पर्वतलाई गिज्याइरहेको मालढुंगा-बेनी सडक – Nepal Press

पर्वतलाई गिज्याइरहेको मालढुंगा-बेनी सडक

म्याग्दी । देशकै चर्चित पर्यटकीय स्थलको मध्येको एक मुस्ताङसम्म पुग्न प्रयोग हुने सडकको अवस्था नाजुक रहेको छ । देशको पर्यटन प्रवर्द्धनमा अहम् भूमिका रहेको मुस्ताङसम्म पुग्ने सडक नाजुक हुँदा आन्तरिक र बाह्य पर्यटकलाई समस्या हुने गरेको छ ।

अग्ला, टिलिक्क टल्केका हिमाल देखिने, मुक्तिनाथको दर्शन गर्ने, बेनी बजारको फन्को लगाउने, जोमसोम बजारको चिसो हावाको स्पर्श लिने उद्देश्य बोकेर यात्रामा निस्कने यात्रीहरू पर्वतको मालढुंगा पुगेपछि समस्यामा पर्ने गरेका छन् ।

मालढुंगाबाट जम्मा १३ किलोमिटरको दुरीमा रहेको बेनी पुगुन्जेल यात्रुलाई ज्यान जोगाएर सवारी चलाउन ध्याउन्न हुन्छ । पछिल्लो समय यात्राको क्रममा मोटरसाइकलको प्रयोग धेरै हुने गरेको छ । अझ मोटरसाइकल यात्रुलाई १३ किलोमिटर सडक छिचोल्न, धुलो, हिलो र सडकका खाल्डाहरूसँग जुध्नुपर्ने अवस्था रहेको छ ।

पर्वतको कुस्मापछि सबैभन्दा महत्त्वपूर्ण व्यापारिक केन्द्र र जनसंख्याको हिसाबमा पनि ठूलो बसोबास रहेको जलजला गाउँपालिकाको क्षेत्र र म्याग्दीको सदरमुकाम बेनी बजारसम्म आउने उक्त सडकको अवस्थाले त्यहाँका जनप्रतिनिधिहरूलाई गिज्याइरहेको छ ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक निर्माण कम्पनी खड्ग जेभि कस्ट्रक्सनका प्रतिनिधिसहित प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिहरूले सडक सुचारु गर्ने विषयमा छलफल गरेको र अहिले काम सुरु भएको बताउँछन् ।

जिल्ला समन्वय समितिका म्याग्दीकी उपप्रमुख दिलकुमारी खत्रीले आफूहरूको जिल्लासँग जोडिएको सडकबारे चासो रहेको र पर्वतसँग समन्वय भएको बताइन् । कन्स्ट्रक्सन कम्पनीसँगको केहि विवादको कारण काम रोकिएको जानकारी पाएको भन्दै उनले चाँडै सहकार्य गरेर काम अघि बढाउनको लागि पहल गरिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर