आयोगले सार्वजनिक गर्‍यो निर्वाचनको अन्तिम परिणाम – Nepal Press

आयोगले सार्वजनिक गर्‍यो निर्वाचनको अन्तिम परिणाम

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

आयोगले वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गतको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने र पुस २ गते आयोग पदाधिकारीले सातै प्रदेशमा प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले जानकारी दिए ।

आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना अर्थात ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना अर्थात ६३ दशमलव ६४ प्रतिशत र महिला २०० जना अर्थात ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ४ लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए ।

त्यस्तै, प्रतिनिधिसभा सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको थियो ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५०० (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो जसमध्ये १ करोड ५ लाख ८५ हजार ३०० मत सदर भएको थियो भने ४ दशमलव शुन्य ७ प्रतिशत मत बदर भएको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २८ हजार ३७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको थपलियाले बताए ।

प्रतिनिधि सभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ गरी जम्मा १ हजार ९६१ जना तथा प्रदेश सभातर्फ पुरुष २ हजार ८६, महिला २३७ र अन्य १ गरी जम्मा २ हजार ३२४ जना गरी जम्मा ४ हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ ।

निर्वाचनबाट ७ वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर