प्रदेश १ : सरकार गठनमा निर्णायक जसपाभित्र कसलाई साथ दिने भन्नेमा दुई धार – Nepal Press

प्रदेश १ : सरकार गठनमा निर्णायक जसपाभित्र कसलाई साथ दिने भन्नेमा दुई धार

विराटनगर । प्रदेश १ सरकार गठनमा ‘कि फ्याक्टर’ को रूपमा देखिएको जनता समाजवादी पार्टी (जसपा) मा कसलाई साथ दिने भन्ने दुई धार देखिएको छ । कुन गठबन्धनमा जाने औपचारिक निर्णयमा नपुगेको जसपाभित्र सत्ता समीकरणको तालमेलबारे विवाद देखिएको हो ।

उपेन्द्र यादवले विराटनगर आएर एमालेसँगको सहकार्य सकिएको बताएका थिए । तर, एमालेकै साथ पाएर चुनाव जितेका अर्का प्रभावशाली नेता अशोक राईले बैठकले निर्णय गरिनसकेकाले यादवको भनाइ पार्टीको आधिकारिक नभएको टिप्पणी गरे ।

९३ सीट रहेको प्रदेशसभा १ मा जसपाले समानुपातिकबाट एक सीट पाएको छ । बहुमतका लागि ४७ सीट चाहिनेमा सत्तागठन्धनका कांग्रेस-माओवादी-एकीकृत समाजवादीसँग ४६ सीट छ । त्यस्तै तालमेल गरेर चुनाव लडेका एमाले-राप्रपाको पनि ४६ सीट नै छ । दुवै गठबन्धन सरकार बनाउन जसपाको आशमा बसेका छन् ।तर, निर्णायक मत लिएर बसेको जसपाभित्र एक पक्ष एमालेको नेतृत्वमा बन्ने सरकारमा जानुपर्ने र अर्कोपक्ष सत्ता गठबन्धनसँगै मिलेर सरकार बनाए दिगो हुने बताइरहेका छन् ।

चुनावमा एमालेसँग तालमेल गरेकाले लगत्तै धोका दिन नहुने जसपाभित्र एक धारको तर्क छ । अर्कोथरि नेताहरू भने पार्टीलाई जे फाइदा हुन्छ र सरकार जसको दिगो हुन्छ उसैलाई सहयोग गरेर जाने बताउँछन् ।

केन्द्रको आधिकारिक धारणा आइनसकेकाले प्रदेशका नेताहरूबीचमा भने फरक-फरक कुरा आइरहेको छ । जसपा प्रदेशका इन्चार्ज रकम चेम्जोङले लेफ्ट-डेमोक्रेटिकहरूको सरकार बन्नु पर्ने बताए । सहइन्चार्ज परशुराम बस्नेत एमालेलाई नै सहयोग गरेर जानुपर्ने बताउँछन् ।

‘पार्टीले निर्णय गरिनसकेकोले आधिकारिक धारणा त आउला नै तर दिगोपनाको लागि लेफ्ट-डेमोक्रेटिक सरकार बन्नुपर्छ । लोकतन्त्र पक्षधरहरूकै सरकार बन्नुपर्छ’, चेम्जोङले भने ।

उनले यो आफ्नो व्यक्तिगत विचार भएको तर पार्टीले गर्ने निर्णयअनुसार नै अघि बढ्ने बताए ।

एमालेप्रति नरम देखिएका बस्नेतले भने, ‘निर्वाचनका बेला एमालेसँग तालमेल र सहकार्य भएको थियो । उनले भने, निर्वाचन सकिनेवित्तिकै एमालेलाई धोका दिनु अधर्मी काम हो । यो अधर्म जसपाले गर्नु हुँदैन ।’

निर्वाचनअघि एमाले र जसपाका दुई अध्यक्षहरूले निर्वाचनपछि पनि लामो समयसम्म तालमेल गर्ने भनेर सहमति गरेकाले चुनावलगत्तै तालमेल छैन भन्दा जसपाको राजनीतिक भविष्य अन्यौल बन्ने बस्नेतको भनाइ छ ।

उनले निर्वाचनमा आएको परिणाम र सहकार्यका विषयमा दुई पार्टीका बीचमा घनिभूत छलफल गर्नुपर्ने भएपनि प्रदेश १ को सरकार गठनमा एमालेलाई सहयोग गरेर जानुपर्ने औंल्याए ।

जसपा प्रदेश १ का उपाध्यक्ष राजकुमार यादवले भने सरकार गठनका विषयमा एमाले वा कांग्रेस जोसँग पनि सहकार्य गर्न जसपा खुला रहेको बताए ।

उनले अहिले नै निर्णयमा पार्टी नपुगेकाले जसपाले यसैलाई सघाएर जान्छ भन्न सक्ने अवस्था नरहेको बताए । हामी निर्णय गर्छौं । उनले भने, हाम्रा कारणले सरकार गठनमा बाधा पर्दैन । जसपाका प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङ राईले भने पार्टीबाट राजीनामा दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर