शीतल निवासमा दौरा-सुरुवाल विमर्श– जब राष्ट्रपतिले नै प्रचण्डसित चासो राखिन् – Nepal Press

शीतल निवासमा दौरा-सुरुवाल विमर्श– जब राष्ट्रपतिले नै प्रचण्डसित चासो राखिन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भइसकेपछि जनमानसमा एउटा उत्सुकता थियो, ‘उनले कस्तो पोशाक लगाएर शपथ ग्रहण गर्लान् ?’

नेपालमा अहिले घोषित राष्ट्रिय पोशाक कुनै नभए पनि अनौपचारि करुपमा दौरा–सुरुवाल र भादगाउँले टोपीले राष्ट्रिय पोशाकको मान्यता पाइरहेको छ । राज्यस्तरका महत्त्वपूर्ण सभा–समारोहहरूमा उच्चपदस्थहरू यही पोशाकमा सजिने गरेका छन् । तर, जीवनमा कहिल्यै दौरा–सुरुवाल नलगाएका माओवादी अध्यक्ष प्रचण्डलाई यसपालि शपथ ग्रहणको पोशाकबारे निर्णय लिन निकै सकस पर्यो ।

अघिल्लो दुई पटक प्रधानमन्त्री बन्दा प्रचण्डले सुट र टाई माथि कालो टोपी लगाएर शपथ खाएका थिए । पहिचानको वकालत गर्ने पार्टीका प्रमुखले विदेशी पोशाक लगाएर शपथ खाएको भनेर निकै आलोचना खेप्नुपरेको थियो । त्यसैले यसपालि प्रचण्डलाई दौरा सुरुवाल लगाउन धेरैले सुझाव दिएका थिए । यद्यपि, प्रचण्डले लगाउने पोशाकबारे निर्णायक छलफल चाहिँ शीतल निवासमा भएको रहेछ ।

गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्दै ७ दलका नेताहरू शीतल निवास पुगे । त्यस बेला भएको अनौपचारिक कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण समारोहमा लगाउने पोशाकबारे प्रचण्डसँग चासो राखेकी थिइन् ।

स्रोतका अनुसार सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षर पेस गरिसकेपछि राष्ट्रपति भण्डारीले प्रचण्डसँग प्रश्न गरेकी थिइन्, ‘शपथ ग्रहणमा कस्तो पोशाक लगाउने विचार गर्नुभएको छ रु सकेसम्म दौरा सुरुवाल लगाउनुभए राम्रो हुन्थ्यो ।’

प्रचण्डले सिधा जवाफ दिन सकेनन् । तर, त्यहाँ उपस्थिति सबै नेताहरूले दौरा सुरुवाल नै लगाउनुपर्नेमा जोड दिएको स्रोतले बतायो ।

राष्ट्रपतिको भनाइमा समर्थन जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्डलाई दौरा–सुरुवालमा शपथ खान सुझाए ।

‘तपाईँले दौरा–सुरुवालमा शपथ खानुभयो भने राप्रपाले सरकारलाई गरेको समर्थनको पनि सम्मान हुन्छ,’ उनले भने ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दौरा सुरुवाल नै लगाउनु वाञ्छनीय हुने बताए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशी पोशाकभन्दा दौरा सुरुवाल लगाउँदा नै राम्रो सन्देश जाने बताए ।

अरू त अरू माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत दौरा सुरुवालकै पक्षमा उभिएका थिए ।

उनले भने, ‘आफ्नो जातीय पहिचान झल्किने पोशाक लगाउनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यताका आधारमा पनि तपाईँ खस–आर्य भएको हिसाबले दौरा–सुरुवाल नै उपयुक्त हो ।’

पार्टीकै सहकर्मीबाट पनि यस्तो सुझाव आएपछि प्रचण्ड गम्भीर बनेका थिए । उनले आफू दौरा–सुरुवालको विरोधी नभएको स्पष्टीकरण दिए ।
‘दौरा–सुरुवालप्रति मलाई आपत्ति होइन । देशमा सबै जातजातिले आ–आफ्नो पोशाक लगाउनुपर्छ भन्ने नै हो । हाम्रो यो मान्यता स्थापित भइसकेको छ,’ उनले भने ।

तर, शपथ ग्रहणमा के लगाउने भनेर स्पष्ट जवाफ दिन भने सकेनन् । बरु उनले आफूसँग दौरा–सुरुवाल नभएको बताएर टार्न खोजेका थिए ।
शीतल निवासको छलफलपश्चात् प्रचण्डले आफ्ना केही निकटस्थ र परिवारका सदस्यहरूसँग समेत सल्लाह लिए । सबैबाट दौरा सुरुवाल लगाउँदा नै शपथग्रहण समारोहको गरिमा रहने सुझाव पाएपछि प्रचण्ड अन्ततः सहमत भएका थिए । उनले दौरा–सुरुवालमा शपथ खाएपछि राम्रो प्रतिक्रिया पनि पाएका छन् । शपथ ग्रहण समारोहपछि भने उनी प्राय सुट–टाइमै देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर