे ।

जब अपरान्ह भयो र सरकार गठनको समयसीमा घर्कंदै थियो, त्यही वेला प्रचण्ड बालुवाटार छाडेर हिँडे । बालुवाटारको गेटमा मिडियालाई संक्षिप्त प्रतिक्रिया दिँदै सत्ता गठबन्धन टुटेको घोषणा गरेर हिँडे । उनी त्यहाँबाट सीधै खुमलटार हुँदै ओली निवास बालकोट हानिए । उनी त्यहाँ पुग्नुअगावै रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा नेता राजेन्द्र लिङदेन, जनमत पार्टी अध्यक्ष सीके राउत पुगिसकेका थिए । प्रचण्ड पुगेर त्यहाँ सहमतिमा सिर्फ हस्ताक्षर गर्नमात्र बाँकी थियो । सहमतिलाई औपचारिकता दिन केही समय छलफल गरियो । तर, सबै पूर्वनिर्धारित योजनाअनुसार भएकाले त्यसले धेरै समय लिएन । प्रचण्ड बालकोट पुगेको दुई घण्टाभित्र १६९ जना सांसदहरुको भारी समर्थनसहित माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपत्र लिएर नवनिर्मित गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपति भवन शीतल निवास छिरे ।

छोटो समयभित्र भएको राजनीतिक परिवर्तनले बालुवाटार भने स्तब्ध भयो । सबै कांग्रेस नेताहरु प्रतिक्रियाविहीन भए । केही घण्टाअघि बालुवाटारमा लागेको पत्रकारको घुइँचो बालकोट र शीतल निवासमा लाग्न पुगेको थियो । एक हिसाबले पत्रकारहरुले अन द स्पट रिपोर्टिङ गर्न सकिरहेका थिएनन् । इतिहासदेखि वर्तमानसम्म महत्त्वपूर्ण राजनीतिक घटना मध्यरात हुने गरेको छ । तर, यो पटक मध्यदिनमै आमूल परिवर्तन भयो । एकाध घण्टाको बीचमा सत्ता नै सत्ताले भरिपूर्ण कांग्रेसको हात सत्ताविहीन शून्य भयो । एमालेको छापामार शैलीलाई न मिडियाले थाहा पाउन सक्यो न त कांग्रेसले बुझ्न सक्यो । यतिसम्म कि कांग्रेसकै नेता मन्त्री रहेको गृह मन्त्रालय मातहतको गुप्तचर निकायले समेत एमालेको रणनीतिको पत्तो पाएन ।

भाउजूहरुको किचन क्याबिनेट र दाइहरुको भारदारीसभा

मुखैमा आएको सत्ता अचानक फुत्त चिप्लनुमा कांग्रेसको सत्ताउन्माद नै मुख्य कारण थियो । विगत दुई वर्षदेखि प्रतिगमनविरुद्ध भनेर निर्माण गरिएको गठबन्धनमा कांग्रेसले ठूल्दाइको हैकम जमाउन थालेपछि सत्ता साझेदार सहयात्रीहरु भित्रभित्रै असन्तुष्ट थिए । माओवादी अध्यक्ष प्रचण्डले त एक वर्षअघि नै चेतावनी दिँदै भनेका थिए- जसरी एमालेलाई सिध्याइयो, त्यसरी नै कांग्रेसलाई सिध्याउन नपरोस्, कांग्रेस अहंकारबाट मुक्त होस् । नेकपा एकीकृत समाजवादीका अध्यक्षले पनि बारम्बार कांग्रेसबाट आफूहरु अपमानित भएको गुनासो पोखिरहन्थे र कांग्रेसलाई सत्ता अहंकार त्याग्न सम्झाइरहन्थे ।

पार्टीभित्रको गुटमा आफू बलियो भएपछि देउवामा सत्तारोहणको उन्माद त्यसै चढ्ने भइहाल्यो । त्यसमा ज्योतिषीको भविष्यवाणीले थप मनोबल बढाएको थियो । देउवा प्रधानमन्त्री हुनेबित्तिकै उनका भारदारीसभाका सदस्यहरुले अधिकतम लाभ पाउने भइहाले ।

गठबन्धनमा मात्र होइन कांग्रेसभित्रै पनि सत्ता उन्मादको कटु आलोचना हुन थालेको थियो । विशेषगरी प्रधानमन्त्री देउवा पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मञ्जु खाण कांग्रेसको समानुपातिक सूचीमा परेपछि यो आलोचना बढ्न थालेको थियो । स्थानीय चुनावदेखि आमनिर्वाचनसम्म आइपुग्दा देउवा पत्नी राणाले दिएका अभिव्यक्तिहरुको बारेमा कांग्रेसभित्रै ठूलो विरोध हुन थालेको थियो । राणाले जसरी भए पनि सभापति देउवाले जित्नैपर्ने अभिव्यक्ति दिँदै आइरहेका थिए र देउवा जसरी भए पनि प्रधानमन्त्री हुनैपर्ने जिकिर गर्दै आइरहेका थिए ।

