सांसदहरूको शपथअघि आज सर्वदलीय बैठक


काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठक डाकिएको छ ।
संसदको ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुअघि सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
आज दिउँसो १ बजेदेखि संसद भवनमा प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथग्रहण गराइँदैछ ।
त्यसअघि १२ बजे बैठक सञ्चालनसम्बन्धी छलफल गर्न सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक-एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ । बैठकमा संसद सञ्चालनलगायतका विषयमा छलफल हुनेछ ।
संसदमा प्रतिनिधित्व गर्ने सबै १२ दलका एक-एकजना र ५ स्वतन्त्र सांसद बैठकमा सहभागी हुने संसद सचिवालयले जनाएको छ ।