नेकपा एसका प्रवक्ता खतिवडा भन्छन्- एमालेले हेपाहा व्यवहार गरेसम्म सहकार्य सम्भव छैन – Nepal Press
नेपाल टक

नेकपा एसका प्रवक्ता खतिवडा भन्छन्- एमालेले हेपाहा व्यवहार गरेसम्म सहकार्य सम्भव छैन

देउवा र प्रचण्डले माधव नेपाललाई प्रधानमन्त्री बनाउन मानेका भए गठबन्धन भंग हुने थिएन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा ७ दलीय गठबन्धनको ८ सदस्यीय मन्त्रिमण्डल गठन भइसकेको छ । प्रधानमन्त्री र राष्ट्रपति आफैंले लिने अडान नेपाली कांग्रेसले अघि सारेपछि ५ दलीय वाम लोकतान्त्रिक गठबन्धन भत्किएर प्रचण्डको नेतृत्वमा ७ दलीय गठबन्धन सरकार गठन भएको हो । प्रचण्डले एमालेसहित ७ दलीय गठबन्धन निर्माण गरेसँगै तत्कालीन वाम लोकतान्त्रिक गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ ।

माओवादी आफ्नो बाटो लागेपछि वाम लोकतान्त्रिक गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादी अहिले अनिर्णयको अवस्थामा छ । ऊ न प्रचण्ड नेतृत्वको सरकारमा जान सक्ने अवस्थामा छ न त प्रतिपक्षमै बस्ने अवस्थामा छ । प्रधानमन्त्री प्रचण्डले भने आफूलाई विश्वासको मत दिने उद्देश्यले नेकपा एसलाई सरकारमा सहभागी गराउने पहल गरिरहेका छ । तर, नेकपा एसले सरकारमा सहभागी हुनेबारे कुनै निर्णय गरेको छैन ।

अब नेकपा एस कसरी अगाडि बढ्छ ? प्रतिपक्षमा बस्छ कि सरकारमा जान्छ ? यी नै विषयमा नेपाल प्रेसकर्मी केशव भुलले नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडासँग गरेको कुराकानीको सम्पादित अंशः

– वाम लोकतान्त्रिक गठबन्धन टुटेपछि तपाईंहरु के गरिरहनुभएको छ ?

हामीले के गर्ने र के नगर्ने भन्ने विषयमा कुनै पनि निर्णय गरिसकेका छैनौं । गठबन्धन भत्किनु हाम्रा लागि मात्र नभएर सबैका लागि अप्रत्याशित घटना भयो । विभिन्न दलसँग हामीले छलफल गरिरहेका छौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा आउन हामीलाई अनुरोध गरिरहनुभएको छ ।

तर, हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीभित्र अहिले दुई तीन वटा विषयमा बहस चलिरहेको छ । पहिलो, सरकारमा जानुहुँदैन र प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । दोस्रो, प्रचण्डलाई विश्वासको मत दिनुपर्छ । तर, सरकारमा सहभागी हुनुहुँदैन । तेस्रो, विश्वासको मत पनि दिनुहुँदैन ।

देउवा आफैंले पनि गठबन्धन निर्माण गर्ने वेलामा पहिलो चरणमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति जनाइसक्नुभएको थियो । तर, पछिल्लो समय एकाएक उहाँले निर्णय परिवर्तन गरेर पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अड्डी कस्नुभयो । यो राजनीतिमा ठूलो धोका हो ।

यी ३ वटै विषयमा हामी हाम्रा नेता तथा कार्यकर्तासँग छलफल तथा सोधीखोजी गरिरहेका छौं । विभिन्न बैठक पनि गरिरहेका छौं । केही दिनभित्र हाम्रो पार्टीको स्थायी समिति बैठक बस्छ र यसले एउटा स्पष्ट खाकासहितको निर्णय गर्छ । हाम्रो महत्वपूर्ण चासो र चिन्ता भनेको देश र जनता नै हो । यो देश र जनतालाई अघि बढाउन देशका नागरिक अहिले पनि राजनीतिक दल र तिनका क्रियाकलापप्रति आजित भइसकेको अवस्था छ ।

