प्रतिनिधिसभामा ३३ र प्रदेशसभामा ३६ प्रतिशत महिला निर्वाचित – Nepal Press

प्रतिनिधिसभामा ३३ र प्रदेशसभामा ३६ प्रतिशत महिला निर्वाचित

४ हजार भन्दा बढी उम्मेदवारको धरौटी जफत

काठमाडौं । प्रतिनिधिसभातर्फ ३३ प्रतिशत र प्रदेश सभातर्फ ३६ प्रतिशत महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभामा जम्मा २७५ जना निर्वाचित हुँदा पुरुष ६६.९० प्रतिशत अर्थात् १८४ जना निर्वाचित भएका हुन् भने महिला ३३.१० प्रतिशत अर्थात् ९१ जना निर्वाचित भएका हुन् ।

यस्तै प्रदेशसभातर्फ पुरुष ६३.६४ प्रतिशत अर्थात् ३५० जना निर्वाचित भएका छन् भने महिला ३६.३६ प्रतिशत अर्थात् २०० जना निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी जम्मा ८२५ जना निर्वाचित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २२५ जना महिला र २ हजार १८६ पुरुष गरी जम्मा २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार १८७ महिला र १ हजार १२ पुरुष गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो ।

प्रदेश सभातर्फ भने प्रत्यक्षतर्फ २८० जना महिला, २ हजार ९४३ पुरुष र अन्य १ जना गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो प्रदेश सभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ५११ महिला र २ हजार १९७ पुरुष गरी जम्मा ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरेको थियो । यस अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि जम्मा उम्मेदवारको संख्या ११ हजार ५४२ थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्षतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागिता जनाएका छन् ।

१ करोड ७९ लाख मतदाता, ६१ प्रतिशत मात्रै मतदान

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र अन्य १८५ जना गरेर जम्मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको संख्या कायम भएको थियो ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमध्येबाटै मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम अस्थायी मतदाता नामावलीमा ४ लाख ५० हजार मतदाता रहेका थिए ।

देशभरिका मतदाताको सहजतालाई मध्यनजर गर्दै यस पटकको निर्वाचनमा १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था आयोगले मिलाएको थियो ।

त्यसै गरी अस्थायी मतदातालाई प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने व्यवस्था अनुसार १४१ अस्थायी मतदान स्थलको समेत व्यवस्था गरेको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६१।४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मतदान भएको आयोगले जनाएको छ । जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको छ भने ५.०६ प्रतिशत मत बदर भएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ ६१.८५ प्रतिशत अर्थात् १ करोड ११ लाख २६ हजार २२६ मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ भने ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रदेशसभामा प्रत्यक्षतर्फ लागि ६१.३६ प्रतिशत अर्थात् १ करोड १० लाख ३४ हजार ५०० मतदान भएकोमा १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको छ भने ४.०७ प्रतिशत मत बदर भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ ६१.३१ प्रतिशत अर्थात् १ करोड १० लाख २८ हजार ३७६ मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको छ ।

४ हजार भन्दा बढी उम्मेदवारको धरौटी जफत

प्रतिनिधिसभा र प्रदेशसभाका ४ हजार २८५ उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १८९ महिला गरी जम्मा १ हजार ९६१ जनाको धरौटी जफत भएको हो । यस्तै प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला तथा १ अन्य गरेर २ हजार ३२४ जनाको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान भएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ ।

४० दलको धरौटी जफत

प्रतिनिधिसभातर्फ बन्दसूची पेश गर्ने ४७ दलमध्ये ४० वटा दलको पनि धरौटी जफत भएको छ । प्रदेशसभातर्फ भने प्रदेश नम्बर १ मा ३०, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ ।

यस पटकको निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५२ मा प्रतिनिधि सभाको समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत मत र प्रत्यक्षतर्फ १ सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था रहेको छ ।

प्रदेश सभातर्फ भने प्रदेश नं. १ मा ६, मधेश प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभामा प्रतिनिधित्व भएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १।५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ३७ वटा राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको छ ।

यसै गरी, भारत, भुटान, बंगलादेश, माल्दिभ्स र दक्षिण कोरियाका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा पदाधिकारी, जापानका विदेश राज्यमन्त्री र नेपालस्थित १८ वटा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले समेत निर्वाचनको पर्यवेक्षण तथा अवलोकन गरेका छन् ।

आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपति समक्ष पेश गरिसक्नुपर्छ ।

यस्तै प्रदेश सभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम मंसिर २९ गते राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

साथै आगामी पौष २ गते प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर