टिपरले किचेर युवकको हत्या गरेको भन्दै तारकेश्वरमा प्रदर्शन, आरोपी ३ जना पक्राउ


काठमाडौं । काठमाडौंको तारकेश्वर ३ तीनपिप्लेमा एक युवकको शंकास्पद मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका विमल बलामीसहित तीन जना रहेका छन् । अन्यको नाम खुलाइएको छैन । २ जना फरार रहेका छन् ।
पक्राउ परेका बलामी गत स्थानीय निर्वाचनमा ककनी गाउँपालिका १ मा अध्यक्षमा निर्वाचन लडेका थिए । तर उनी पराजित भए ।
आइतबार राति तीनपिप्लेका २३ वर्षीय सविन फुयाँलको मृत्यु भएको घटनामा उनका आफन्त र स्थानीयले उनको हत्या भएको बताएका छन् ।
सुरुमा बा ५ ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । घाइते फुयाँललाई चालक समेतले मिलेर हत्या गरेको आफन्तको आरोप छ ।
टिपरले ठक्कर दिएर घाइते भएका फुयाँलको साबेलले हानेर हत्या गरिएको आफन्तको आरोप छ । उनकाे शव दुर्घटना भएकाे स्थानभन्दा केही पर भेटिएको थियो ।
हत्याको खवर पाएको केही मिनेटमा नै प्रहरी घटनास्थल पुगेको थियो । फुयाँलको शव डिएसपीकै गाडीमा हालेर अस्पताल लगिएको थियो ।
प्रहरीले घटनास्थल शिल गरेर मुचुल्का नपठाएको, प्रत्यक्षदर्शीहरुसँग बयानपनि नलिएको आरोप आफन्तले लगाएका छन् ।
हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै त्यहाँ अहिले विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् ।