त्यतिमात्र होइन कांग्रेस संसदीय दलको निर्वाचनमा आरजु राणा र मञ्जु खाण मिलेर देखाएको हर्कत हेर्न लायक थियो । गोप्य मतदान भनिए पनि सभापति देउवालाई भोट हालेको नहालेको यकिन गर्न सांसदहरुलाई मतपत्रको फोटो खिच्न लगाएका थिए राणा र खाणले । राणाको स्वार्थ भनेको देउवालाई प्रधानमन्त्री बनाएर आफू पार्टीमा सर्वशक्तिमान भई हालीमुहाली गर्ने थियो । खाणको स्वार्थ भनेको आफ्ना पति बालकृष्ण खाण चुनाव हारेकाले सट्टाभर्नास्वरुप आफू मन्त्री हुन पाउनुपर्ने थियो । त्यसैले उनीहरुले कांग्रेसको छुट्टै किचन क्याबिनेट बनाएका थिए । जहाँ देउवालाई प्रधानमन्त्री बनाउनेबाहेक अरु प्रवेश निषेध थियो ।

उता देउवा भने भारदारीसभाले घेरिएका थिए । विधिसम्मत पदाधिकारीहरुमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भए पनि देउवाको निकटमा गृहमन्त्री बालकृष्ण खाण, प्रवक्ता प्रकाशशरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, विमलेन्द्र निधि, प्रकाशमान सिंह रहन्थे । जुनसुकै निर्णय गर्नु परे पनि आफ्ना निकटहरुको सल्लाहमात्र लिन्थे । संस्थागत निर्णयबाट देउवा लगभग टाढा थिए । आमनिर्वाचनपश्चात सरकार बनाउने विषयमा पार्टीमा एक पटक पनि छलफल चलाएका थिएनन् । बरु आफ्ना कटु आलोचक रामचन्द्र पौडेललाई राष्ट्रपतिको ललीपप देखाएर आफ्ना गुटमा समावेश गरेर भारदारीसभा बलियो बनाएका थिए ।

पार्टीभित्रको गुटमा आफू बलियो भएपछि देउवामा सत्तारोहणको उन्माद त्यसै चढ्ने भइहाल्यो । त्यसमा ज्योतिषीको भविष्यवाणीले थप मनोबल बढाएको थियो । देउवा प्रधानमन्त्री हुनेबित्तिकै उनका भारदारीसभाका सदस्यहरुले अधिकतम लाभ पाउने भइहाले । रामचन्द्र पौडेलले पनि शीतल निवासलाई झलझली आँखैमा सजाउन थालेका थिए । यो अवस्थामा गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङहरुको राय सल्लाह र सुझावको कुनै जरुरी नै परेन । सत्तालिप्साले अन्धो भएका देउवा र उनको भारदारीसभाले प्रचण्डलाई प्रधानमन्त्री र माओवादीलाई राष्ट्रपति दिने कल्पनासमेत गर्न सकेनन् । देउवाले आफ्नो भारदारीसभाको एकसूत्रीय मागलाई कुनै हालतमा नछोड्ने भए अर्थात राष्ट्रपति र पहिलो प्रधानमन्त्री कांग्रेसको भागमा हुनैपर्छ । आफ्ना सहयात्री दलका नेताहरुको मनोभावना बुझ्ने सद्बुद्धि देउवाको मस्तिष्कमा आएन र आउन दिइएन पनि । फलस्वरूप यही सत्ताको उन्मादको कारण राजीनामासमेत घोषणा गर्न नपाई करिब ३ घण्टाभित्रको उथलपुथलमा सत्ता गुमाउनुपर्‍यो ।

सत्ता गुमेपछि कांग्रेस नेताहरुको अभिव्यक्ति पनि सुन्न लायक आइरहेका छन् । महामन्त्री गगन थापले आफू अपमानित भएको तर्क गर्दै सभापति देउवाले एकलौटी पार्टी चलाउँदाको परिणाम भनेका छन् । सत्ता समीकरण जस्तो महत्वपूर्ण छलफलमा समेत आफूहरुलाई नबोलाएको खुलासा गर्दै देउवाको एकलकाटे व्यवहारको पर्दाफास पार्ने कोसिस गरेका छन् । रामचन्द्र पौडेलले देउवाले आफ्नो सुझाव नसुनेको आरोप लगाएका छन् । उनले देउवाको कारण कांग्रेसले सबै गुमाएको टिप्पणी गर्दै एक टेलिभिजन अन्तर्वार्तामा ‘उडायो सपना सबै हुरीले’ भन्ने गीतसमेत गाए । गुरुराज घिमिरेले त देउवाको राजीनामा नै मागिसकेका छन् । जे होस् भाउजूहरुको किचन क्याबिनेट र दाइहरुको भारदारीसभाको कमजोरीको फाइदा उठाउँदै एमाले अध्यक्षले प्रधानमन्त्रीको एक तीर चलाएर धेरै शिकार लडाउन सफल भए । दुई वर्षअघि देउवाले जुन तरबार चलाएर एमालेको सत्ता ढालेको थियो, त्यही तरबार चलाएर ओलीले देउवाको सत्ता ढालिदिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *