अधिकारकर्मी पहाडीलाई १ लाख १० हजारको पुरस्कार


रुपन्देही । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ ।
तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै पहाडीलाई उक्त पुरस्कार प्रदान गरिएको समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए ।
७४औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजद्वारा आइतबार बुटवलमा आयोजित कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पहाडीलाई १ लाख १० हजार पुरस्कार राशि र सम्मानपत्र वितरण गरेका छन् ।
कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासंघ रूपन्देही सभापति रामराज पोखरेललगायतले पहाडीको योगदानको बारेमा चर्चा गरेका थिए ।
पुरस्कृत पहाडी नेपाल राष्ट्रिय दलित संघका संस्थापक अध्यक्ष हुन् ।