साँखु–थली सडक-जनतालाई साथ दिँदा मेयरले राजनीतिकरण गरेको कुन्ती पोखरेलको दावी


काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा काठमाडौं २ को प्रतिनिधि सभा उम्मेदार बनेकी कुन्ती पोखरेलले साँखु–थली सडक खण्ड निर्माणका सन्दर्भमा आफूले जनताको पक्षमा दबाब दिँदा कागेश्वरी मनहर नगरपालिकाका मेयरले गलत आरोप लगाएको भन्दै आपत्ति जनाएकी छन् ।
पोखरेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै वर्षौंदेखि स्थानीयले कष्टकर यात्रा गर्नुपरेकाले आफूले सो सडक अबिलम्ब कालोपत्रे हुनुपर्छ भनी जनताले गरेको आन्दोलनमा साथ दिएको बताएकी छन् ।
जनताको आग्रहबमोजिम आफूले पहल गर्दा मेयर उपेन्द्र कार्कीले आफूमाथि स्थानीय बासिन्दालाई उक्साएको आरोप लगाएको भन्दै पोखरेलले झुटो प्रचार नगर्न चेतावनी दिएकी छन् । उनले राजनीतिक पुर्वाग्रह राखेर मेयरले फेस सेभिङको प्रयास गरेको भन्दै जनताको मागमा आफू सधै साथमा रहने बताएकी छन् ।
मेयर कार्कीले पत्रकार सम्मेलन गरी राप्रपाबाट उम्मेदवार बनेर पराजित भएकी पोखरेलले स्थानीयलाई उक्साएर आन्दोलन गराएको आरोप लगाएका थिए ।