वागमती : माओवादीमा संसदीय दलको नेता को ? ५ दिनमा सहमति नभए चुनाव – Nepal Press

वागमती : माओवादीमा संसदीय दलको नेता को ? ५ दिनमा सहमति नभए चुनाव

हेटौँडा । नेकपा माओवादी केन्द्रले पुस १६ गतेभित्र प्रदेश संसदीय दलको नेताको टुंगो लगाउने भएको छ ।

दलको नेताको लागि पोलिटब्युरो सदस्य शालिकराम जम्कट्टेल, युवराज दुलाल तथा प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलबीच सहमतिको प्रयास जारी रहेको छ । हालसम्म सहमति जुटिनसकेको भन्दै प्रदेश अध्यक्ष पौडेलले पुस १५ या १६ गतेलाई दलको बैठक बोलाउने तयारी भएको र त्यो समयसम्म सहमति नजुटे विधि र प्रक्रियाबाट दलको नेता छनोट हुने बताए ।

‘अहिलेसम्म त सहमतिमा जाउँ भन्ने छ, हुँदै भएन भने चुनाव नै गरेर भएपनि १६ गतेभित्र दलको नेता छनोट हुन्छ’ उनले भने ।

दलको नेता छान्ने विषयमा हाइकमाण्डको हस्तक्षप होला नि ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने ‘वागमती प्रदेशमा चर्चामा रहेका नेताहरू हाइकमाण्ड निकटकै नेताहरू हुन्, हामीमध्ये एकजनालाई बोकेर हाइकमाण्ड विवादमा आउँदैन जस्तो लाग्छ, हामीलाई तलै मिलेर या प्रक्रियामा गएर आएको निर्णय सुनाउनु भन्ने सुझाव छ, सोहीअनुसार गर्ने तयारी गरेका छौं ।’

पौडेलले सहमतिको लागि प्रयासहरू जारी रहेको भन्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरूसँग नियमित छलफल तथा सुझाव संकलन जारी रहेको बताए ।

‘सभासदज्यूहरू पनि सकेसम्म सहमतिमा अघि बढ्नुपर्छ भन्नेमा हुनुहुन्छ, तर सहमति नजुटेको सन्र्दभमा निर्वाचनमा गएर पनि १६ गतेभित्र दलको नेता चयन गर्ने तयारीमा हामी लागिसकेका छौँ ।’

वागमती प्रद्रेशमा माओवादी केन्द्रको २१ सिट रहेको छ । अधिकांश सभासदहरू पार्टी अध्यक्ष प्रचण्ड लाइनमा रहेको कारण पनि तीनैजना प्रचण्ड निकटका नेतालाई सहमतिमा ल्याउन समस्या देखिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर