सप्तरीमा उपचार अभावमा पाँचजना दलित समुदायका व्यक्तिको मृत्युबारे मधेशी आयोगले अनुमगन गर्दै
पीडितलाई सहयोग गर्न र तत्काल उपचार गराउन सरकारलाई निर्देशन


काठमाडौं । सप्तरीको कन्चनरुप नगरपालिकामा ५ जना अति विपन्न मधेशी दलित समुदायका व्यक्तिको उपचारकै अभावमा मृत्यु भएको घटनाबारे मधेशी आयोगले अनुगमन गर्ने भएको छ । उक्त घटना सम्बन्धी यथार्थ बुझ्नका लागि एक अनुगमन टोली पठाउने तयारी गरेको आयोगले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।
आयोगकी उपसचिव सबिता डंगोलले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै राज्यले हरेक नागरिकको उपचारको ग्यारेन्टी गरे पनि वर्षेनी हुने यस्ता घटनाप्रति आयोगको गम्भीर ध्यानकर्षण भएको बताएकी छन् ।
आयोगले यस्ता संवेदनशील घटनाको अल्पकालीन र दीर्घकालीन समाधानको लागि विभिन्न समयमा सिफारिस र ध्यानकर्षण गराए पनि सरकारको बेवास्ताले गर्दा यस्ता समस्या समाजमा यथावत रहेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताए ।
संवैधानिक निकायको सिफारिस सरकारका लागि निर्देशन बराबर भए पनि सरकार संवेदनशील नहुनुले समाजमा गलत सन्देश गइरहेको बताए ।
आयोगले पीडित परिवारलाई राज्यले सबै प्रकारको सहयोग गर्न र बिरामीलाई यथोचित स्वास्थ्य उपचार गराउन निर्देशन पनि दिएको छ ।