अहिलेको सरकारको अवस्था हेर्ने हो भने पनि यसमा ७ वटा दल छन् भने ८ वटा रङ्ग छ । ७ वटा दल र ८ वटा रङ्गलाई मिलाएर सरकार कसरी चल्छ र कुन नीतिअनुसार अघि बढ्छ भन्ने प्रस्ट भएको छैन । यो सरकारमा संघीयताविरोधी छन् र संघीयता पक्षधर पनि । धर्म निरपेक्षतावादी छन् र धर्म सापेक्षतावादी पनि । राजतन्त्रवादी छन् र गणतन्त्रवादी पनि । यस्तो गठबन्धनको सरकार कस्तो बन्ला र कसरी अघि बढ्ला भन्नेमा हाम्रोमात्र नभएर सबैको चासो छ ।

त्यसैले अहिलेको सरकार र गठबन्धनलाई हामी नियालिरहेका छौं र अध्ययन गरिरहेका छौं । अनि त्यसपछि मात्र नीति बनाउँछौं भनेर हामी लागेका छौं ।

– २०औं वर्षसम्म कायम गर्ने भनिरहेका बेला एकाएक गठबन्धन टुट्नुको कारण के हो ?

नेपाली काग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा ५ चोटी प्रधानमन्त्री भइसकेको व्यक्ति भएकाले अब पहिलो चरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको पालो दिएको भए हुन्थ्यो भन्ने हामी सबै गठबन्धनको बुझाइ थियो । देउवा आफैंले पनि गठबन्धन निर्माण गर्ने वेलामा पहिलो चरणमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाउने सहमति जनाइसक्नुभएको थियो । तर, पछिल्लो समय एकाएक उहाँले निर्णय परिवर्तन गरेर पहिलो चरणमा आफू नै प्रधानमन्त्री बन्ने अड्डी कस्नुभयो । यो राजनीतिमा ठूलो धोका हो । ५-५ पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले गरिसकेको सहमति र बोलिसकेको बोली यसरी फेर्नु राजनीतिक संस्कार पनि भएन । यो सबैभन्दा ठूलो घात र गल्ती गर्नुभयो ।

देउवाले प्रचण्डलाई प्रधानमन्त्री हुन नदिने अवस्थामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाएर पनि अघि जान सकिन्थ्यो । नेपाली कांग्रेसले देउवाबाहेक अर्को नेतालाई पनि बनाउन सक्थ्यो । तर, विकल्प हुँदाहुँदै पनि प्रचण्ड एमालेसँग एकाएक गठबन्धन गरेर सरकार बनाउनुभयो । यसले के फाइदा पुर्‍याउला र बेफाइदा होला, त्यो परिणाम विस्तारै देखिएला । तर, निर्वाचन अघिदेखि चलिरहेको गठबन्धन एकाएक भत्किनु एकदमै दुःखद घटना हो । घटना हुनु थिएन, भयो । अब घटना भइसकेपछि अवधारणा बनाउनुपर्ने अवस्था आयो । एउटा गठबन्धनको औचित्य सकियो । तर, अबको गठबन्धन कसरी चल्छ भन्ने कुरा प्रमुख हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बोली फेरेपछि हामीले धेरै पटक गठबन्धन टुट्छ भनेर सम्झाएकै हो । अहिलेको अवस्थामा प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्दा राम्रो होला भनेर धेरै पटक शेरबहादुर देउवालाई हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालले भेटेर सम्झाउनुभएको हो ।

– तर, विदेशी शक्तिको चलखेलबाट तपाईंहरुको गठबन्धन भत्किएर नयाँ बनेको भन्ने छ नि ?

होइन, बाहिरी शक्ति राष्ट्र हाम्रो देशको राजनीतिमा प्रत्यक्ष रुपमा प्रभाव पार्न चाहन्छन् । राजनीतिक रुपमा पक्षधर बनाउन चाहन्छन् । यो कुरा सत्य नै हो । तर, प्रधानमन्त्री हुने व्यक्ति वा दल यस्तो कुरामा कसरी बहकिन सक्छ भन्ने कुरा बुझ्न गाह्रो छ । यो विषयमा द्विविधायुक्त कुरा हुन्छ । त्यो खेलमा लागेको भए कांग्रेस पनि त्यसैभित्र परेको होला । माओवादी पनि परेको होला ।

यसलाई यसरी भन्नु भन्दा पनि कुनै पात्रले के गर्‍यो र त्यसले कहाँ समस्या पार्‍यो भनेर हेर्नुपर्छ । यो घटना नहुनुपर्ने हो । तर, भयो । यसका अप्रत्याशित कारण पछि फेला पर्दै जालान् । तर, जसले गरे पनि नेपाली पात्रले नै गरेको हो । जसले जस्तो शक्ति प्रयोग गरे पनि, प्रभावमा पारे पनि सोच्ने दिमाग र निर्णय गर्ने अधिकार त त्यो व्यक्ति र दललाई नै छ नि !

त्यसैले यो जसले राम्रो वा नराम्रो गरे पनि नेपाली पात्रले गरेको हो । नेपाली पात्रले नै गर्दा यदि उसमा देशभक्तिको भावना छैन, राष्ट्रिय स्वाभीमान भन्ने चिज छैन, अर्काले जसरी गोटी चलायो त्यसरी नै गोटी बनेर हिँड्छ भने त त्यो अर्काको दोषभन्दा आफ्नै नागरिकको दोष र आफ्नै राजनेताको दोष भनेर देख्नुपर्छ ।

– यसरी गठबन्धन टुट्ला वा प्रचण्डले टुटाउनुहोला भन्ने अनुमान गर्नुभएको थियो ?

पक्कै पनि थियो नै । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले बोली फेरेपछि हामीले धेरै पटक गठबन्धन टुट्छ भनेर सम्झाएकै हो । अहिलेको अवस्थामा प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर अघि बढ्दा राम्रो होला भनेर धेरै पटक शेरबहादुर देउवालाई हाम्रो पार्टी अध्यक्ष माधवकुमार नेपालले भेटेर सम्झाउनुभएको हो ।

– तर पनि देउवाका अगाडि माधव नेपालको केही लागेन है ?

होइन, अन्तिम समयमा आएर उहाँहरुले हामी प्रधानमन्त्री दिन सक्दैनौं भनेर बटमलाइन समातिसकेपछि प्रचण्डसँग दुई वटा विकल्प थिए । एउटा, उहाँले हाम्रो पार्टी अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाएर अघि जान सक्ने अवस्था थियो । यो प्रस्ताव त हामीले राख्यौं पनि । प्रचण्ड र देउवा दुवैले यसमा रुचि देखाउनुभएन ।

तत्कालीन गठबन्धनको मुख्य बाधक शक्तिका रुपमा नेपाली कांग्रेस नै देखिएको हो । स्थानीय तह निर्वाचनदेखि नै कांग्रेसले गठबन्धन भत्किने खालका हर्कत देखाइरहेको थियो ।

– तेस्रो शक्तिलाई त प्रधानमन्त्री दिन अस्वीकार गरेको बेला तपाईंहरुलाई कसरी स्वीकार्थ्यो ?

होइन, गठबन्धन जोगाऔं भन्ने हिसाबले यो विकल्प पनि ठिक्कै थियो नि ! हामी के साना, के ठुला सबै दल अल्पमतमा भएकाले यो विकल्पमा पनि जान सकिन्थ्यो । त्यसैले तत्कालीन गठबन्धनको मुख्य बाधक शक्तिका रुपमा नेपाली कांग्रेस नै देखिएको हो । स्थानीय तह निर्वाचनदेखि नै कांग्रेसले गठबन्धन भत्किने खालका हर्कत देखाइरहेको थियो ।

त्यतिमात्र नभएर तत्कालीन सरकार गठनदेखि सरकारले गर्ने कामसम्मबाट हामी आजित भइसकेका थियौं । तर, पनि गठबन्धन टुट्न दिनुहुँदैन भनेर हामी सहेर बसेकै थियौं । कांग्रेसले त्यस्तो व्यवहार देखाउँदा पनि यस्तो वेला गठबन्धन तोड्नु हुन्थ्यो वा हुँदैन भन्ने कुरा त निकै विचारणीय प्रश्न हो ।

– अब नेकपा एसको बाटो के हो ?

अब विश्वासको मत दिनुअघि नै निर्णय हुने कुरामा त शंका नै भएन । विश्वासको मतभन्दा पछाडि जानुपर्ने हो भने त विश्वासको मत नै नदिने दिशातिर गइयो नि ! विश्वासको मत नदिने दिशामा जाँदा पनि हामीले संसदमा यसको कारण खुलाउनुप¥यो नै । नभए सर्मथन जनाउनुप¥यो । त्यसो हुँदा विश्वासको मत दिनुअघि नै निर्णय हुन्छ । हामी बैठक बसेर टुंगो लगाउँछौं ।

– तपाईंको पार्टीको बटमलाइन के हो यसमा ?

हाम्रो बटमलाइन पार्टीले जे निर्णय गर्छ त्यही नै हो । एक्लै निर्णय गर्ने कुरा भएन । पार्टी गम्भीर छलफलमा छ । राजनीतिक भविष्यमा भोलि आउन सक्ने संकटको बारेमा र यसका सजिलोपन र अप्ठ्यारापनको बारेमा छलफल गरेर निर्णय लिनुपर्नेछ । निर्णय गर्न सूक्ष्म अध्ययन गर्छौं र धारण बनाउँछौं ।

– नेकपा एमालेमा समाहित हुनेगरी सरकारमा जान खोजेको हो कि अरु केही ?

होइन, त्यो कुनै पार्टीसँग जोडिने भन्ने कुरा त अर्को भयो । यो त सरकारसँग सम्बन्धित नै भएन । त्यस्तो समाहित हुने भन्ने हाम्रो पार्टीको कुनै सोच र योजना नै छैन । पार्टीलाई मजबुत बनाएर अघि बढ्ने र आगामी निर्वाचनमा देशका सबै वडा तहसम्म निर्वाचन लड्ने सोचसहित हामी पार्टीलाई अघि बढाउँछौं । सरकारमा जाने भनेको राजनीतिक संस्कृतिको कुरा हो । नेकपा एमालेसँग हाम्रो राजनीतिक संस्कृति सम्पन्न संवाद भएको छैन । राजनीतिक मित्रता छैन । दोषपूर्ण सम्बन्ध छ हाम्रो । यो दोषलाई मेटेर राजनीतिक मित्रतापूर्ण ठाउँमा अलि पहिले नै आइपुगेको भए एउटा सरकारमा बस्न र अरुसँग बस्न सकिन्छ ।

हाम्रो पार्टीलाई गलाउने कसले ? हामी कसैसँग समाहित हुनुपर्ने किन ? हामी सबैको आ-आफ्नो व्यक्तित्व छ । आआफ्नो स्वाभीमान र आत्मसम्मान छ । सबै संघर्ष गर्दै यो ठाउँसम्म आइपुगेका हौं ।

त्यसैगरी एमालेसँग पनि बस्न सकिन्छ भन्ने ठाउँबाट जान सकिन्थ्यो । अब घटनाक्रमले कस्तो बनाउँदै जान्छ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई राजनीतिक पार्टीका रुपमा स्वीकार गरिसकेको अवस्था छैन । उसले स्वीकार नगरे पनि यो एउटा राजनीतिक दल हो, यसमा कुनै शंका छैन । सम्पूर्ण कानूनी आधारमा यो राजनीतिक दल नै हो । उसले अस्वीकार गर्नु भनेको उसको आफ्नो प्रकारको एउटा हेपाहा प्रवृत्तिमात्रै हो । त्योभन्दा बढी केही पनि होइन ।

तर, स्वभावमा र आत्मसम्मानमा ठेस पुग्ने गरी कुनै दल हिँड्छ भने त्यो दलसँग सहकार्य पनि सम्भव छैन । घटनाक्रमले कसरी लिँदै जान्छ, राजनीतिक ढंगको सहकार्य हुन सक्छ । अन्य राजनीति दलसँग । तर, एकताको प्रश्न अलग हो । अहिले त्यस बारेमा हामीले सोचेका छैनौं ।

– आधिकारिक रुपमा अहिलेका गठबन्धन दल र तिनका नेतासँग छलफल भइरहेको छ कि छैन ?

छैन । कसैले पार्टी अध्यक्षलाई घरमा भेट्न गयो, घरमा भेट्न नै आएको मान्छेलाई भेट्नुभयो यो एउटा पक्ष भयो । त्यो जसले पनि राजनीति गर्ने व्यक्तिले गर्नैपर्छ । यो सामान्य एक सामाजिक व्यवहार नै हो । आएर कसैले आफ्ना कुरा भन्छन्, त्यो उनीहरुको पार्टीलाई प्रतिनिधित्व गर्नुहुन्छ । उहाँको अभिव्यक्तिले पनि पार्टीको प्रतिनिधित्व गर्छ । त्यसैले पार्टीले निर्णय नगरेसम्म उहाँले पनि केही गर्न सक्नुहुन्न । त्यसैले घरमा आउने जानेलाई उहाँले स्वागत गर्नुहुन्छ, चिया खुवाएर पठाउनुहुन्छ, कुरा पनि सुन्नुहुन्छ । तर, निर्णय गर्ने त पार्टीले हो ।

– माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर तपाईंको पार्टी एमालेमा विलय गराउने हल्ला छ नि ?

