माओवादी र नागरिक उन्मुक्तिले आयोगमा पेश गरेको सूची सच्याए, एमालेद्वारा कारणसहित अवज्ञा
एमालेलेसूची नसच्याएपछि आयोग आवश्यक निर्णय गर्ने तयारीमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले प्रदेश समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा पेश गरेका छन् । माओवादी केन्द्रले बागमतिमा डोल्मा थामीको नाम हटाएर भुवनकेशरी श्रेष्ठको नाम समावेश गरेको पठाएको छ भने लुम्बिनीमा भक्तिप्रसाद आचार्यको नाम हटाएर मीना बुढामगरको नाम समावेश गरेर पठाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले भने मधेसमा प्रदेशमा रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम पठाएको छ भने लुम्बिनीमा निर्मलादेवी थारुको नाम पठाएको छ । यस्तै नोरीकुमारी चौधरीको ठाउँमा नरमाया ढकालको नाम पठाएको छ ।
सुदूरपश्चिममा सुनिता चौधरीको नाम हटाएर टिका थापाको नाम पठाएको छ भने दामोदर पण्डितको नाम हटाएर इन्दिरा गिरीको नाम आयोगमा पठाएको छ ।
एमालेले समानुपातिक सांसदको नसच्याएपछि निर्वाचन आयोग आवश्यक निर्णय गर्ने तयारीमा
यसैविच नेकपा (एमाले)ले समानुपातिक सांसदको नाममा भएको त्रुटि जस्ताको त्यस्तै पेश गरेको छ । यसअघि पेस गरेको सूचीलाई नै कायम गर्न एमालेले निर्वाचन आयोगलाई पत्राचार गरेको हो । यसमा आयोगले आवश्यक निर्णय गर्ने आयोगकाे समानुपातिक निर्वाचन प्रणालीका प्रवक्तासमेत रहेका उपन्याधिवक्ता गुरुप्रसाद वाग्लेले नेपाल प्रेसलाइ जानकारी दिए ।
एमालेले प्रदेश नम्बर एकमा आदिवासी जनजाति समूहतर्फको अल्पसङ्ख्यक समूहको दोस्रो नम्बरमा समावेश भएको उम्मेदवारको नाम सिफारिस नगरी तेस्रो नम्बरमा समावेश भएका उम्मेदवारको नाम सिफारिस गरेको थियो । पहिलो नम्बरमा रहेको उम्मेदवारको नाम सिफारिस गर्न आयोगले भनेको थियो । तर एमालेले आयोगको निर्देशनलाई अवज्ञा गर्दै पूरानै नाम पठाएको हो ।
त्यसैगरी, मधेस प्रदेशमा एमालेले अल्पसङ्ख्यक समूहबाट न्यूनतम दुई जनाको नाम सिफारिस हुनुपर्नेमा दलले पेस गरे बमोजिम आयोगबाट स्वीकृत भएको अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचीकृत एक जनाको नाम मात्रै सिफारिस गरेको छ । यस्तै अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहमा सूचिकृत नभएको उम्मेदवारको नाम अल्पसङ्ख्यक समूहका रूपमा पेस गरेकाले अन्तिम बन्दसूचीमा अल्पसङ्ख्यक समूहको रूपमा सूचिकृत दुई जना उम्मेदवारको नाम सिफारिस गर्न एमालेलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो ।
मधेस प्रदेशमै एमालेले मुस्लिम समूहबाट एक जना सिफारिस गर्नुपर्नेमा पहिलो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस नगरी दोस्रो नम्बरमा रहेका उम्मेदवारको नाम सिफारिस गरेकाले पहिलो नम्बरमा रहेका महिला उम्मेदवारको नाम सिफारिस गर्न आयोगले निर्देशन दिएको थियो । बन्दसूचीमा मुस्लिम समूहको पहिलो नम्बरमा जैनब खातुनको नाम भए पनि दोस्रो नम्बरमा रहेको नाजिमा खातुनको एमालेले सिफारिस गरेको ट । नाम पेस गर्नुअघि एमालेले जैनब खातुनलाई कारबाही गरेको थियो । उनी प्रभु साह निकट रहेको भन्दै उनको सट्टा नाजिमालाई राखेको एमालेले जनाएको छ ।
शनिबार बन्दसूचीबाट सांसदका लागि पेस भएका नाम समूह र प्राथमिकताक्रम अनुसार नभएपछि आयोगले सच्याउन सोमबार अपरान्ह ४ बजेसम्मका लागि समय दिएको थियो । एमालेले भने कानुन अनुसार नै सूची पेस गरेको आयोगलाई लेखेको पत्रमा उल्लेख छ ।
यस अघि निर्वाचन आयोगले नेकपा (एमाले)लाई लेखेको पत्र