कारागारबाट सन्दीपको पत्र- अनुसन्धान प्रक्रियामा संशय, साथी खेलाडीहरूप्रति चित्त दुखाइ (पूर्णपाठ)


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछाने साढे दुई महिनादेखि थुनामा छन् । जबरजस्ती यौन सम्बन्ध राखेको आरोपमा एक किशोरीले जाहेरी दिएपछि गत असोज २० गते उनलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।
अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाएका सन्दीपका लागि यो जेल बसाइ पक्कै पनि शारीरिक रुपमा कष्टप्रद र मानसिक रुपमा पीडादायी छ । करिअरले लोभलाग्दो उडान भरिरहेको वेला उनी कारागारको जेलको चार पर्खालभित्र पछारिन पुगे । निकट स्रोतहरुका अनुसार उनी केही दिनअघि मानसिक रुपमा निकै विक्षिप्त अवस्थामा पुगेका थिए । यद्यपि हालका दिनहरुमा उनी अलि आत्मविश्वासी देखिएको कारागार स्रोतले बतायो ।
जेल परेयता निकै दुब्लाएका छन् सन्दीप । उनले दाह्री-कपाल पनि काटेका छैनन् । आफूलाई भेट्न आउनेसँग लामो कुरा गर्न रुचाउँदैनन् । अनुहारमा मुस्कान विरलै देखिन्छ ।
साँच्चै के सोचिरहेका छन् यतिवेला सन्दीप ?
केही दिनअघि सन्दीपले आफ्ना भावनाहरु कागजमा उतारेर त्यसलाई पत्रको रुप दिए । यस पत्रमा उनले आफ्ना वकिल सरोज घिमिरेलाई सम्बोधन गरेका छन् । पत्रको व्यहोरा पढ्दा आफ्नो निर्दोषितामा स्पष्ट र विश्वस्त देखिन्छन् सन्दीप । तर, अनुसन्धान गर्ने र न्याय दिने निकायहरुको काम-कारबाही तथा निष्पक्षतामा भने उनलाई संशय छ । साथै सन्दीपले क्रिकेट टीमका साथीहरु आफ्नो मुद्दाबारे मौन बसेकोमा पनि चित्त दुखाएका छन् ।
सन्दीपले अंग्रेजीमा लेखेको पत्रलाई हामीले नेपालीमा भावानुवाद गरेर पस्केका छौं :
मेरो प्रिय वकिल !
आशा गर्छु, तपाईंको स्वास्थ्य राम्रो छ ।
सबैभन्दा पहिले त म तपाईंले मलाई गर्नुभएको निरन्तर सहयोग र हेरचाहका लागि धन्यवाद दिन्छु र मविरुद्ध दायर गरिएको गलत एवं षड्यन्त्रपूर्ण मुद्दामा अदालतमा मेरोतर्फबाट कानूनी प्रतिनिधि बनिदिनुभएकोमा आभार प्रकट गर्छु ।
तपाईं र सिंगो देशलाई मेरो खेल करिअरका विषयमा तथा नेपालको क्रिकेट स्तर उकास्न मैले दिएको योगदानका विषयमा जानकारी नै छ । यतिवेला म गलत र गम्भीर रुपमा छलपूर्ण आपराधिक मुद्दाको सामना गरिरहेको छु, जुन मेरो जीवन, मेरो परिवार तथा नेपाली क्रिकेटमाथि गम्भीर हानी पुर्याउन थुप्रैको प्रत्यक्ष वा परोक्ष संलग्नतामा रचिएको विद्वेषकारी षड्यन्त्रको नतिजा हो ।
तर, म बलियो, उत्प्रेरित र पूर्ण आश्वस्त छु कि मैले यस्तो षड्यन्त्रका पर्खालहरु भत्काउनैपर्छ, मेरो लागि मात्र नभएर उनीहरुका निम्ति पनि जसले ढिलो वा चाँडो यस्तै खालको परिस्थितिको सामना गर्न सक्छन् ।
अहिलेसम्म सायद मेरो कानूनी टीमले सबै प्रमाणहरु अध्ययन र विश्लेषण गरिसक्यो होला । म यो कुरामा चाहिं अचम्भित छु कि आपराधिक प्रकृतिको आधारहीन एवं असत्य नाटक मञ्चन गर्न कोही कसरी यति धेरै अन्यायी हुनसक्छ । अनि, अनुसन्धान गर्ने निकायले आरोपहरुको वैधानिकता र मौलिकताका सम्बन्धमा कागजातहरुको आधिकारिकता परीक्षण गर्ने कुरालाई यति सजिलोसँग पन्छाइदिए ।
यस भूमिको कानून तथा हाम्रो न्याय प्रणालीप्रति मेरो गहिरो सम्मान छ । र, म सबै प्रकारका ट्रायलहरुबाट पार हुन तयार छु । तर, म यो कुरामा ढुक्क छैन कि हाम्रो अनुसन्धान गर्ने निकायहरुले अनुसन्धानका प्रत्येक चरणमा प्रमाणहरुको उचित मूल्यांकन र विश्लेषण गर्नेछन् । यस्तो लाग्छ कि हाम्रा अनुसन्धानहरु आरोपको घनत्वलाई पुष्टि गर्नेभन्दा पनि आरोपितलाई सजाय दिलाउने विशेष प्रयत्नका साथ सञ्चालित हुन्छन् ।
मैले महसुस गरेको थिएँ कि म एउटा आपराधिक जालमा परेको छु । तर, त्यसवेला धेरै ढिला भइसकेको थियो । मविरुद्ध परिस्थिति एकदमै कुशलतापूर्वक निर्माण गरिएको थियो । मैले यो पनि अनुभूति गरें कि खेलकुदका मेरा आफ्नै दाजुभाइहरु उनीहरुको भाइ (दाइ)ले गलत मुद्दा झेलिरहँदा कसरी निरपेक्ष बस्न सकिरहेका छन् ? म उनीहरुको राम्रो स्वास्थ्यको कामना गर्छु ।
मलाई थाहा छ, तपाईं र मेरो कानूनी टीमले भित्र लुकेका सबै वास्तविकतालाई उजागर गर्दै मलाई न्याय दिलाउनेछ । म फेरि फर्किनेछु । मलाई अझै ठीक छु, यद्यपि निराशा र हताशापूर्ण सोचहरुले मलाई प्रत्येक मिनेट हिर्काइरहेका छन् । तर, प्रत्येक दिन म आफूलाई बलियो, आत्मविश्वासी र सावधान बनाउने प्रयत्न गरिरहेको छु । मलाई सम्मानित न्यायालयबाट द्रुत न्यायको प्रतीक्षा छ ।
मलाई थाहा छ कि मेरो अनुपस्थितिमा नेपाली राष्ट्रिय टीममा असर परिरहेको छ । म तपाईंमार्फत यो सन्देश प्रवाह गर्न चाहन्छु कि म चाँडै न्याय पाएर फर्किनेछु र हामी आफ्नो टीमलाई माथि उठाउनेछौं । मैले कुनै पनि अपराध गरेको छैन र म निर्दोष छु । केवल निर्दोष । मैले मेरो राष्ट्रका लागि अझै धेरै खेल्नुपर्नेछ ।
उही तपाईंको
सन्दीप लामिछाने
केन्द्रीय कारागार
सन्दीप लामिछाने राष्ट्रिय अन्तर्राष्ट्रिय खेल जगतको भविष्य हो उनीवाट मानवीय त्रुटी भएको भए पनि क्षतिपूर्ति तिराई तुरुन्त खेल जगतमा फर्काउ।