बजारमा हल्ला कसले कुन ढंगले गर्छ भन्ने मुख्य कुरा हो । यो हल्लाले के बताउँछ भने त्यस्तो हुँदैन छ । हाम्रो पार्टीलाई गलाउने कसले ? हामी कसैसँग समाहित हुनुपर्ने किन ? हामी सबैको आ-आफ्नो व्यक्तित्व छ । आआफ्नो स्वाभीमान र आत्मसम्मान छ । सबै संघर्ष गर्दै यो ठाउँसम्म आइपुगेका हौं । कसैले यस्तो कुरा गरिरहेको छ भने उसले त्यो अलिअलि मिल्ने वातावरण पनि बिगारिरहेको छ भन्ने बुझ्नुपर्छ । त्यसैकारण यो गलत कुरा हो । यो दुई पार्टीको बीचमा सौहार्दपूर्ण सम्बन्ध नबनोस् भनेर चाहनेले गरेको प्रचारमात्रै हो ।

– अन्तमा केही भन्नुहुन्छ ?

अहिले देश र राष्ट्रिय राजनीति बडो अस्थिरतातिर धकेलिएको छ । जस्तो खालको पनि सरकार बन्ने लक्षण आइरहेका छन्, यसले मुलुकलाई सही ढंगले निकास दिन सक्छ कि सक्दैन भन्ने प्रत्येकमा शंका छ । नेपाली नागरिकले आज विकास र सुशासन खोजेका छन् । राष्ट्रिय सुरक्षा र यसको प्रत्याभूति खोजेका छन् । आत्मसम्मानको सुरक्षा खोजेका छन् । यसका लागि फेरि पनि जनता एकजुट भएर लाग्नुपर्ने भएको छ ।


प्रतिक्रिया

5 thoughts on “नेकपा एसका प्रवक्ता खतिवडा भन्छन्- एमालेले हेपाहा व्यवहार गरेसम्म सहकार्य सम्भव छैन

  1. तिमीहरूलाई कसले एमालेमा ल्याउन लागेको छ र ? मनको लड्डु घ्यूसँग किन ? तिमीहरू त अब आफैं सकिन्छौ ।

  2. तिमीहरूलाई कसले एमालेमा ल्याउन लागेको छ र ? मनको लड्डु घ्यूसँग किन ? तिमीहरू त अब आफैं सकिन्छौ ।

  3. तिमीहरुलाई मान सम्मान गर्न, टाउकामा राखेर पूजा गर्न, तिमीहरु नभै १ पाइलो चल्नै सक्दैन, त्यो गर्न हुन्न वा तिमीहरु यो राजनीतिमा तिमीहरु नभै कुनै एउटा पनि समस्याको गाठो फुस्किन्न वा तिमीहरुको अस्तित्वले देशको कुनै एउटा कुनामा राम्रो काम हुन सक्छ भन्ने देखाउने कुनै एउटा काम के गरेका छौ !? मपाई !!

  4. यि “भुस्याहा कुकुरहरू ” लाई त हेप्ने मात्र होइन खेद्नुपर्छ |

  5. यस्ता व्यक्तिको पनि अन्तर्वार्ता लिने दिने हो र? नेपाल प्रेस जस्ताबाट धेरै अपेक्षा हुन्छ। पाठकको समयको ख्याल गरिदिनु जरुरी हुन्छ। जगन्नाथ उत्पाती मान्छे हुन् । २०५१ तिर रेडियो बाट जनताका गीत कार्यक्रमका प्रस्तोता थिए र राम्रै थियो त्यो कार्यक्रम । त्यस पछि आफ्नो स्तर नमिल्ने गरि बोल्न थालेपछि सकिदै गएका हुन् । अब सचिन्नन होला। एकता बिरोधी पनि हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर