लुम्बिनीमा दोब्बरले बढ्यो भेटी, गणना गर्न लाग्यो ५ दिन – Nepal Press

लुम्बिनीमा दोब्बरले बढ्यो भेटी, गणना गर्न लाग्यो ५ दिन

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा दानवापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार दान पेटिकाको भेटी गणना सकाएको हो ।

आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दान पेटिका छिट्टै भरिन थालेको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार अघिल्लोपटक ३ महिनामा एकपटक गणना गरिएकोमा यसपटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको छ । गत असोज ३० गते गरिएको गणनामा २७ लाख १८ हजार दान वापत रकम संकलन भएको थियो ।

कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । अहिले लुम्बिनी भ्रमणको सिजनसमेत भएकाले भारत, थाइल्याण्ड, म्यानमार, भियतनाम र युरोपबाट दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए ।

कोषका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार २०५ जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । त्यस्तै भारतबाट ३८ हजार ६८९ र अन्य मुलुकबाट ७ हजार ४७३ जनाले लुम्बिनीमा पाइला टेकेका छन् । नोभेम्बरसम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेको छन् ।

त्यस्तै भारतबाट मात्रै १ लाख ८८ हजार पर्यटक भित्रिएको कोषको तथ्यांकमा उल्लेख छ । भियतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंकालगायतका ८४ मुलुकबाट १ लाख ८१ हजारले लुम्बिनी भ्रमण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर