पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपायबारे डा. रिजुतालाई ७ प्रश्न – Nepal Press
नेपाल टक

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपायबारे डा. रिजुतालाई ७ प्रश्न

काठमाडाैं । महिलाहरूलाई हुने क्यान्सर रोगमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ । दोस्रोमा स्तन क्यान्सर रहेको छ। पहिले क्यान्सर लाग्दा नो एन्सर भन्ने गरिन्थ्यो । हुन पनि क्यान्सर लागे पनि ढिलो गरी उपचारमा जाने प्रचलन थियो । अहिले पनि क्यान्सरको सुरू अवस्थामै उपचारमा आउनेहरुको संख्या कम छ । धेरै बिरामी ढिलो गरी उपचारमा आउँदा क्यान्सरकै कारण ज्यान जाने गरेको छ । सुरुकै अवस्थामा उपचार गर्न सकिए क्यान्सर निको हुन्छ ।

यसै सन्दर्भमा महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबारे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रिजुता जोशी झासँग गरिएको कुराकानीः

– पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ र यसबाट कसरी बच्ने ?

पाठेघरको तल्लो भागलाई पाठेघरको मुख भनिन्छ । जसलाई अंग्रेजीमा सर्भिक्स भनिन्छ । यसको क्यान्सर भयो भने पाठेघरको मुखको क्यान्सर भनिन्छ ।

– पाठेघरको मुखको क्यान्सर कसरी हुन्छ ?

शरीरको कुनै पनि अंगमा कोषिकाहरुको अनियन्त्रित रुपमा वृद्धि भयो भने त्यसलाई क्यान्सर भनिन्छ । पाठेघरको मुखको कोषिकाहरुको अनियन्त्रित वृद्धि भयो भने पाठेघरको मुखको क्यान्सर हुन्छ । जसलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ ।

– पाठेघरको मुखको क्यान्सर कस्तो रोग हो ?

यो एक किसिमको यौन सम्पर्कबाट सर्ने सरुवा रोग हो । यस रोगको मूल कारक तत्वको रूपमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)लाई लिइन्छ । यो भाइरसको संक्रमण यौन सम्पर्क गरेपछि पुरुषबाट महिलामा सर्छ । यस भाइरसको पाठेघरको मुखमा संक्रमण भइसकेपछि त्यसले पाठेघरको मुखको कोषिकाहरुभित्र गएर परिवर्तन ल्याउँछ ।

यो भाइरसको संक्रमण हुँदैमा क्यान्सर हुन्छ भन्ने होइन । यदि महिलाको शरीरको रोगसँग लड्न सक्ने क्षमता राम्रो छ भने यसले संक्रमणलाई रोक्छ र कोषिकाहरुको अनियन्त्रित वृद्धि हुन पाउँदैन । जसले क्यान्सर हुने सम्भावना कम हुन्छ । एचपीभीको बारम्बार संक्रमण भएको लामो समयपछि मात्र पाठेघरको मुखको क्यान्सर देखिन सक्छ ।

– कस्ता महिलाहरुमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ?

कलिलो उमैरमा यौन सम्पर्क गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चाहरु पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

धेरै जनासँग यौन सम्पर्क गर्ने वा यौन व्यवसायमा लागेका महिलाहरुमा पनि यो रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ । महिलाले एउटै पार्टनरसँग यौन सम्बन्ध राखे पनि त्यही पार्टनरले अरु धेरै महिलासँग यौन सम्बन्ध राख्छ भने त्यस्तो मान्छेबाट एचपीभीको संक्रमण हुने सम्भावना बढी हुन्छ ।

धूमपान गर्ने, यौन सम्पर्कबाट सर्ने अरु रोगहरु लागेका र रोगसँग लड्ने क्षमता कम भएका महिलाहरुमा पनि पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

– पाठेघरको मुखको क्यान्सर भएको कसरी थाहा पाउने ?

यस रोगको सुरुमा केही पनि लक्षणहरु नदेखिनसक्छ । धैरैजसोमा यो रोगका संकेतहरु देखिँदा रोग फैलिसकेको हुन्छ । त्यस्ता महिलाहरुमा यौनांगसम्बन्धी विभिन्न समस्याहरु देखिन सक्छन् ।

जस्तैः महिनावारी नभएको बेला पनि रक्तश्राव हुनु, यौन सम्पर्क गरिसकेपछि यौनांगबाट रगत बग्ने (पोस्ट कोइटल ब्लिडिङ ), यौनांगबाट गन्हाउने पानी बग्ने, यौनांगबाट रगत मिसिएको पानी बग्ने, महिनावारी सुकिसकेका महिलाहरुमा फेरि रक्तश्राव हुने हुन्छ ।

यस्ता लक्षण देखिँदैमा पाठेघरको मुखको क्यान्सर भएको छ भन्ने होइन । तर, यी लक्षणहरु देखापरेमा तुरुन्त डाक्टरको सम्पर्कमा गएर जाँच गराउनु पर्दछ । यो रोग फैलँदै जाँदा पिसाबको थैली वा दिसा गर्ने भागलाई पनि छुन सक्छ जसले गर्दा दिसा-पिसाबसम्बन्धी
समस्याहरु पनि देखिन सक्छ । जस्तैः पिसाबमा रगत देखिने, यौनांगबाट दिसापिसाब चुहिने, दिसा गर्न गाह्रो हुने र दिसा गर्दा रगत बग्ने हुन्छ । यो रोग जटिल बन्दै गएपछि तौल घट्दै जाने तथा खानामा रुचि कम हुने जस्ता लक्षणहरु पनि देखिन्छन् ।

– पाठेघरको मुखको क्यान्सरबाट बच्न के गर्ने ?

रोगबाट बच्न किशोरकिशोरीलाई यौन शिक्षा दिनुपर्छ । किशोरीलाई सुरक्षित यौन सम्पर्कको विधिहरु सिकाउनुपर्छ । किशोरकिशोरीलाई एचपीभीविरुद्ध भ्याक्सिन पनि सहज रूपमा उपलब्ध गराउनु पर्दछ । यौन सम्बन्ध राखिसकेका महिलाहरुले कुनै समस्या नदेखिए पनि नियमित रुपमा सर्भाइकल क्यान्सरको स्क्रीनिङ गर्ने जाँचहरु जस्तैः प्याप स्मेयर, एलबीसी तथा एचपीभी, डीएनए टेस्ट गर्नुपर्छ । यी जाँचहरुले पाठेघरको मुखमा रहेका क्यान्सर हुनुभन्दा अगाडिका परिवर्तनहरु (प्रि-क्यान्सरस लिजन्स) लाई पत्ता लगाएर तुरुन्त उपचार गर्न मद्दत पुर्‍याउँछ । यो रोग लागेको पुष्टि गर्न पाठेघरको मुखका कोशिकाहरुको जाँच (सर्भाइकल बायोप्सी) गर्नुपर्दछ ।

– यसको उपचार के हो ?

पाठेघरको मुखको क्यान्सरका ४ वटा चरणहरू हुन्छन् । पहिलो चरणमा यो रोग पाठेघरको मुखमै सीमित हुन्छ । यो रोग नजिकैका अरु अंगहरुतिर क्रमशः फैलिँदै जान्छ र सोही रुपमा यस रोगको चरण पनि बढ्दै जान्छ । यो रोगको धेरैजसो चरणहरुमा रेडियोथेरापीले काम गर्दछ । यस रोगको पहिलो र दोस्रो चरणको पनि सुरुमा पाठेघरको क्यान्सरसम्बन्धी जटिल शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर फैलिसकेको अवस्थामा शल्यक्रिया गरेरमात्र पुग्दैन र यसको उपचारको लागि किमोरेडियोथेरापी पनि चाहिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर