फागुन १४ मा स्ववियू निर्वाचन गर्न नेपाल विद्यार्थी संघको माग


काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले १४ फागुनभित्र स्ववियू निर्वाचन गराउन माग गरेको छ। स्ववियू चुनावका लागि आफू तयार रहेको जनाउँदै नेविसंघले आज त्रिभुवन विश्वविद्यालयका भिसी धर्मकान्त बास्कोटालाई विज्ञप्ति बुझाएर स्ववियू तयारीमा जुट्न आग्रह गरेको छ।
नेविसंघसँग भएका पटक-पटकका वार्ता कार्यान्वयन र शैक्षिक क्यालेन्डरलाई कार्यान्वयन गरी समयमै परीक्षा सञ्चालन, नतिजा प्रकाशन र परीक्षा नियन्त्रण कार्यालयका सबै कामकाज अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन पनि नेविसंको अनुरोध गरेको छ।
‘त्रिवि नेपालको सबैभन्दा ठूलो र ऐतिहासिक विश्वविद्यालय हो। यस विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा समयमै स्ववियू निर्वाचन हुनुपर्छ,’ नेविसंघका नेता मदनराज उपाध्याय भने, ‘उनले नेविसंघले लामो समयदेखि विभिन्न क्याम्पस र विद्यार्थीहरूको हक हितका लागि लड्दै आएको बताएका छन्।
समयमा निर्वाचन नहुँदा देशको लागि आवश्यक पर्ने युवा र दक्ष जनशक्तिको नेतृत्व क्षमतामा समेत ह्रास आइरहेको उनले बताए।
‘हामी सडकमा आन्दोलन गर्दैनौँ। ढुङ्गा मुडा गर्दैनौँ। हामी विश्वविद्यालय र क्याम्पसमा ताला लाउँदैनौँ। विद्यार्थीको भविष्य बिग्रने गरी शैक्षिक हडताल गर्दैनौँ। सडकमा बहस गर्छौ, हामी कक्षा कोठामा बहस र छलफल गर्छौँ,’ उनले भने, ‘विद्यार्थीलाई कसरी स्वरोजगार बनाउने त्यो विषयमा छलफल गर्छौ। एक विद्यार्थी स्वरोजगार, हजार विद्यार्थी स्वरोजगार, सम्पूर्ण विद्यार्थी स्वरोजगार अभियानसहित समृद्ध देश बनाउने अभियानमा जुट्छौँ र जुटाउँछौँ।’
देश विकासको पहिलो आधार नै शिक्षा भएकाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार आफूहरूको पहिलो प्राथमिकता भएको नेविसंघ नेता विष्णु बडैलाले बताए। नेविसंघले जनताको जनजीविका सवाल उठान गर्नुका साथै विद्यार्थीले सर्टिफिकेट धितो राखेर ऋण दिन सरकारलाई दबाब दिने बडैलाले बताए।
‘विभिन्न कालखण्डमा निरङ्कुश शासन व्यवस्थाविरुद्ध अग्रमोर्चामा रहेर लडेको नेविसंको गर्विलो इतिहास छ। हामी सधैँ निडर भएर विद्यार्थीको हकहितका लागि आवाज बुलन्द पारिनै रहने छौं। यस पटक समयमै स्ववियू निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले भने।