समानुपातिक सांसद चयनप्रति जनमत पार्टीमा पनि असन्तुष्टि – Nepal Press

समानुपातिक सांसद चयनप्रति जनमत पार्टीमा पनि असन्तुष्टि

जनकपुरधाम । आफैंले घोषणा गरेको सहिद राममनोहर यादव परिवारका सदस्यलाई समानुपातिकतर्फ सांसद बनाउन प्राथमिकता नदिएको भन्दै जनमत पार्टी नेतृत्वको आलोचना सुरु भएको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी २ बाट निर्वाचित भए । उनको पार्टीले समानुपातिकतर्फ ५ जना सा‌ंसद पायो । तर त्यसमा सहिद राममनोहरका परिवारका सदस्य परेनन् । सहिद रामनोहरको नाममा भोट तानेपनि उनकै परिवारका सदस्य समानुपातिक सांसद हुनबाट बञ्चित भएपछि अहिले डा. राउतको आलोचना हुन थालेको हो ।

सहिद यादव बाँकेको जानकी गाउँपालिका ६ का थिए । ०७५ भदौं १५ मा प्रहरी हिरासतमा उनको मृत्यु भएको थियो । पछि उनका भाई विष्णु र  बुहारी राधाकुमारी डा. सीके राउतको अभियानमा लागिन् । जनमतको संगठन विस्तारमा उनको परिवारका ठूलो योगदान छ ।

विष्णु अहिले जनमत पार्टीका केन्द्रीय सदस्य र उनका श्रीमती राधाकुमारी केन्द्रीय सचिव छन् । हुन त जनमतले विष्णु र राधाकुमारी दुवैलाई समानुपातिक सूचीमा राखेका थिए । तर पार्टीको प्राथमिकतामा नपर्दा उनीहरु दुवै जना समानुपातिक सांसदबाट बञ्चित हुन पुगेको छ ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा लडेका विष्णु पराजित भएका थिए । उनले चुनाव खर्च विवरण पेश नगर्दा जरिवानामा परेकाले निर्वाचन आयोगले उनको नाम समानुपातिक सूचीबाट हटायो । जसले गर्दा उनी समानुपातिक उम्मेदवार हुनै पाएनन् ।

तर राधाकुमारीलाई पार्टीले नै हेला गरेकाे दावी  छ। उनलाई मधेशी कलस्टरको प्राथमिकता क्रम तेस्रो भएकाले समानुपातिक सांसद हुनबाट बञ्चित भइन् । प्राथकिता क्रम पहिलो भएको भए आज उनी पनि सांसद बन्ने निश्चित थियो । पार्टीको प्राथकितामा नपरेकै कारण अवसर नपाएपछि उनी निरास बनेकी छन् ।

सहिद रामनारोहका परिवारका सदस्यलाई प्राथमिकतामा नराखेको भन्दै पार्टीका धेरै नेता असन्तुष्ट देखिएका छन् । एक नेताले भने, ‘मधेशी कलस्टरको एक नम्वर राधाकुमारीको नाम राखेको भए उहाँ पनि सांसद बन्न पाउनुहुन्थ्यो । तर नाम नै तेस्रो नम्वरमा थियो । यो पार्टी नेतृत्वको कमजोरी हो । अगामी दिनमा यसो हुन नदिन पार्टीमा कुरा राख्छौं ।’

आलोचनापछि राउतको यस्तो प्रष्टोक्ति

सहिद परिवारलाई प्राथमिकता नदिएको आलोचना हुन थालेपछि जनमत पार्टीका अध्यक्ष डा. राउतले सामाजिक सञ्जालमार्फत प्रष्टोक्ति नै दिनुपरेको छ ।

सहिद रामनोहरकी पत्नीलाई जनमत पार्टीले नै सरकारी जागिर लगाइदिएको भन्दै समानुपातिक उम्मेदवार बनाउँदा थ्रेसहोल्ड नकटेको खण्डमा जागिर पनि छुट्ने र सांसद पनि बन्न नपाउने देखिएकाले जोखिम नमोलेको डा. राउतको प्रष्टोक्ती छ ।

सहिद रामनोहरका भाई विष्णु त समानुपातिक उम्मेदवारको योग्य नै भएनन् । विषणुकी श्रीमती राधाकुमारीको सन्दर्भमा डा. राउतले समानुपातिकतर्फ मत कम आएको र ५ सिट मात्र परेकाले उनी पर्न नसकेको भनेका छन् ।

तर मधेशी कलस्टरको पहिलो नम्वरमा किन नराखेको विषयमा डा. राउत केहि बोलेका छैन । यसले पनि डा. राउतको प्राथमिकतामा नै राधाकुमारी नपरेको देखिएको छ ।

राममनोहर यसरी भएका थिए सहिद

भदौ ७, २०७५ मा तत्कालीन उपप्रधानमन्त्री तथा जसपा अध्यक्ष उपेन्द्र यादव बाँके पुगेका थिए । उनलाई डा. राउतको अभियानमा सक्रिय कार्यकर्ताहरु कालोझण्डा देखाएर विरोध गर्दा प्रहरीले हस्तक्षेप गर्यो । सो क्रममा राममनोहरसहित ४ जना पक्राउ परेका थिए ।

प्रहरीले चारै जनालाई थुनामा राखेर मुद्दा चलायो । थुनामा रहेका उनीहरुलाई प्रहरीले यातना दिए । राममनोहरको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं लगियो । उपचारकै क्रममा भदौं १५ मा उनको मृत्यु भयो ।

प्रहरीले राममनोहरको हत्या गरेको भन्दै डा. राउतको अभियानमा सक्रिय कार्यकर्ताहरु तराई मधेशका जिल्लाहरुमा आन्दोलन गरे । करिब ६ महिना उनको शव समेत परिवारले बुझेनन् । यो विषय संसदमा समेत उठयो । त्यसपछि सरकारले छानविन गर्ने आश्वासन दिएपछि फागुन २० मा भाई विष्णुले शव बुझे र दाहसंस्कार गरे ।

जनमत पार्टीले राममनोहरलाई स्वतन्त्र मधेस अभियानको पहिलो सहिद घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर