लुम्बिनीमा ५ वर्षको चालू र पूँजीगत खर्च हाराहारी, पछिल्ला दुई बजेटको कार्यान्वयन चुनौती – Nepal Press

लुम्बिनीमा ५ वर्षको चालू र पूँजीगत खर्च हाराहारी, पछिल्ला दुई बजेटको कार्यान्वयन चुनौती

रुपन्देही । पाँच वटा बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले अहिलेसम्म एक खर्ब ४ अर्ब ७८ करोड रूपैयाँ खर्च गरिसकेको छ ।

२०७४ फागुन ३ गते प्रदेश सरकार स्थापना भएपछि चैत महिनामा ४ महिनाका लागि सानो आकारको बजेट ल्याइएको थियो । एमाले नेता शंकर पोखरेल मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रालय पनि उनैले चलाएकाले बजेट पनि उनैले ल्याएका थिए ।

प्रदेश स्थापनाकालदेखि पोखरेल नेतृत्वको नेकपा एमालेको सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७७/०७८ सम्म साढे ३ वर्षको बजेट ल्याएको थियो । नेकपा विभाजनसँगै माओवादीले सत्ता सहकार्य छाडेपछि पोखरेल अल्पमतमा परेका थिए । २०७८ साउन २८ यताका दुई आर्थिक वर्षमा माओवादी नेता कुलप्रसाद केसी नेतृत्वको पाँचदलीय गठबन्धन सरकार छ । एमाले नेतृत्वको सरकारमा उनी मुख्यमन्त्रीको वरियतापछि आन्तरिक मामिला मन्त्रालय ३ वर्ष चलाएका थिए ।

आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका आर्थिक वर्षमा प्रदेश सरकारले १ खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये पूँजीगततर्फ ८५ अर्ब १० करोड ८२ लाख २२ हजार ६०० रुपैयाँ र चालूतर्फको बजेट ६२ अर्ब ५१ करोड ४७ लाख ३२ हजार ४ सय रुपैयाँ विनियोजन भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

पाँच आर्थिक वर्षमा औसत बजेट खर्च ७१ प्रतिशत रहेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका तथ्यांक अधिकृत लक्ष्मण पौडेलले जानकारी दिएका छन् । उनका अनुसार पाँच वर्षमा पुँजीगत खर्च ७१.५२ प्रतिशत र चालूतर्फ ७०.२५ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७४/०७५ पहिलो वजेट एक अर्ब २ करोड ५ लाख रूपैयाँको थियो । आर्थिक वर्ष २०७५/०७६ मा २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको वजेट रहेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट थियो । अहिलेको सरकारले साविकका ९ वटा मन्त्रालय बढाएर १३ वटा पुर्‍याएको र मन्त्रिपरिषद ११ जनाबाट १७ सदस्यीय बनाएपनि बजेट खर्च भने झन् घटेको छ ।

चालू आर्थिक वर्ष ०७९/८० को पहिलो चौमासिकमा विकास बजेट ७ प्रतिशत पनि खर्च गर्न सकेको छैन । पहिलो चौमासिकको कात्तिक मसान्तसम्म जम्मा ६.९८ प्रतिशत मात्रै खर्च भएको छ । चालू वर्षमा प्रदेशको पुँजीगततर्फ २४ अर्ब ६३ करोड १९ लाख ५१ हजार बजेट रहेकोमा कात्तिक मसान्तसम्म १ अर्ब ७१ करोड ८७ लाख ९७ हजार ८ सय ७८ रुपैयाँ ५८ पैसा खर्च भएको छ ।.

प्रदेशको कुल बजेट ४२ अर्ब ६३ करोड ५७ लाख बजेट रहेकोमा चौमासिकसम्ममा ३ अर्ब ७६ करोड ८० लाख ४१ हजार ९५ रुपैयाँ ५३ पैसा खर्च भएको हो । आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्काले बजेटपछि चुनावी माहोलका कारण खर्च हुन नसकेको तर अब पूर्ववतरूपमा काम हुने दाबी गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर