तिलोत्तमाको महोत्सवमा १५ करोडको कारोबार


रुपन्देही । तिलोत्तमाको मणिग्राममा आयोजना भएको औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा १५ करोडको आर्थिक कारोबार भएको छ । मंसिर १५ गतेदेखि सुरु भएको महोत्सवमा करिब १५ करोड आर्थिक कारोबार गर्दै बुधबार समापन भएको हो ।
महोत्सव मूल आयोजक समिति संयोजक एवं आयोजक तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमका अनुसार महोत्सव अवधिमा करिब १५ करोडको आर्थिक कारोबार भएको छ । उनले पाँच लाख पाँच हजार दर्शक उपभोक्ताले महोत्सवको अवलोकन गरेको बताए ।
बुधबार महोत्सव समापन कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारीले अझैपनि सरकारले लगानीमैत्री वतावरण बनाउन नसकेको गुनासो गरे । उद्योगमैत्री नीति बनाएर राज्यले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी प्रोत्साहन गर्नुपर्ने उनको भनाई थियो ।
बैंकहरुले मनोमानी रुपमा ब्याज वृद्धि गर्दा उद्योगीहरु धरासायी हुने अवस्था सृजना भएको पनि उनले उल्लेख गरे ।नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुली, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सदस्य मनिषकुमार जोशी, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सहआयोजक संस्था तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसाल, तिलोत्तमा उद्योग बाणिज्य संघका गुणनिधि भण्डारी, तिलोत्तमा उद्योग ब्यापार संगठनका महासचिव हेमलाल न्यौपाने तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं स्थानीय तहका जनप्रतिनिधिहरुले धारणा राख्दै उद्योगी ब्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
उनीहरुले तिलोत्तमा क्षेत्रमा स्थायी प्रकारकोे मेला स्थल बनाउन स्थानीय सरकारहरुले मुख्य पहल गर्नुपर्नेमा पनि जोड दिए ।