सरोकारवालाको चिन्ता : नबढे शिक्षा बजेट, दिगो विकासका लक्ष्य चैट्


काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरे दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । योजना र कार्यक्रम राम्रा भए पनि बजेट अभावमा कार्यान्वयन हुन नसक्ने उनीहरुको आशंका छ ।
शुक्रवार शिक्षा पत्रकार समूहले आयोजना गरेको दिगो विकास लक्ष्य ः कार्यान्वयनको स्थिति, चुनौति र अवसर’ विषयक अन्तक्र्रियामा सहभागि अधिकांशले तीनवटै सरकारले लगानीको प्रतिवद्धता जनाउदैँ दिगो विकासका लक्ष्य हासिल हुने ठोकुवा गरे । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले तत्कालका लागि बजेट अभाव देखिए पनि निर्धारित समयमा लक्षित उपलब्धी हासिल हुने जिकिर गरे । विद्यमान योजनाहरुको प्रभावकारी कार्यान्वयन भए शिक्षा क्षेत्रमा दिगो विकास लक्ष्य हासिल गर्न कुनै कठिनाइ नभएको उनको दाबी थियो ।
तत्कालका लागि बजेटको कमी रहेको स्वीकार गर्दै उपसचिव अर्यालले शिक्षामा लगानी गरिएको बजेटको ठूलो हिस्सा शिक्षक, कर्मचारीको तलबमा खर्च हुने भएकाले विद्यालयमा थप कार्यक्रम संचालन गर्न भने गाह्रो रहेको बताए ।
स्थानीय तहका जनप्रतिनिधिले भने संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरे शिक्षामा दिगो विकास लक्ष्य हासिल हुन कठिन रहेको दाबी गरे । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालका कोषाध्यक्षसमेत डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्टले संघले स्थानीय तहमा योजना र जिम्मेवारी मात्रै दिएको तर कार्यान्वयनका लागि बजेट नदिएको गुनासो गरे । स्थानीय तहमा विद्यालय शिक्षामा स–साना समस्या रहेको तर संघीय सरकारका योजनाले त्यसलाई नसमेटेको उनको भनाइ थियो ।
यस्तै, अछामको पञ्चदेवल बिनायक नगरपालिका अछामका प्रमुख अम्बिका चलाउनेले बजेटको अभावमा स्थानीय तहले शिक्षालाई गुणस्तरीय बनाउने गरी त्यसको पूर्वाधार विकासमा काम गर्न सक्ने अवस्था नरहेको बताइन् । गुणस्तरीय जनशक्ति उत्पादनका लागि पहिले विद्यालयको आधारभूत तहमा लगानी बढाउनुर्नेमा उनको जोड थियो ।
कार्यक्रममा शिक्षाविद् वाइपी आचार्यले शिक्षकको क्षमता विकासमा ध्यान दिन आग्रह गर्दै शिक्षामा राजनीतिक प्रतिवद्धता नबढ्दा लक्षित उपब्धी हासिल हुन नसकेको बताए । सबैलाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्ने भन्दै आचार्यले स्थानीय समस्या र खुबीका आधारमा शिक्षाका व्यवहारिक योजना बन्नुपर्नेमा जोड दिए ।
युनेस्को काठमाडौंका शिक्षा प्रमुख ध्रुव रेग्मीले सबै पक्षको प्रतिवद्धता र सहकार्यले दिगो विकासका लक्ष्य हासिल हुने बताए । यसका लागि सबैपक्षले हातेमालो गर्न आवश्यक रहेकोमा उनको जोड थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक सुरेशकुमार जोशीले सरकार शिक्षामा दिगो विकासका लक्ष्य हासिल गर्नेगरी अगाडि बढीरहेको स्पष्ट पारे । यसका लागि सबैपक्षको सहयोग र प्रतिवद्धता आवशयक रहेकोमा उनको जोड थियो ।
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव घनश्याम अर्याल, युनेस्को काठमाडौंका शिक्षाप्रमुख ध्रुव रेग्मी, शिक्षा पत्रकार सुदर्शन सिग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपत्रमा शिक्षा अभियन्ता वाइपी आचार्य, प्रकाश घिमिरे र राजकुमार बरालले टिप्पणी गरेका थिए ।